बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ पास

बिहीबार, ०६ असार २०८१, १६ : २८
बिहीबार, ०६ असार २०८१

विराटनगर । कोशी प्रदेश सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले योजना पास गरेको हो । 

योजना पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपद्का कार्यहरू गर्न सहज हुने छ । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरूलाई विपद्का बेला सबै मिलेर काम गर्नु पर्ने बताए । उनले प्रदेश सरकारले आफूले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरूसँग समन्वय गरेर काम गर्ने बताए । 

प्रदेश विपद् व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानुनी व्यवस्था छ । 

बैठकमा विपद्का बेला आइपर्ने घटनाहरूलाई मध्यनजर गर्दै गर्नुपर्ने कार्ययोजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले बताए । 

बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशमा विपदमा परेकाहरूलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी दिइएको थियो । प्रदेश सरकारले ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ । सबैभन्दा बढी उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुंगामा १ जनालाई ३० हजार वितरण गरेको छ । 

त्यस्तै विपदबाट प्रभावित भएका परिवारका निजी आवास पुनर्निर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको छ । 

प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको छ । त्यस्तै मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड खर्च गरिसकेको छ । 

विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा निकायहरूसँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप