आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
संसद्

होहल्ला र नाराबाजीकैबिच नीति तथा कार्यक्रम पारित गर्ने तयारी

शुक्रबार, ११ जेठ २०८१, ११ : ०७
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । विपक्षी दलको विरोधकाबिच  शुक्रवार बस्ने संसद् बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने तयारी भएको छ । नीति तथा कार्यक्रममाथि शुक्रवारको संसद् बैठकमा छलफल गर्ने र त्यसपछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । 

शुक्रवारको संसद् बैठक बस्नुअघि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन दलहरू छलफलमा जुटेका छन् । कानुन मन्त्रालयमा जारी बैठकमा दलहरूले आ–आफ्ना अडान नछाडेको स्रोतको भनाइ छ । 

नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

सहकारीको रकम हिनामिना र अपचलनबारे छानबिनका लागि संसदीय समिति गठन गर्न सत्ता र प्रतिपक्ष तयार भएको समितिको टीओआर (कार्यादेश) लाई लिएर विवाद छ । यही विवाद र विपक्षीको सदन अवरोधकाबिच सरकारले नीति तथा कार्यक्रममाथि छलफल गर्न लागेको हो । 

सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै वैशाख २८ गतेयता लगातार सङ्घीय संसद् अवरुद्ध गर्दै आएको छ ।

यता संसदीय छानबिन समितिको क्षेत्राधिकारमा सहमति नजुटे संसद् बैठक अवरोधलाई निरन्तरता दिने जनाउँदै आएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधले सदनमा पेस हुन सकेको थिएन । अवरोधकैबिच जेठ  ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै सभामा पेस गरेका थिए । 

तर,उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटेर जान नसकिने अडान सत्तापक्ष र नाम तोक्नुपर्ने प्रतिपक्षको अडान कायमै रहेका सहमतिको सम्भावना न्यून रहेको दलका नेताहरू नै बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप