बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कैलाश गाउँपालिकाको बजेट ३ करोड ६७ लाख रुपैयाँ घट्यो

सोमबार, १० असार २०८१, १५ : १०
सोमबार, १० असार २०८१

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार सम्पन्न कैलाशको १४ औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँ अनुमानित आय र व्ययको विवरण पेस गरेका हुन् ।

कैलाशले चालू वर्षको तुलनामा गाउँपालिकाको ३ करोड बढी रकम घटाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेटमा ३ करोड ६३ लाख ८७ हजार रुपैयाँ घटाएर विनियोजन गरेको छ । कैलाशले चालु वर्षका लागि ५२ करोड ४२ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरी कार्यान्वयन गरिरहेको छ ।

गाउँपालिकाले आगामी वर्ष कृषि विकासतर्फ ९० लाख ५१ हजार रुपैयाँ, उद्योग विकास तर्फ ३१ लाख रुपैयाँ, पर्यटनतर्फ ५४ लाख रुपैयाँ, सिँचाइतर्फ ५७ लाख ३५ हजार रुपैयाँ, पशुपन्छी विकासतर्फ २२ लाख ७२ हजार रुपैयाँ र आर्थिक विकासतर्फ ३ करोड २७ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी मनहरी खोला पक्की पुल देखि नामटार कालिकाटार सडकको स्ल्याब ढलान तथा कालोपत्रेका लागि बहुवर्षीय योजना अन्तर्गत संघको ६५ लाख रुपैयाँ र पालिकाको ७० लाख गरी १ करोड ३५ लाख रुपैयाँ, यातायात पूर्वाधार विकासतर्फ ९ करोड ४४ लाख ५० हजार रुपैयाँ, युवा तथा खेलकुदतर्फ ४० लाख ५० हजार रुपैयाँ, भाषा तथा संस्कृति प्रवर्द्धनमा १४ लाख ५० हजार रुपैयाँ, शिक्षातर्फ १५ करोड ३२ लाख ८१ हजार रुपैयाँ र चेली प्रोत्साहन कार्यक्रमका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष ठकुरीले बताए ।

कैलाश गाउँपालिकामा बाल विवाह न्यूनीकरण प्रमुख चुनौतीको रूपमा देखिएको छ । चालु आर्थिक वर्षमा बालमैत्री गाउँपालिका घोषणाको तयारी गरिए पनि बाल विवाहको तथ्याङ्कका कारण प्रक्रियाले पूर्णता पाउन सकेको थिएन ।

सोही कारण आगामी आर्थिक वर्षमा गाउँपालिकाले नीति कार्यक्रम र बजेटलाई बाल विवाह न्यूनीकरणको नीति लिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा बाल विवाह न्युनीकरणसँगै बालिकाहरूलाई उच्च शिक्षामा प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले गाउँमा व्याप्त बाल विवाहलाई न्यूनीकरण गर्न विगतका वर्षहरूदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले आगामी वर्ष मौजुदा कानुनलाई संशोधन गरी परिष्कृत र परिमार्जन गरिने बताए ।

अध्यक्ष मोक्तानले गाउँपालिकाको सीमान्तकृत एवं लक्षित वर्गको परिवारमा बाल विवाहलाई निरुत्साहित गर्न र महिलाहरूको उच्च तहको शिक्षा प्राप्त गर्ने सङ्ख्यात्मक परिमाणमा बढोत्तरी गर्न तर्फ ध्यान केन्द्रित गरिने बताए । कक्षा १२ उत्तीर्ण गरी कानुनले तोकेको उमेर पुगेर विवाह गर्ने चेलीलाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्ने नीतिलाई गाउँपालिकाले आगामी वर्ष पनि निरन्तरता दिएको छ ।

विद्यालयका बालबालिका तथा किशोर किशोरीहरूको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न, आफ्नो अधिकार र कर्तव्य सम्बन्धी विषय, गाउँपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार लगायतका समसामयिक विषयमा बहस तथा अन्तरक्रिया गर्न अध्यक्षसँग किशोर अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने नीति पनि गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका किशोरी विद्यार्थीहरूलाई यौनजन्य हिंसा तथा बाल दुर्व्यवहारबाट बच्न र त्यस्ता क्रियाकलापहरूको प्रतिकार्य गर्न सक्षम बनाउन किशोरी सुरक्षा तथा आत्मरक्षा सीपहरू सम्बन्धी तालिम प्रदान गर्ने नीति पनि गाउँपालिकाले लिएको अध्यक्ष मुक्तानले बताए ।

भौगोलिक रूपले विकट गाउँपालिकामा अशिक्षा र गरिबीका कारण हुने कुपोषण न्युनीकरणमा पनि ध्यान दिएको छ । गर्भवती र सुत्केरी पोषण प्रवर्धन तथा रक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । लक्षित वर्ग र विपन्न नागरिकको आर्थिक स्तर सुधार गर्न आय आर्जनका कार्यक्रम, महिला उद्यमीको विकास गर्न ग्रामीण स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने योजना पनि गाउँसभामा अध्यक्ष मुक्तानले सुनाए ।  सुत्केरी गराउन स्वास्थ्य संस्था आउजाउ गर्न निःशुल्क एम्बुलेन्स सेवा, लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बिमाको कामलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ ।

फलफूल, दूध र मासुमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित नगद नगद अनुदान कार्यक्रम पनि गाउँपालिकाले ल्याएको छ । एक घर एक धारा, एक घर एक शौचालय जस्ता जीवनस्तर सुधारका काममा पनि गाउँपालिकाले ध्यान दिएको छ । प्रदेश सरकारसँग समन्वयमा गाउँपालिकाका ठुला आयोजनामध्येको चुनिया नामटार भाल्टार भार्ता सडक स्तरोन्नति गर्ने योजना पनि गाउँपालिकाको छ । संघीय सरकारद्धारा सञ्चालित गैरिगाउँ, गोगने पकने डाँडाखर्क सडक सम्पन्न गर्न पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । एक भन्दा बढी वडाहरु जोड्ने र ठुला प्रकृतिका सडक आयोजनाहरू निर्माणमा बजेट विनियोजन गरिने पनि जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप