बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
‘सिप सिके पनि विदेश नै जाने हो’ (तस्बिरहरु)
सिप मेला

‘सिप सिके पनि विदेश नै जाने हो’ (तस्बिरहरु)

बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि टुंडिखेलमा सुरु गरेको सिप मेला २०८१ मा आएका युवाहरू मध्येका एक हुन् बनस्थली बस्ने सुसाङ्क । १२ कक्षासम्मको अध्ययन सकेका उनले हेयर कटिङ् र स्टाइलिङ्गको लागि आवेदन दिएका थिए । उनले आफ्नो अबको यात्रा भनेको विदेश नै रहेको बताए ।  

‘अब म विदेश जाने तयारी गरिरहेको छु । बाहिर गएर पनि काम गर्नको लागि मैले तालिम लिनको लागि आवेदन दिएको हुँ । यसले सिप विकासमा सहयोग गर्छ नै र रोजगारीको अवसर पनि सृजना गर्छ । मैले यो सिप विदेशमा पनि प्रयोग गर्न सक्छु,’ सुसाङ्कले रातोपाटीसँग भने ।

यस्तै सुसाङ्क जस्तै विदेश जान कुरिरहेका अर्का दुई युवा हुन् नितेश र सुरज । 

सिप मेलामा अनलाइन आवेदन दिएका उनीहरू आफ्नो छनोटको सूचना पर्खिरहेका छन् । स्नातक तह अध्ययन सकेका उनीहरुले विदेश जाने तयारी पनि गरिरहेका छन् ।

‘अहिले हामी स्नातक तह सकेर बसेका छौँ । यहाँ केही काम नपाएका कारण हामी विदेश जाने सोच र तयारीमा छौँ । यहाँ सिप सिकेर हामी विदेश जाने नै हो । सोसल मिडियामा हेर्दा हामीले हेयर स्टाइलिङ् नै बढी माग भएको क्षेत्र पायौं र त्यसैले आवेदन दियौं,’ सुरजले रातोपाटीलाई भने । 

काठमाडौँ महानगरपालिकाले एक महिनाको लागि सुरु गरेको सिप मेलामा २०८१ जनालाई तालिम दिने तयारी गरेको छ । यो चरणमा टुंडिखेलमा सञ्चालन हुने तालिमका लागि संरचना तयार भइसकेको छ । तर ब्रेन ड्रेनको बारेमा भने नगरपालिकाले अहिल्यै नै केही ठोस निर्णय र योजना तयारी गरिसकेको छैन ।

सिप मेलामा ५० वर्ष सम्मका मानिसहरूलाई छनोटको आधारमा तालिम दिइने र स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्य रहेको भनिए पनि सिप पलायनको कुरामा भने नगरपालिकाको ठोस योजना छैन । श्रम बैंक मार्फत तालिम लिने इच्छुकहरुलाई यही व्यवसायमा टिकाइराख्ने योजना बनाएको भनिए पनि यसको सफलता भने शंकामै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया