सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सरोकार

नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ

बुधबार, १२ वैशाख २०८१, १५ : २३
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । भर्खरै संयुक्त राज्य अमेरिकामा संक्रमित जनावरको कच्चा दुधमा एच–फाइभ एन–वान (बर्ड फ्लु भाइरस) भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन विज्ञको सुझाव छ । यद्यपि नेपालमा हालसम्म जनावरको दुधबाट यो भाइरस मान्छेमा सरेको घटना छैन र कुनै पनि जनावरमा सो भाइरस फेला परेको पाइएको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहराका अनुसार, नेपालमा सन् २०१९ मा एच–फाइभ एन–वान बर्ड फ्लु भाइरस कुखुराबाट मान्छेमा सरेको थियो । त्यतिबेला मान्छेको निधन पनि भएको थियो, तर पछिल्लो समय हामीकहाँ बर्ड फ्लु देखिएको छैन ।

‘बाहिरी मुलुकमा स्तनधारी जनावरहरूमा एच–फाइभ एन–वान फेला परेको हो, तर मान्छेमा सरेको पाइएको छैन,’ डा. बोहराले भने, ‘यद्यपि यसलाई विश्वव्यापी रूपमा चुनौतीका रूपमा हेरिएको छ । यसले विश्वव्यापी महामारी फैलाउन पनि सक्छ । यो विषयमा विभिन्न अध्ययन भइरहेका छन् ।’

एच–फाइभ एन–वान बर्ड फ्लुको परिवर्तित रूप नै अहिले बाहिरी मुलुकका स्तनधारी जनावरमा फेला परेको नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीको भनाइ छ । ‘नेपालमा छ भनेर आत्तिइहाल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘नेपालमा खुकुरामा मात्रै बर्ड फ्लु भाइरस देखापरेको छ ।’

तत्काल हामीकहाँ एच–फाइभ एन–वान भाइरसको जोखिम नभए पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ, यसबाट जोगिन दुध उमालेर पिउने, मासु राम्ररी पकाएर उपभोग गर्नुपर्छ ।

बर्ड फ्लु पन्छीहरूमा देखिने एक प्रकारको रोग हो । डा. शाहीका अनुसार, पन्छीमा बर्ड फ्लु लगाउने इन्फ्लुएन्जा भाइरस (एच फाइभ एन वन, एच फाइभ एन एट)ले मानव स्वास्थ्यमा पनि असर पु¥याउँछ । ‘यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन, तर संक्रमित पन्छीबाट सर्छ,’ उनले भने ।

 सतर्कता अपनाउन आग्रह

बाहिरी मुलुकमा जनावरमा देखिएको एच–फाइभ एन–वानको जोखिम तत्काल नेपालमा नरहे पनि सतर्कता अपनाउन विज्ञको सुझाव छ ।

दुई वर्षअघि कुखुराबाट बर्ड फ्लु मान्छेमा सरेकाले सतर्कता अपनाउन डा. बोहराले सुझाव दिए । ‘नेपालमा सो भाइरसको जोखिम नभए पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ,’ उनले भने, ‘एच–फाइभ एन–वान भाइरसबाट जोगिन दुध उमालेर पिउने, मासु राम्ररी पकाएर उपभोग गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप