डोल्फु गाउँमा हतियारधारी समूहले मच्चाएको लुटपाटको विषय संसद्मा प्रवेश
सुर्खेत । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका–१, डोल्फु गाउँमा हतियारधारी समूह प्रवेश गरेर लुटपाट मच्चाएको विषयले संसद्मा प्रवेश पाएको छ । मुगुबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद जीतबहादुर मल्लले उक्त घटनाबारे जानकारी गराएका हुन् ।
सोमबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा बोल्दै भने, ‘५० घरधुरी रहेको गाउँको २३ घरधुरीमा भएको गरगहना, चाँदीका सामाग्रीहरू लुटिएको छ । चार जनालाई कुटपिट गरेर घाइते गरिएको छ भने गुम्बाको पुजारीलाई मरणासन्न गरी कुटिएको छ ।’
मल्लले यार्सा टिप्न गएका बेला यसरी गरिएको लुटपाटको घटनाबारे गम्भीर ध्यानाकर्षण गराउनुका साथै चाँडो अपराधीहरूलाई नियन्त्रणमा ल्याउन आग्रह गरे । यो घटना शनिवारको हो ।
गाउँका सबैजसो मान्छेहरू यार्सा टिप्न पाटनतिर गएको बेलामा त्यसैको मौका छोपेर लुटेरा समूह गाउँमा पसेको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी, प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले घटना भएको सूचना आएको तर त्यहाँ पुगेको प्रहरीसँग फोन सम्पर्क गर्न कठिन भएको बताए ।
‘उक्त स्थान सदरमुकामदेखि निकै टाढा पर्छ, निकै टाढा र विकट भएकाले फोन सम्पर्क गर्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘त्यहाँ भएको प्रहरी घटनास्थल पुगेको भए पनि नेटवर्क समस्याले केही बुझ्न सकिएको छैन ।’ जिल्लाबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ । स्थानीय जनप्रतिनिधिहरूका अनुसार उक्त गाउँका सबैजसो मान्छेहरू पाटनतिर उक्लिएपछि गाउँ कुर्नका लागि केही कुकुर र बुढापाकाहरू मात्रै थिए ।
मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले उक्त गाउँमा पुग्न पालिकाको कार्यालयदेखि एकदिन बढी लाग्ने हुँदा घटनाको वास्तविकता अझै बुझ्न नसकिएको रातोपाटीलाई बताए । आइतबार उक्त वडाका वडाध्यक्ष आएर घटनाको बारे जानकारी गराएका थिए ।
उनका अनुसार हतियारधारी समूहले गाउँमा भएका बुढापाका (वृद्ध वृद्धा) लाई गोठमा थुनेर यातना दिएका थिए भने गाउँ कुर्न राखिएका कुकुरहरूलाई घाइते पारिएको छ । घरहरू फोडेर भएका गरगहनादेखि चाँदी, जडीबुटी, लत्ता कपडा सबै सामानहरू उक्त समूहले लुटेर लिएको पालिकाका अध्यक्ष लामाले बताए ।
हतियारधारी समूह बन्दुक, तरबार, चक्कुसहित गाउँ पसेको थियो । गाउँमा प्रवेश गर्ने बित्तिकै उक्त समूहले बन्दुक पट्काएको थियो । घटनास्थल मुगु जिल्ला सदरमुकाम गमगढीबाट १२ घण्टा र पालिका केन्द्र पुलुबाट ६ घण्टा टाढा पैदल दुरीमा पर्दछ । जुम्लाको पातारासीबाट बरु छिटो त्यहाँ पुगिन्छ । फोन सम्पर्कको अभावमा घटनाबारे वास्तविकता बुझ्न कठिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण