बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

देउवा उदासीन, कांग्रेस गतिहीन, कार्यकर्ता जिम्मेवारीविहीन

बिहीबार, ३१ जेठ २०८१, १८ : ४५
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उदासीन बन्दा पार्टीका निकाय गतिहीन अवस्थामा छन् । आफ्नो दोस्रो कार्यकालको आधा समय बितिसक्दा समेत सभापति देउवालाई पार्टीका निकायलाई पूर्णता दिने हतारो छैन ।

महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था विधानमा भए पनि सभापति देउवा उदासीन देखिएपछि ३ हजार ५ सयभन्दा बढी नेता–कार्यकर्ता जिम्मेवारी पाउनबाट वञ्चित छन् ।

०७८ मङ्सिर अन्तिम साता कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति दोहोरिएका देउवाको विधान उल्लङ्घन गर्ने अभ्यास पनि दोहोरिएको छ ।  पार्टीका विभाग, नीति अनुसन्धान प्रतिष्ठान लगायतका निकायलाई क्रियाशील बनाउन अहिलेसम्म देउवाको कदम चलेको छैन ।

पार्टीका ७० वटा विभागमध्ये अहिलेसम्म १८ विभाग मात्र गठन भएका छन् । पार्टीको प्रचार विभाग मात्र सक्रिय देखिन्छ । बाँकी १७ विभागमा केहीमा १० सदस्य मनोनीत गरिएको छ भने केही विभाग प्रमुखकै भरमा छन् ।

विभाग ५२ सदस्यीय रहेन व्यवस्था भएपनि सभापति देउवाले प्रचार विभाग बाहेकमा १० जनाभन्दा बढी मनोनीत गरेका छैनन् । १६८ सदस्यीय केन्द्रीय समितिमा २ र ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा ८ जना सदस्य मनोनीत बाँकी छन् । 

१४ सदस्यीय पदाधिकारीमा देउवाले कोषाध्यक्ष मनोनयनमा चासो दिएका छैनन् । सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट आएपछि सभापतिले मनोनीत गर्ने कोषाध्यक्ष पद २५ महिनादेखि रिक्त छ । 

महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवाले अब चाँडै कोषाध्यक्ष मनोनीत गर्ने बताए । ‘सभापतिले आर्थिक कुराको संयोजन गर्न जिम्मा लाउनुहुन्छ । कोषाध्यक्ष पदमा व्यक्ति को हुने भन्ने एउटा पाटो भयो ,’ उनले रातोपाटीलाई भने, ‘जिम्मेवारी र कामको हिसाबले ऐन, मौकामा कोही न कोही केन्द्रीय सदस्यलाई लगाउनु भएको छ । सभापतिसँग कुरा भए अनुसार कोषाध्यक्ष चाडै मनोनयन हुने बुझेको छु ।’

अहिले पार्टीको लेखा समिति संयोजक श्याम घिमिरेले कोषाध्यक्षको काम गरिरहेका छन् । पार्टीको लेखा परीक्षण प्रतिवेदन महासमितिमा पनि घिमिरेले नै पेस गरेका थिए । कोषाध्यक्ष नहुँदा पार्टीको रकम भुक्तानीका लागि महामन्त्री गगन थापा र पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा काम भइरहेको छ । सभापति देउवाले आफू निकटलाई कोषाध्यक्ष बनाउने भएकाले महामन्त्रीहरूलाई खासै चासो छैन ।

यस्तै कांग्रेसमा संसदीय दलको उपनेता र कार्यसमिति ११ महिनादेखि चयन हुन सकेको छैन । २०७९ पुस ६ मा संसदीय दलको नेतामा निर्वाचित देउवाले उपनेता र कार्यसमिति चयनको विषयलाई प्राथमिकता दिन नसकेका हुन् ।

देउवाले संसदीय दलको प्रमुख सचेतक र सचेतक मनोनीत गरे पनि उपनेता चयनमा उदासीनता देखाएका छन् । गत फागुन ३–४ मा बसेको केन्द्रीय समिति बैठकले सहमहामन्त्री आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको संसदीय निर्वाचन समिति निर्माण गरेको थियो ।

फागुन तेस्रो साता संसदीय दलको कार्यसम्पादन समिति सदस्यको निर्वाचन गर्ने समितिको तयारी थियो । तर, अहिलेसम्म आङ्दम्बे नेतृत्वको समिति गुमनाम छ ।

यता महासमिति बैठकबाट पारित प्रतिवेदन पनि करिब चार महिनादेखि अलपत्र छन् । २०७८ मङ्सिरमा सम्पन्न १४ औँ महाधिवेशनमा कांग्रेसले गत फागुन ७ –१० मा महासमिति बैठकमा पार्टीको समग्र नीतिमाथि छलफल गरेको थियो । महामिति बैठकबाट पारित पार्टीको समग्र नीति, सांगठनिक, समसामयिक राजनीति, आर्थिक र लेखापरीक्षण सम्बन्धी प्रतिवेदन केन्द्रीय समितिबाट अनुमोदन हुन सकेको छैन ।

यता कांग्रेसका १३ वटा भ्रातृ संस्थाको अवस्था पनि हरिबिजोग छ । जसमा सात वटा तदर्थ समितिको भरमा चलिरहेका छन् भने पाँच वटाको नेतृत्व नै छैन । लामो समयसम्म अधिवेशन नभएपछि ०७८ फागुनमा १० वटा भ्रातृ संस्था विघटन गरी तदर्थ समिति बनाउने निर्णय कांग्रेसले गरेको थियो ।

सभापति देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघमा तदर्थ समिति ल्याएका छन् ।

नेपाल मुस्लिम संघले भने गत असोजमा अधिवेशनबाटै नयाँ कार्यसमिति चयन गरेको थियो । नेविसंघ, तरुण दल, महिला संघ लगायत भ्रातृ संस्थामा महाधिवेशनका लागि ल्याएका तदर्थ समितिहरू आन्तरिक झमेलाले थलिएका छन् ।

नेविसंघ र तरुण दलको जम्बो केन्द्रीय समिति सम्हालेले संगठनलाई महाधिवेशन उन्मुख गराउन नेतृत्वलाई हम्मेहम्मे परेको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आगामी असार दोस्रो साता महाधिवेशन गर्ने तयारी थालेपनि अन्य भ्रातृ संस्थाका तदर्थ समिति आन्तरिक विवादमा रुमल्लिएका छन् ।

पार्टीले आगामी असार १५ सम्म महाधिवेशन गर्ने म्यान्डेट दिए पनि आदिवासी जनजाति महासंघ बाहेकका भ्रातृ संस्थामा कुनै चालचुल छैन । कांग्रेसले पार्टीका वडादेखि जिल्ला तहसम्म रिक्त रहेका १२ सय ४ पदमा नयाँ मान्छे ल्याउन चासो दिएको छैन ।

महामन्त्री थापाले गत मङ्सिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिलाई तल्लो तहको रिक्त पदको विवरण पठाउन निर्देशन दिएका थिए । प्रदेशले पठाएको विवरणमा जिल्ला सभापति, उपसभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पालिका र वडाका पदाधिकारी सङ्ख्या बढी छ । सात वटा प्रदेशमध्ये सबैभन्दा बढी बागमती र कर्णालीमा कम पद रिक्त रहेको देखिन्छ । कांग्रेसका वडादेखि जिल्ला तहसम्म बागमती प्रदेशमा २६८ र कर्णालीमा ५६ पद रिक्त छन् ।

जिल्लाले पठाएको विवरणमा केहीले पार्टी छाडेको, केही विदेश लागेको, केहीको मृत्यु भएको केही कारबाहीमा परेको  छन् । मातहतका समितिले रिक्त पदको विवरण पाएको महिनौँ हुँदा पनि पदपूर्तिको कुनै तयारी छैन ।

महामन्त्री शर्माले पार्टीका आन्तरिक विषयबारे छलफल सुरु भएको बताए । ‘विभाग गठन, महासमितिबाट पारित प्रतिवेदन, भ्रातृ संगठन, जनसम्पर्क समिति, आगामी केन्द्रीय समिति बैठक लगायत विभिन्न विषयमा हामीले छलफल गरेका छौँ,’ उनले भने, ‘बिहीबार दुई जना महामन्त्री बसेर पार्टी अफिसमा छलफल गर्‍यौँ । अब पार्टीका कामले गति लिन्छ ।’

कांग्रेसको सभापति देउवाको प्रचण्ड बहुमतसँग इतर पक्ष रमिते मात्र बनेको टिप्पणी हुने गरेको छ । इतर पक्षका नेता शेखर कोइरालाले बितेका दुई वर्षमा सभापति देउवालाई पार्टी विधि विधानअनुसार सञ्चालन गराउन कुनै दबाब सिर्जना गर्न सकेको देखिएको छैन ।

नेता कोइराला र महामन्त्री गगन थापाबिचको अन्तर्संघर्षले देउवालाई हाइसन्चो भएको नेताहरू बताउँछन् । १४ औँ महाधिवेशनबाट ऊर्जावान् युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेसजनमा पार्टी रूपान्तरणको आशा जागेको थियो । महामन्त्रीमा थापा र शर्माको दुई वर्ष पनि उत्साहजनक छैन ।

शेखर कोइराला र प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री बनेका क्रमशः थापा र शर्माले देउवामाथि दबाब बढाउन नसकेको भन्दै कार्यकर्ता पंक्ति निराश हुँदै गएको देखिन्छ । पार्टीलाई विधि विधानमा हिँडाउने सवालमा देउवाको अकर्मण्यतासामु महामन्त्रीद्वय निरीह देखिन्छन् ।

पार्टीको दोस्रो पोजिसनमा रहेका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ निस्प्रभावी देखिन्छन् । पार्टीका सहमहामन्त्री दुई वर्षदेखि जिम्मेवारी विहीन छन् ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले सभापति, उपसभापति र महामन्त्रीको अक्षमताले पार्टी गतिहीन बनेको बताउँछन् । ‘पार्टीको यो अवस्था हुनुमा बिग फाइभ पदाधिकारी जिम्मेवार हुनुहुन्छ । उहाँहरूको अक्षमताले पार्टीले न कार्यक्रम दिन नसकेको छ न कुनै योजना छ,’ उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप