सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

विराटनगरमा ‘युवा विचार उत्सव’ हुने

सोमबार, १४ जेठ २०८१, १९ : १२
सोमबार, १४ जेठ २०८१

विराटनगर । युवाहरूमा वैचारिक चेतनाको विकास गर्ने उद्देश्यले विराटनगरमा ‘युवा विचार उत्सव’ आयोजना गरिने भएको छ । राष्ट्रिय गणतन्त्र दिवसको उपलक्ष्यमा जेठ १५ गते विराटनगरस्थित एलिट क्लबमा दिउँसो साढे ११ बजेदेखि सो कार्यक्रम आयोजना हुन लागेको हो । 

विराट युवा विचारक मञ्चका संयोजक प्रमिल अधिकारीले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएका हुन् । उनले विचार उत्सवले मुलुकका विभिन्न सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरूमा युवाहरूको आलोचनात्मक सोचाई विकास गर्ने बताए ।

‘विराटनगर राजनैतिक तथा वैचारिक क्षेत्रको उद्गम भूमिको रूपमा चिनिन्छ ।  युवाहरूमा मुद्दाहरू पहिचान, सैद्धान्तिक पक्ष र व्यवहार रूपान्तरणसम्मको आलोचनात्मक चेतनाको विकास गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ,’ अधिकारीले भने ।

कार्यक्रममा राष्ट्रियस्तरका राजनीतिक दलहरूका नेताहरू तथा युवा उद्यमी एवम् बुद्धिजीवीहरूको सहभागिता रहनेछ । कार्यक्रममा ‘नेपालको राजनीतिमा युवा नेतृत्व, सम्भावना र चुनौती’ र ‘नेपाली मैलिकतामा नविनता ः उद्यमशीलता र संस्कृति’ विषयमा बहस पनि हुनेछ । करिब २ सय युवाहरूको सहभागिता हुने आयोजकको दाबी छ । कार्यक्रमको समापन पश्चात् विराट युवा विचारक मञ्चले नियमित रूपमा युवा केन्द्रित वैचारिक बहस एवम् पैरवी कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप