मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा

मङ्गलबार, ०५ साउन २०८३, ११ : १६
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • यमनस्थित हुथी विद्रोहीहरूले साउदी अरबमाथि समुद्री नाकाबन्दी घोषणा गरेका छन् ।
  • यस घोषणाले विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप जोखिम सिर्जना गरेको छ ।
  • हुथीहरूको घोषणापछि साउदी नेतृत्वको सैन्य गठबन्धनले बल प्रयोग गरेर जवाफ दिने चेतावनी दिएको छ ।

सना । यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार साउदी अरबमाथि समुद्री  नाकाबन्दी घोषणा गरेका छन् ।

 यसले अमेरिका–इरान युद्धमा नयाँ मोर्चा खुल्ने सम्भावना बढाउनुका साथै विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप जोखिम सिर्जना गरेको समाचारमा उल्लेख छ । हुथीहरूको घोषणापछि यमनमा रहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले बल प्रयोग गरेर जवाफ दिने चेतावनी दिएको छ । 

साथै साउदीको तेल निर्यातका लागि महत्वपूर्ण मार्ग बाब अल–मन्देब जलडमरूमध्य हुँदै आवतजावत गर्ने आफ्ना जहाजहरूको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

इरान युद्धका कारण स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द भएपछि बाब अल–मन्देब साउदी तेल निर्यातको प्रमुख वैकल्पिक मार्ग बनेको छ । यो घोषणा अमेरिका र इरानबीच तनाव कम गर्न कूटनीतिक प्रयास भइरहेको संकेत देखिइरहेका बेला आएको हो । इरानको विदेश मन्त्रालयले मध्यस्थकर्ताहरूले केही नयाँ प्रस्तावहरू पेश गरेको जनाएको छ, तर त्यसबारे विस्तृत जानकारी दिएको छैन ।

हुथीहरूको यस घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य केही समय बढे पनि पछि फेरि घटेको छ । व्यापारीहरूले अझै पनि कूटनीतिक समाधानको सम्भावना रहेको विश्वास गरेका छन् । तर व्यापारी जहाजमाथिको जोखिम बढेको मानिएकोले लाल सागर हुँदै हुने ढुवानीका लागि जहाज बीमाको लागत भने बढेको छ ।

यदि स्ट्रेट अफ बाब अल–मन्देब पूर्ण रूपमा बन्द भयो भने विश्वको तेल आपूर्ति करिब ७ प्रतिशतले घट्न सक्ने विश्लेषण गरिएको छ । यसले खाडी क्षेत्रमा जारी युद्धका कारण पहिले नै घटेको तेल आपूर्तिलाई थप प्रभावित पार्नेछ । हुथीहरूको सशस्त्र बलले जारी गरेको वक्तव्यमा साउदी अरेबियाविरुद्ध तत्काल लागू हुने गरी समुद्री नाकाबन्दी घोषणा गरिएको उल्लेख छ ।

उनीहरूले यमनमाथि साउदी अरबले लगाएको अन्यायपूर्ण र दमनकारी नाकाबन्दीको जवाफस्वरूप ‘आँखाको बदलामा आँखा’को नीति अपनाइएको बताएका छन् । इरानका एक वरिष्ठ अधिकारीका अनुसार मध्यस्थकर्ताहरूले १० दिनको युद्धविरामको प्रस्ताव तेहरानलाई दिएका छन् । यसको उद्देश्य गत महिना भएको अन्तरिम सम्झौतालाई जोगाउँदै स्थायी शान्ति सम्झौतातर्फ अघि बढ्नु हो ।

यसैबीच इरानका गृहमन्त्री इस्कन्दर मोमेनी थप वार्ताका लागि पाकिस्तान पुगेका छन् । पाकिस्तानी स्रोतहरूका अनुसार उनले युद्ध अन्त्यका लागि पाकिस्तानलाई पुनः मध्यस्थताको भूमिका खेल्न आग्रह गरेका छन् । अमेरिकी सेनाले सोमबार इरानका विभिन्न सहरमा फेरि हवाई आक्रमण सुरु गरेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका आक्रमणको बचाउ गर्दै इरानले कुनै पनि अमेरिकी सैनिकको हत्या गरे त्यसको धेरै गुणा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले यो निर्देशन अमेरिकी रक्षा नेतृत्वलाई दिइसकेको पनि बताएका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्सले स्ट्रेट अफ होर्मुज हुँदै असुरक्षित मार्गबाट यात्रा गर्ने प्रयास गरेका दुईवटा तेल ट्यांकर विस्फोट भएको दाबी गरेको छ । यद्यपि यस घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन । त्यसैगरी ओमानको तट नजिक एउटा जहाज अज्ञात प्रक्षेप्यको प्रहारमा परेको बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्रले जनाएको छ ।

इरानका तब्रिज, चाबहार, कोनारक, बन्दर माहशहर र बन्दर इमाम खोमेनी लगायतका सहरमा पनि विस्फोट भएको खबर आएको छ । तब्रिजको दक्षिणपश्चिम क्षेत्रमा एक जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको इरानी सरकारी समाचार संस्थाले जनाएको छ । इरानी रिभोलुसनरी गाड्र्सले जोर्डन, कुवेत र सिरियास्थित अमेरिकी सैन्य लक्ष्यहरूमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप