वैकल्पिक बताउनेहरूको बयान : ‘विकृति र अस्थिरता बढ्यो’
काठमाडौँ । आफूलाई वैकल्पिक शक्ति भन्न रुचाउने राजनीतिक दलका नेताले सङ्घीय लोकतान्त्रिक व्यवस्थामा राजनीतिक अस्थिरतासँगै विकृति बढेको बयान बकेका छन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक अस्थिरताकै कारण प्रदेश सरकारहरू हप्तैपिच्छे फेरबदल हुने गरेको समेत बताए ।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कर्मचारी तन्त्रले प्रधानमन्त्रीको समेत निर्देशन समेत मान्न छाडेको भन्दै १० वर्ष जनक्रान्ति गरेर राजनीतिक र सामाजिक परिवर्तन ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत कर्मचारीले नटेर्ने गरेको बताए ।
‘दश वर्षमा माओवादीले ठुलो जनक्रान्ति गर्यो । राजनीतिक र सामाजिक धेरै परिवर्तन भए । क्रान्तिको नेतृत्व गरेका प्रचण्ड अहिले प्रधानमन्त्री छन्’, राउतले भने, ‘मेरै अगाडि प्रधानमन्त्रीले १० पटक कर्मचारीलाई फोन गर्दा पनि टेर्दैनन्, अवस्था त्यस्तो छ राज्य संयन्त्रको । त्यसका लागि सडकबाट नै आन्दोलन गर्नुपर्छ ।’

कर्मचारीले नटेर्नेमात्रै होइन उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै विकृतिसमेत बढेको भन्दै विकृति हटाउन अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक तथा प्रत्यक्ष निर्वाचित संसद् हुनुपर्नेमा जोड दिए ।
‘सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना भयो तर विकृति पनि छ । राजनीतिक अस्थिरता बढ्यो । प्रदेश सरकार समेत हप्तैपिच्छे ढल्ने हो कि भन्ने चिन्ता छ’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा ढुक्कले पाँच वर्ष शासन चलाउन पाइन्छ ।’
गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सङ्घीय संरचना संविधानले परिकल्पना गरेअनुसार सञ्चालन नभएको भन्दै ‘बेढङ्ग’को भनेर भनेर टिप्पणी गरे ।
‘त्यो बेढंगको छ, ढंगको बनाउनुपर्छ । त्यो (प्रदेश संरचना ) दोस्रो, तेस्रो लेयरका राजनीतिक नेताहरूलाई पार्किङ गर्ने पार्किङ लट भएको छ’, सङ्घीय संरचनाप्रति असन्तुष्टि पोख्दै लामिछानेले भने, ‘तेस्रो लेयरको नेतालाई कहीँ पठाउनुपर्यो भने तपाईँ प्रदेशमा जानुस् भनेको छ, आज कोही मुख्यमन्त्री छ भन्यो भने भोलि अर्को भइसक्छ, मन्त्री को त हिसाब नै छैन ।’
नेपालको प्रदेश संरचनाले सङ्घीयताको मर्मलाई नै बदनाम गरेको भन्दै उपप्रधानमन्त्री समेत रहेका लामिछानेले त्यसलाई पुनर्निर्माण (रेट्रोफिट) गर्नुपर्ने सुझाव दिए ।
‘प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ त्यही हो ?’, प्रश्न गर्दै उनले भने, ‘के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको सङ्घीयताको मर्मलाई बोकेको छ कि बदनाम गराउने काम गरेको छ ?’

सङ्घीय संरचनाप्रतिमात्र नभएर लामिछानेले पुराना दलका नेताहरूको कार्यशैलीप्रति आलोचना गर्दै लामो राजनीतिक आन्दोलन गरेका नेताहरूले नै प्रतिबद्धता भुलेका कारण आफूहरू राजनीतिमा आएको दाबी गरे ।
‘हिजो लड्न घरबाट निस्कँदा कुन प्रतिबद्धता थियो, के गर्छु भनेर निस्किएको घरबाट ? त्यो प्रतिबद्धता भुलेपछि कुन व्यवस्था ल्याउनुहुन्छ, जुन ल्याए पनि केही हुन्न । त्यो प्रतिबद्धता सम्झिएर अगाडि बढ्यो भने धेरै गर्न सकिन्छ’, लामिछानेले नयाँ त्यसमा पनि आफ्नो पार्टीले मात्रै परिवर्तनको अनुभूति दिलाउन सक्ने आशय व्यक्त गरे ।
कमलादीमा भएको बुधबारको कार्यक्रमका आयोजक समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाउँदै अन्य पार्टीका नेताहरूप्रति आक्रोश पोखे ।
भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रबुद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर सुरु गर्दा आफूलाई भारतीय दलाल भन्ने गरेकोमा भट्टराईले असन्तुष्टि व्यक्त गरे ।
‘भारतसँगको सन्धि, सम्झौताहरू जुन हुन । प्रबुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौँ भन्ने त बाबुरामले नै सुरु गरेको हो । र अहिले त्यो हरायो । उल्टो बाबुराम त भारतीय दलाल भयो भन्छन्’, भट्टराईले भने, ‘जसले प्रबुद्ध समूह बनाएर भारतसँग वार्ता गरेर यो समस्या हल गरांै र खुला सिमाना असमान सन्धि, सम्झौता अंगे्रजका पालादेखि भए । त्यसलाई समयानुकूल बनाऔँ भन्ने चाहिँ दलाल ।’
माओवादी त्यागेर नयाँ शक्ति, जसपा हुँदै नेसपा पार्टी नेतृत्वमा रहेका भट्टराईले जो आफ्नो कुर्सीको निम्ति यहाँ १२ हात उफ्रिन्छ, र उही दिल्लीमा गएर लम्पसार पर्छ, ती चाहिँ राष्ट्रवादी हुने एकाले यो देश बन्न नसकेको बताए ।
‘हो यिनै आधारभूत कुरालाई सच्याउने गरी नयाँ वैकल्पिक शक्तिहरू आउनुपर्छ । कांग्रेस, एमालेका साथीहरूलाई म धन्यवाद दिन चाहन्छु । म पनि त्यसैको उपज हो । म पनि बिपी कोइरालाको समर्थक थिए । राजालाई मान्नेतिर गएपछि मैले छोडेको हो । पछि कम्युनिस्ट पार्टीमा लागेकै हो’, भट्टराईले विगत स्मरण गर्दै भने, ‘तर त्यो स्टालिनवादी ढाँचा मलाई सुरु देखिनै मन नपरेको हो । मैले त्यसको मोहनविक्रमजीको पालादेखि विरोध गरेको छु । तर त्यहाँ किन लागे भने कमसेकम राजतन्त्र अन्त्य गर्ने, सामन्तवाद अन्त्य गर्ने कुरा गर्दथ्यो । त्यसैले म लागे । जब त्यो कुरा भयो, त्यसपछि मैले छोड दिए । कुरा सिधा यही हो नि ।’

अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढ्नुपर्ने प्रस्ताव समेत दोहोर्याए ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले अहिलेको शासन पद्धतिबाट आजित भएको गुनासो गरे । टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने चौधरीको भनाइ थियो ।
‘सबैभन्दा पहिला टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ । हाम्रो के अपराध थियो । जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ? घाइतेलाई उठाएर उपभार गर्नेले आठ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजीनिती गर्नुस् । घटना कसले गरायो हामीलाई नसोध्नुस्’, चौधरीको भनाइ छ । उनले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएर गरेको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनेकोमा आक्रोश समेत पोखे । ‘महाधिवेशन नै नगर्ने पार्टीहरू वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरू आएर गरेको महाधिवेशन अवैध ?’, चौधरीको प्रश्न छ ।

माओवादी केन्द्र र नेकपा हुँदै आम जनता पार्टीको अध्यक्ष बनेका प्रभु साहले देशको अहिलेको आवश्यकता वैकल्पिक शक्ति र बदलावको भएको जिकिर गरे ।
डा. बाबुराम भट्टराईलाई विगतका गल्तीबाट पाठ सिकेर त्यसलाई सच्चाउन तत्पर हुन सुझाव समेत उनले दिए ।
साहले संघीयताबारे भट्टराईले भने व्यवस्था राम्रो भएको तर शासकका कारण देश र जनताको अवस्था खराब बनेको भन्ने दुईअर्थी कुरा नगरेर स्पष्ट रूपमा बोल्न सक्नुपर्ने बताए । ‘तपाईंले राष्ट्रियता जनतन्त्र, जनजीविकाको कुरा उठाउनुभयो । आज राष्ट्रियताको स्थिति के छ, जनतन्त्र र जनजीविकाको स्थिति के छ ? तपाईंले निर्धक्क भएर भन्न सक्नुपर्छ । चपाएर कुरा गरेर जनतालाई ढाँटेको जस्तो भइरहेको छ’, साहको भट्टराईलाई सुझाव छ ।
उनले जनआन्दोलन र जनयुद्धप्रति गद्दारी थियो भनेर भट्टराईले भन्न सक्नुपर्ने भन्दै संविधान बनाउनेहरूले त्यसो भनेर माफी माग्न सकेमात्र देश बनाउन सकिने बताए । ‘त्यसपछिमात्र वैकल्पिक शक्तिको कुरा गर्यो भने त्यो सही हुन्छ । दुनियाँले ताली ठोक्छ । पुरानोको पनि स्वामित्व लिन नसक्ने नयाँ कुरा पनि गर्न नसक्ने यो दहीचिउरे जस्तो भयो डा.साव’, साहको भनाइ छ ।

साहले हिजोको माओवादी र डा. भट्टराई आज आफैँमा उदाहरण भएको भन्दै रवि लामिछाने र सिके राउत समेत उदाहरण भएको बताए । ‘सानो र ठुलोको कुरा होइन सही बाटो हिँड्नुहोस्, ठुलो हुन कसैले रोक्न सक्दैन । पनि म यो मञ्चबाट भन्छु देशको अहिलेको आवश्यकता वैकल्पिक शक्तिको हो, बद्लाबको हो । अग्रगामी शक्तिहरूलाई एकीकृत हुन जरुरी छ’, साहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?
-
बागमती प्रदेश सभाको सकसपूर्ण अङ्कगणितः एमाले–नेकपा गठबन्धनका लागि ‘हानेपा’लाई प्रस्ताव
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण