शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
शव फेला

आफू सुत्ने कोठामै नवविवाहिताको शव फेला, पति र सासु फरार

बुधबार, २१ जेठ २०८२, २० : ५६
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • रौतहटको कटहरिया नगरपालिकामा एक नवविवाहिता महिला आफ्नै घरमा मृत फेला परेकी छिन्। घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ।
  • मृतक महिला आफ्नै बेडमा उत्तानो अवस्थामा फेला परेकी थिइन् र उनले उल्टी गरेको पाइएको छ। श्रीमान् र सासु फरार छन्, ससुरालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।
  • शव पोष्टमार्टमका लागि गौर अस्पताल लगिएको छ। पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि घटनाको यकिन हुनेछ। फरार रहेका अनकेश र उनकी आमाको खोजी भइरहेको छ।

रौतहट । कटहरिया नगरपालिका–१, भासेढवा गाउँमा एक जना नवविवाहिता महिलाको शव आफ्नै घरमा फेला परेको छ । उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुका अनकेश यादवकी २२ वर्षीय श्रीमती अल्का यादव आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।

अल्का यादवलाई उत्तानो अवस्थामा बेडमै मृत अवस्थामा फेला पारिएको, मृतकले उल्टी गरेको पाइएको डीएसपी राजन कार्कीले जानकारी दिए ।

मृतकका श्रीमान् अनकेश यादव र सासु शान्तिदेवी फरार रहेको उनको भनाइ छ । मृतकका ससुरा रामपुकार प्रसाद यादवलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले बताए ।

मृतकको शव  पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धान पूरा भएपछि घटनाबारे यकिनका साथ भन्नसक्ने डीएसपी कार्कीले बताए । फरार रहेका अनकेश र उनकी आमा शान्तिदेवीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

दुई साता अघिमात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया–३, बडेरवाका अरमान राय भाटविरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी दर्ता भएको थियो । आरोपित अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप