शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह

मङ्गलबार, ११ वैशाख २०८१, २१ : ४०
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज उनीसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आएका हुन् । 

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्त्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । 

सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप