बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बेथिति

सिङ्गो कर्णाली सरकार नै अग्रसर हुँदा पनि २ किलोमिटर सडक बन्न सकेन

बिहीबार, ३१ जेठ २०८१, १५ : ११
बिहीबार, ३१ जेठ २०८१

सुर्खेत । कर्णालीको राजधानीको केन्द्रविन्दुमा रहेको मंगलगढी–काँक्रेबिहार जोड्ने २.५ किलोमिटर सडक बनाउन सिङ्गो प्रदेश सरकार नै अग्रसर हुँदा पनि सकेको छैन । यो सडक पूरा गराउन ०७८ यता बनेका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरू अनुगमन गर्न नपुगेको सायदै होलान् ।

अमर–सिस्ने–नेपाल–मेघा जेभी नेपालगन्जले मंगलगढी–शिव मन्दिरसम्मको सडक कालोपत्रे गर्न ०७८ मङ्सिरमा ठेक्का लिएको थियो । ०८० असारमा काम सम्पन्न गरिसक्ने गरी १२ करोड ७६ लाख १५ हजार ४०४ रुपैयाँमा ठेक्का लिएको उक्त कम्पनीले न काममा अग्रसरता देखायो, न सरकारको निर्देशन नै टे¥यो । सडक नबन्दा काँक्रेबिहार आउने पर्यटकहरू, स्थानीयलाई निकै सास्ती भइरहेको छ ।

काम सुरु गरेको केही समयमै ठेकेदारले सडक अलपत्र पा¥यो । सडकमा गाडी गुढ्यो कि आसपासका बस्ती धुलोले छपक्कै हुन थाले । धुलो–धुवाँले आक्रान्त नागरिको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको भन्दै सरकारको आलोचना भयो । त्यसपछि तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाही आफैँ अनुगमनमा निस्के । अनुगमनस्थलबाटै उनले ठेकेदारलाई फोन गरेर तत्काल काम सक्न निर्देशन दिए । यद्यपि उनको निर्देशन ठेकेदारले टेर्दै टेरेन ।

तत्कालीन मुख्यमन्त्री शाहीसँगै त्यसपछि बनेको हरेक भौतिक तथा सहरी विकास मन्त्रीहरू त्यहाँ पुगेर काम सक्न निर्देशन दिन्छन् तर पनि काम अहिलेसम्म सम्पन्न हुन सकेन । विगत तीन वर्षदेखि नागरिकहरूले उक्त सडकमा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको सास्ती खेपिरहेका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलले पद बहालीपछि यो सडकको अनुगमन गरे । बिहीबार भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा त्यहाँ पुगे । यसअघिका भौतिक मन्त्री मंगलबहादुर शाही त पटक–पटक त्यहाँ पुगेर जसरी पनि काम सक्नुपर्नेमा जोड दिइरहेका देखिन्थे । यद्यपि अहिलेसम्म सडक कालोपत्रे हुन सकेन ।

सम्झौता अनुसार गत असारमै निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । आधा काम पनि नभएपछि ०८० फागुनसम्म म्याद थप गरियो । माघ महिनासम्म पनि काम नगरेपछि ठेकेदारलाई कारबाही समेत गरियो । काम नगरेर अलपत्र पार्ने र कसैको पनि फोन नउठाउने गरेपछि ठेकेदारको धरौटी जफत गरिएको थियो । त्यसपछि सोही कम्पनीको लिड पार्टी अमर कन्स्ट्रक्सनलाई काम गर्न लगाइएको उक्त सडक हेर्ने पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर प्रेमचन्द्र पाण्डेले बताए ।

2 (1)

०८१ असार १५ सम्म म्याद थप गरेर काम गर्न लगाइए पनि अहिलेसम्म जम्मा ५० प्रतिशतमात्रै काम भएको पाण्डेको भनाइ छ । उनका अनुसार एकतर्फको १८ सय मिटर कालोपत्रे भएको छ । अहिलेको अवस्थालाई हेर्दा असार १५ सम्म कुनै पनि हालतमा काम सम्पन्न हुने अवस्था नरहेको उनी बताउँछन् ।

बिहीबार अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले तोकिएको समयमै काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । यद्यपि उक्त समयमा कुनै हालतमा पनि काम सम्पन्न हुने स्थिति छैन । अहिले उक्त सडकका लागि बजेटको समेत अभाव देखिएको छ । रकमान्तर गरी बजेट उपलब्ध गराउने तयारी भइरहेको बताइएको छ । उक्त सडक हेर्ने इन्जिनियर पाण्डे भन्छन्, ‘यदि समयमै काम गरिएको भए यसअघि विनियोजन भएको रकमले काम सकिन्थ्यो ।’

उक्त सडक वीरेन्द्रनगर नगरपालिका–९ भित्र पर्दछ । दैनिक हजारौँको सङ्ख्यामा सवारी साधन आवत–जावत हुने उक्त सडक निर्माणमा ढिलाइ भएपछि पटक–पटक आन्दोलन समेत भएको छ । सडक भएको क्षेत्र आसपास निकै बाक्लो बस्ती छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप