सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘म्यारिज प्रपोजल’ पुनः मञ्चन गर्दै कुञ्ज थियटर

बिहीबार, २७ वैशाख २०८१, १६ : ०३
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । थापागाउँस्थित कुञ्ज थियटरमा नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा आगामी जेठ १० गतेदेखि नाटक मञ्चन हुने भएको हो ।

२७ जेठसम्म मञ्चन हुने नाटकको निर्देशन संगीत सापकोटा र आशिष घिमिरेले गरेका छन् । कलासी प्रोडक्सनको प्रस्तुति तथा कर्मन कलासँगको सहकार्यमा मञ्चन हुन लागेको नाटकले विसंगतिवादी विषयवस्तुलाई समेट्दै मनोरञ्जनात्मकता झल्काउनेछ ।

सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै वर्तमान परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको निर्देशक घिमिरेले बताए ।

नाटकमा विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालको अभिनय छ । नाटकलाई सन् २०१८ मा तीन जना पात्र मार्फत मञ्चन गरिएको थियो । नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भूमिका चित्रणमा समेत ओत पुर्‍याउने विश्वास लिइएको छ ।

सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलाहावादमा भएको कुम्भ फेस्टिबलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने पुनः बंगलादेशको राजशाहीमा बोङंबोन्धु थिएटर फेस्टिभलमा प्रस्तुत गरिएको थियो । करिब ४० मिनेटमा समावेश रहेको नाटको विषयवस्तुलाई परिस्कृत गर्दै एक घण्टा १० मिनेट नाटक समयावधि तय गरिएको छ ।

उक्त नाटकलाई सन् २०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो । नाटक मञ्चनबाट प्राप्त रकम धादिङको गजुरीमा अवस्थित श्री चेपाङ निम्नमाध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग स्वरूप प्रदान गरिएको थियो ।

कलाशी प्रोडक्सनले हालसम्म ‘२४ मा १२’, ‘अधेरी नगरी चौपट राजा’, ‘ज्ञानको चिहान’ र ‘समय पीडा’ नाटक मञ्चन गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप