बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

८४ मा एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछौँ : पूर्णबहादुर खड्का

बिहीबार, ३१ जेठ २०८१, १८ : ०८
बिहीबार, ३१ जेठ २०८१

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन् । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको बताए । 

`पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबिच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशनअनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ,´ बिहीबार नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, `जनप्रतिनिधि पार्टीपङ्ति र जनताप्रति उत्तरदायी हुन जरुरी छ ।´

उनले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई लेखिने गरेर जिम्मेवारी तहमा रहेकाहरू सुध्रिन जरुरी रहेको बताए । `जस्तोसुकै प्रतिकूलताको बिचमा पनि जमिनमा बसेर कांग्रेसलाई बचाएर राखेका पार्टीका सदस्यहरू जुनसुकै तहको नेतृत्वमा रहेकाहरू सुध्रिएको देख्न चाहन्छन्,´ उनले भने, `नेतृत्वमा आएको रूपान्तरण देखिने गरि सुधारको अभियान कांग्रेसले खोजेको छ ।´

उपसभापति खड्काले मुलुकमा अहिले अप्ठ्यारो परिस्थिति सृजना हुन थालेको बताउँदै त्यो परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको बताए । उनले देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसकाे नेतृत्व आवश्यक रहेको बताए ।

उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्ताबेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावहरूलाई दस्ताबेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए । `उपसभापति, महामन्त्रीलगायतले महासमिति बैठकमा प्रस्तुत गरेका दस्ताबेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ,´ उपसभापति खड्काले भने, `त्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ ।´

उपसभापति खड्काले कांग्रेस मिसन-२०८४ तर्फ केन्द्रित नरहेको बताए । उनले कांग्रेस अहिले मिसन २०८१ मै रहेको बताए । `देशको समृद्धि र विकास कांग्रेसकाे मूल मिसन हो, त्यहीँ भएर २०८१, २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पुर्‍याउने भन्नेमा हामी छौँ,´ उनले भने, `यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ ।´

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप