शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा

शनिबार, ०६ असार २०८३, ०२ : ५९
शनिबार, ०६ असार २०८३

सारांश

  • अमेरिकाले फिफा विश्वकप २०२६ मा ९६ वर्ष पुरानो कीर्तिमान तोड्दै अस्ट्रेलियालाई २-० ले पराजित गरेको छ ।
  • यस जितसँगै अमेरिकाले सन् १९३० पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्ने ऐतिहासिक रेकर्ड बनाएको हो ।
  • अमेरिका ६ अंकका साथ विश्वकपको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ मा अमेरिकाले ९६ वर्ष पुरानो ऐतिहासिक रेकर्ड तोड्दै सानदार सफलता हात पारेको छ । शनिबार बिहान भएको समूह  ‘डी’ को खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै अमेरिकाले सन् १९३० पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्ने कीर्तिमान बनाएको हो ।

यस ऐतिहासिक जितसँगै अमेरिका ६ अंकका साथ अन्तिम ३२ मा प्रवेश गरेको छ । सिएटल स्टेडियममा भएको खेलको ११ औँ मिनेटमा अस्ट्रेलियाका डिफेन्डर क्यामरून बर्गेसले आत्मघाती गोल गरेपछि अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । यो जारी विश्वकपमा भएको सातौँ आत्मघाती गोल हो ।

पहिलो हाफ सकिन केही मिनेट अघि अमेरिकाले आफ्नो अग्रता दोब्बर बनायो । सर्जिनो डेस्टको प्रहार डिफ्लेक्ट भएर फर्किएपछि एलेक्स फ्रीम्यानले हेडमार्फत गोल गरेका थिए । सुरुमा अफसाइड भनिए पनि भिएआर रिभ्युपछि रेफ्रीले उक्त गोललाई मान्यता दिएका थिए । पहिलो खेलमा पाराग्वेलाई ४–१ ले हराउँदा दुई गोल गरेका बालोगुनले यस खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे ।

यो जितसँगै अमेरिका समूहको शीर्ष स्थानमा छ । यदि आजै हुने अर्को खेलमा टर्कीले पाराग्वेलाई पराजित गर्न नसकेमा अमेरिका समूह विजेता बन्ने निश्चित हुनेछ । समूह विजेता बनेको खण्डमा अमेरिकाले अन्तिम ३२ मा तेस्रो स्थानमा रहने टोलीको सामना गर्नेछ । पहिलो खेलमा टर्कीलाई हराएको अस्ट्रेलिया भने ३ अंकमै सीमित भएको छ र उसले अघिल्लो चरणका लागि आगामी खेल कुर्नुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप