मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?

मङ्गलबार, ०५ साउन २०८३, ११ : १२
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • प्रोटोनको नयाँ विद्युतीय एसयूभी ई.मास ५ नेपाली बजारमा सार्वजनिक भएको छ ।
  • ईमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः ३२.९९ लाख र ३६.९९ लाख रुपैयाँ तोकिएको छ ।
  • प्राइम भेरियन्टले २२५ किलोमिटर र प्रिमियम भेरियन्टले ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

काठमाडौं ।  नेपाली बजारमा प्रोटोन ईमास ५ सार्वजनिक भएको छ । नेपालका लागि  प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमवार प्रोटोन ईमास ५ सार्वजनिक गरेको हो । 
ईमास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा सार्वजनिक गरेको हो । दुवैको बाह्य डिजाइन, इन्टेरियर लेआउट र आधारभूत फिचर उस्तै भए पनि ब्याट्री क्षमता, रेन्ज र पर्फर्मेन्समा भने स्पष्ट भिन्नता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । 

तर पहिलो १०० ग्राहकका लागि विशेष अफर स्वरूप २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने जनाएको छ । त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकले यसलाई ३४ लाख ९९ हजार रुपैयाँमै तोकेको छ । 

प्राइम भेरियन्ट पहिलोपटक ईभी किन्न चाहनेका लागि सुलभ र व्यावहारिक विकल्पको रूपमा ल्याइएको हो । यसमा ३०.१२ किलोवाट(घण्टाको ब्याट्री जडान गरिएको छ, जसले डब्लुएलटीपी मापदण्ड अनुसार सिंगल चार्जमा २२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको भनाइ छ । 

यसमा ५८ किलोवाट क्षमताको मोटर छ भने चार्जिङका लागि ६.६ किलोवाट एसी र ५३ किलोवाट डीसी सपोर्ट गर्छ । यो गाडीले शून्यबाट ५० किलोमिटर प्रतिघण्टाको गति मात्र ४।४ सेकेन्डमा लिन सक्छ। 

लामो दूरीका यात्राका लागि उपयुक्त मानिने प्रिमियम भेरियन्टमा भने ४०.१६ किलोवाट(घण्टाको ब्याट्री राखिएको छ । जसले सिंगल चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ । यसमा ८५ किलोवाटको बलियो मोटर जडान गरिएको छ, जसका कारण यो गाडीले शून्यबाट ५० किमी प्रतिघण्टाको गति ३.९ सेकेन्डमै लिन सक्छ ।

चार्जिङका हिसाबले प्रिमियम भेरियन्टले ७१ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसका कारण ३० देखि ८० प्रतिशतसम्मको ब्याट्री जम्मा २०–२१ मिनेटमै चार्ज गर्न सकिन्छ ।

आकारका हिसाबले दुवै भेरियन्टको लम्बाइ ४ हजार १३५ मिलिमिटर, चौडाइ १,८०५ मिलिमिटर र उचाइ १,५८० मिलिमिटर रहेको छ । जबकि ह्विलबेस २,६५० मिलिमिटर छ ।
फिचरका हिसाबले दुवै भेरियन्टमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा प्रणाली समावेश रहेको कम्पनीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप