शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बैंक

बैंकिङ प्रणालीमा ११ खर्बभन्दा बढी तरलता ‘होल्ड’

बैंक तथा वित्त कम्पनीको के छ अन्य वित्तीय स्थिति ?
आइतबार, ०९ वैशाख २०८१, १४ : ४८
आइतबार, ०९ वैशाख २०८१

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुसँग ११ खर्ब बढी लगानी योग्य पुँजी (तरलता) ‘होल्ड’ भएको देखिन्छ । २०८० चैत ३० गतेसम्म कूल ६१ खर्ब ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका बैङ्कहरूले यस अवधिमा यता ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । 

निक्षेप र कर्जा लगानीको अन्तर ११ खर्ब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । तथापि, अनिवार्य तरलता अनुपात बैंक तथा वित्त कम्पनीहरूले उठाएको निक्षेपको १२ प्रतिशतसम्म रकम विभिन्न सुरक्षण तथा फन्डहरूमा राख्नुपर्ने केन्द्रीय बैंकको नीति अनुरूप चैत मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरूले १२ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ विभिन्न सुरक्षण लगानीमा हालेका छन् । 

यसो गर्दा पनि हाल बैंक तथा वित्त कम्पनीहरूसँग ६ खर्ब रुपैयाँभन्दा माथि तत्काल लगानी गर्न सकिने तरलता कायम रहेको वित्तीय रिपोर्टले देखाउँछ । 

  • लगानीको समस्या

आर्थिक शिथिलताका कारण घटेको बजार, आर्थिक गतिविधि र उत्पादनले बैंकहरुको कर्जा माग घटाएको छ । पछिल्ला दिनहरूमा बैङ्कहरूले अपेक्षित लगानी गर्न सकिरहेका छैनन् । 

२०८० असार मसान्तसम्म ४८ खर्ब ७७ अर्ब ४० करोड बढी लगानी गरेका बैङ्कहरूले पछिल्लो ९ महिनामा यस्तो लगानी जम्मा ४.२५ प्रतिशतले मात्र वृद्धि गर्न सकेका छन् । यसको मतलब हाल बजारमा कर्जाको माग नै छैन वा लगानीको वातावरण अझै बनिसकेको छैन भन्ने नै हो । 

आर्थिक शिथिलताकै कारण उद्योग, व्यापार र आम्दानी नहुँदा बैङ्कहरूले यसअघि नै गरेको लगानी उठ्न सकिरहेको छैन । चैत मसान्तसम्म बैङ्कहरूले गरेको ५० खर्ब ८४ अर्ब ९३ करोड लगानीमा करिब १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ । यो भनेको कूल लगानीको खराब कर्जा दर (एनपीएल) ३.७३ प्रतिशत हो । 

यता बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेर २३ अर्ब ९६ करोड माथि पुगेको छ । यस्तो सम्पत्ति बिक्री लिलाम गरेर लगानी उठाउन खोज्दा समेत बैङ्कहरूले यस्तो सम्पत्ति बेच्न सकिरहेका छैनन् । जसले गर्दा पछिल्लो समय बैंकहरुको आम्दानी समेत प्रभावित हुन पुगेको छ । 

  • ९ महिनाको नाफा ४६ अर्ब ४९ करोड !

लगानी र प्रतिफलको सकसका बाबजुद बैंक तथा वित्त कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिनामा ४६ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

अघिल्लो वर्ष २०७९ चैत मसान्तमा नै ५० खर्ब ७१ अर्ब बढी नाफा कमाइसकेका बैङ्कहरूले तुलनात्मक रूपमा यो वर्ष ८ प्रतिशत बढीले नाफामा गिरावट बेहोरेका छन् ।

उसो त लगानीको सकसबिच यता आम्दानीको ठुलो रकम वित्त व्यवस्थापन (लोन लस्ट प्रोभिजन) गर्नुपर्दा पनि बैंकहरुको आम्दानी प्रभावित हुन पुगेको छ । समीक्षा अवधिमा बैङ्कहरूले २ खर्ब १८ अर्ब ३८ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा बैङ्कहरूले १ खर्ब ४३ अर्ब ९० करोड रुपैयाँ लोन लस्ट प्रोभिजन गरेका थिए । खराब कर्जाको दर बढेसँगै बैंकहरुको प्रोभिजनिङ समेत बढ्न पुगेको हो ।

  • लगानीकर्तामा नैराश्य

बैंकिङ क्षेत्रमा बढ्दो लगानी तर झन् झन् घट्दो प्रतिफलले लगानीकर्ताहरू निराश बन्न पुगेका छन् । हाल बैंकिङ क्षेत्रको लगानी ७ खर्ब १९ अर्ब ८४ करोड माथि पुगेको छ । तर यता आम्दानीको स्थितिलाई हेर्ने हो भने वार्षिक औसत ७२ अर्ब हाराहारी रहेको छ । 

जबकि तीन वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७६/७७ मा जम्मा ५ खर्ब ५८ अर्ब रुपैयाँ हाराहारी मात्र लगानी रहेको बैंक क्षेत्रले करिब ७० अर्ब रुपैयाँ (६९ अर्ब ७५ करोड) आम्दानी गर्न सफल थियो । लगानी बढ्दै जाने तर आम्दानी भने झन् झन् घट्दो स्थितिमा पुगेपछि लगानीकर्ताहरू धमाधम बैंकिङ क्षेत्रबाट बाहिरिँदैछन् । जसको कारण पछिल्लो समय लगानीकर्ताहरू धमाधम बैंकको सेयर बेचेर अन्यत्र सिफ्ट हुँदैछन् । यसले चिन्ता थपेको केन्द्रीय बैंकले नै बताइरहेको छ । 

बैंकहरुको लगानी बढ्दै जाने तर प्रतिफल घटिरहेका बेला उल्टो बाहिरबाट बैंकहरु मिटरब्याजी भए, नाफा खोर भए भन्दा तर्क सङ्गत नहुने भन्दै आफूलाई दुःख लाग्ने महाप्रसाद अधिकारीले बताए । 

बैंक तथा वित्त कम्पनीहरुको स्थिति : २०८० चैतसम्म (अङ्क १० लाखमा)

qm

स्रोत : नेपाल राष्ट्र बैंक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप