सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
साताको कविता

श्यामलका तीन कविता

शनिबार, १२ जेठ २०८१, १५ : १६
शनिबार, १२ जेठ २०८१

१) दसनीको लेहङ्गा
तातो हावाको झोँकाले
फरफराउँछ
पराजित मुलुकको झन्डाजस्तो 
दसनीको लेहङ्गा ।

धेरै चोट सहिसक्यो
धेरै रगत बगाइसक्यो 
धेरै बलात्कार खपिसक्यो 
जमिनदारको बाँझो खेतमा
धेरै कुलो लगाइसक्यो 
घामपानीको मारले 
जति मधुरो देखिए पनि 
अझै रङ्गीन छ
हजारौं फूल फुल्ने उद्यानजस्तो
दसनीको लेहङ्गा ।

दाउरा लिन गएको
जङ्गलबाट फर्केन
कसैलाई थाहा छ कि
कहाँ फरफराइरहेछ बुट्टेदार
दसनीको लेहङ्गा ।

२) हतारमा यात्रा

धेरै कुराहरू छुट्छन् प्रस्थानबिन्दुमै हतारमा यात्रा गर्दा 
अँध्यारोमा देख्ने उज्यालो टर्च र दाह्री फाल्ने पत्ती 
दाँत माझ्ने मन्जन र बुरूस, सामान राख्ने झोला 
महत्त्वपूर्ण सम्पर्क बिन्दुहरू
पढ्न थालेको तर अधुरै रहेको नयाँ किताब
जे पनि छुट्न सक्छन् हतारमा यात्रा गर्दा
नभई नहुने सारा कुरा यतै छाडेर गएछन् साथीहरूले ।

हतारमा यात्रा गर्दा छुट्छ पत्नीलाई म्वाइँ खान
निधारमा शुभमूहुर्तको रातो टीका लगाएर बाआमाको आशीष लिन 
चाँडै फर्कने वाचा गर्दै छोराछोरीलाई हात हल्लाएर बिदा हुन 
जँघारमा टेक्ने लौरो, आफ्नो परिचयपत्र र जगेडा कपडा 
एक्लै पर्दा खल्तीबाट निकालेर हेर्ने फोटो र भर्खरै लिपिएको 
दैलाको मधुरो गन्ध
पानी खाने भाँडो, चिसो छल्ने पछ्यौरा, पुग्नुपर्ने ठाउँको नाम 
सबैसबै बिर्सेर गएछन् साथीहरूले ।

हतारमा हिँडेपछि साथमा हुने त दुःखहरू नै हुन्
यात्राको रोमाञ्च हिँड्नुअघि नै छाडेर गएपछि
यात्रा कहीँ गएर पनि विश्राम गर्न लायक हुँदैन
हिउँ, हिमनदी, भीरपाखा, छहरा, नृत्यरत मानिसहरूको हूल 
यात्रामा केही पनि हेर्न लायक हुँदैन

पर्ख भन्दाभन्दै हतारमा हिँड्दा
गन्तव्य कहाँ भन्ने कुरै बिर्सेछन् साथीहरूले
यात्राको कला नै मूल घरको खोपामा भूलेर गएछन् साथीहरूले
हतारमा, हतारहतारमा
आफ्ना खुट्टा दैलोभित्रै छाडेर गएछन् मेरा साथीहरूले ।

हराए हराएजस्ता,
खुट्टा नभएका, हात नभएका, आँखामा दृष्टि नभएका 
बाटैमा अलपत्र परेका अद्र्धजीवहरू
अहो तिनीहरू त्यति पर पुगे कसरी !
जब कि तिनीहरूले घरै छाडेर गएका छन् यावत् सरसामल 
तीती समय हुनेछन् अति कष्टमय समय
जब खोज्दा कतै पनि साथमा देखिन्नन् वस्तुहरू
विचार, दृष्टि, विवेक र स्मृति सारा कुरा छाडेर गएपछि 
फर्केर आउने हो कसरी ?
हतारमा यात्रा गर्दा यात्रामा निस्कनै भुलेछन् साथीहरूले ।

३) लुतो
बस्, एउटै कुरामा छ आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र लेख्ने औँलाहरूले
फगत आङ कन्याइरहनुमा
विद्रोहमा उचालिने हातहरूले
आफ्नै शरीरका कापहरूमा
चलाइरहनुमा ।

लुतो लागेपछि
हराउँछ सोच र दृष्टि
आफ्नै अगाडि भएको व्यभिचार 
व्यभिचार हुँदैन
आफैँमाथिको अत्याचार
अत्याचार हुँदैन
मानिस व्यस्त हुन्छ बिर्सेर यावत् कुरा
विचार, स्मृति, बहस
र वरिपरिको दुनियाँको कुरा 
बस्, एउटै हुन्छ आनन्दको स्रोत
आफ्नै जीउ कन्याइरहनुमा ।

लुतो लागेपछि केवल लुतो लाग्छ 
आमा–बाबु र छरछिमेकको माया लाग्दैन
जब लाग्छ लुतो कसैलाई
बाँदरलाई घाउ लागेजस्तो
ऊ बिर्सन्छ बाल्यकालका स्मृतिहरू 
आफ्नो छानामाथि लाग्ने घामको ताप 
वा आफ्नी आमाको चौबन्दीमा 
मगमगाउने दूधको सुगन्ध 
सबै बिर्सन्छ लुतोग्रस्त मानिस 
र एउटै कुरामा व्यस्त हुन्छ
आङ कन्याइरहनुमा ।

लुतो एक विचार रहेछ
मानिसलाई विचारशून्य बनाउने 
आद्यबिम्बसहितको उत्तर–आधुनिक विचार
रोग र औषधी दुवै बेच्ने 
नाफाखोर बजारजस्तो लुतो
जहाँ रहँदैन मानिस मानिसझैँ
बस्, कन्याइरहन्छ आफ्नो आङ 
तृप्त, आनन्दविभोर र बिलकुल एक्लो
मजा लिइरहन्छ
आफ्नो आङ कन्याइरहनुमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्यामल
श्यामल
लेखकबाट थप