शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी शेखको नेपाल भ्रमण

कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा

मङ्गलबार, ११ वैशाख २०८१, १३ : ५७
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आएको बेला नेपालले दुई वटा हाती दिने घोषणा अन्योलमा परेको छ । नेपालको तर्फबाट लगभग सबै तयारी पूरा भए पनि कतारको तर्फबाट तयारी पूरा नहुँदा घोषणा अन्योलमा परेको हो । 

चितवन राष्ट्रिय निकुञ्जबाट साढे पाँच वर्षीया रूद्रकली र साढे चार वर्षीय खगेन्द्रप्रसाद नाम गरेका दुई हाती दिने नेपालको तयारी भए पनि कतारको तर्फबाट तयारी नपुगेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्भवतः भोलि नै सम्झौता गरेर हात्ती पठाउन गाह्रो छ । 

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले कतारको तर्फबाट हात्ती लिने बारेमा कुनै प्रतिक्रिया नआएको बताए । उनले भने, ‘हात्तीको बारेमा हामीले सम्झौताको ड्राफ्ट तयार गरेर परराष्ट्र मन्त्रालयमार्फत कतार पठाएका छौँ तर हालसम्म त्यसको कुनै रेस्पोन्स आएको छैन ।’

कतारलाई हात्ती उपहार दिन सरकारको आधिकारिक निर्णय भएको पत्र आउनुपर्ने बताउँदै उनले त्यो नआएसम्म घोषणा गरेर मात्र नहुने उनले जिकिर गरे । हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । सो महासन्धीमा नेपालले पनि हस्ताक्षर गरेको छ । कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । 

साईटीसबाट कतारले सिफारिस ल्याउनुपर्ने हो तर त्यसमा पनि कुनै पहल देखिएको छैन । प्रवक्ता ढुगांनाले भने, ‘हाम्रो तर्फबाट तयारीमा कुनै कमी छैन, हाम्रो तर्फबाट वरिष्ठ चिकित्सकको टोली कतार गएर ठाउँ पनि हेरेर आइसकेका छन्, त्यहाँ कुन ठाउँमा राख्ने कसरी राख्ने ती सबै कुराको अवलोकन गरिसकेका छौँ ।’

कतारलाई दिन ठिक्क पारिएको हात्तीलाई कतारका चिडियाखानाका प्रतिनिधिहरूले पनि आएर हेरेर गइसकेका छन् । ती हात्तीको चालचलन व्यवहार सबै कुराको जानकारी लिएर उनीहरू गएका छन् । 

कतार दिन ठिक पारेको हात्तीको स्वास्थ्य जाँचलगायत अन्य सबै प्रक्रिया पनि पुरा गरेको तर ती हात्ती कहिले कतार जान्छ भन्ने कुरामा अन्योल देखिएको बताउँदै उनले भोलिसम्म सबै प्रक्रिया पुरा होला जस्तो आफूलाई नलागेको बताए । 

कतारलाई दिन ठिक पारेको हात्ती सबैभन्दा राम्रो मध्येका हुन् । ती हात्तीहरूलाई तालिम पनि दिइसकिएको छ । ‘यसको बजार मूल्य तोकिएको छैन, तैपनि यसरी बुझ्दै जाँदा एउटा हात्तीको दुई करोड रुपैयाँ पर्दो रहेछ,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा मगरले भने, ‘वन्यजन्तु भएका कारणले यसको बजार मूल्य छैन तर यसरी बुझ्दै जाँदा लगभग एउटा हात्तीको दुई करोड रुपैयाँ पर्छ ।’

कतारलाई दिन ठिक्क पारिएको हात्तीलाई कतारका चिडियाखानाका प्रतिनिधिहरूले पनि आएर हेरेर गइसकेका छन् । ती हात्तीको चालचलन व्यवहार सबै कुराको जानकारी लिएर उनीहरू गएका छन् । 

कसरी लैजाने त्यसको बारेमा एयरलाइन्सबाट पनि छलफल गरेर गएको बताउँदै प्रमुख पुर्जा मगरले तर हालसम्म एयरलाइन्सको पनि टुङ्गो नलागेको उनले बताए । 

एयरलाइन्सको टुङ्गो लाग्नुभन्दा पहिले सम्झौताको टुङ्गो लाग्नुपर्ने हो तर हालसम्म त्यसको पनि कुनै टुङ्गो नलागेको कारण आफूहरू पनि अन्योलमा रहेको उनले बताए । हात्तीसँग नेपालको कर्मचारी पठाउनु पर्ने हुन्छ तर कसलाई पठाउने कसरी पठाउने त्यसको बारेमा पनि हालसम्म टुङ्गो लागेको छैन । 

एउटा हात्तीका लागि तीन जना कर्मचारी हुन्छ । यदि कतारसँग आफ्नै जनशक्ति छ, हाम्रो जनशक्तिको आवश्यकता पर्दैन । ‘तर उता जनशक्ति छैन भने हात्तीसँग कर्मचारी पनि पठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो कुरा सम्झौतामा नै उल्लेख भएको हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप