बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मुलुकको स्वार्थ र समुन्नत अर्थतन्त्रलाई नै शिरोधार्य गरेर मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

सोमबार, १० असार २०८१, २२ : ४१
सोमबार, १० असार २०८१

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले मुलुकको स्वार्थ र समुन्नत अर्थतन्त्रलाई नै शिरोधार्य गरेर आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने बचन प्रतिबद्धता जनाएका छन् । सोमबार राजधानीमा नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

‘मुलुकको स्वार्थ, समुन्नत अर्थतन्त्रलाई नै शिरोधार्य गरेर मौद्रिक नीति आउँछ, ढुक्क हुनुहोस्’ गभर्नर अधिकारीले भने, ‘बजेटको कार्यदिशा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न आवश्यक नीति लिने र निजी क्षेत्र र उत्पादनलाई जोड दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउँछ ।’

खासगरी कोभिड–१९ पछि खस्किएको विश्व अर्थतन्त्रमा नेपाल समेत प्रभावित बनेको र मुद्रास्फीति ८.५ प्रतिशतसम्म पुग्दा यसले अर्थबजार प्रभावित भएको थियो । तरलताको अभावमा बैंक ब्याजदर १४–१५ प्रतिशतसम्म पुगेको थियो । तर, पछिल्लो समय वित्तीय क्षेत्रमा तरलता सहज बन्दै गएको अवस्थामा लगातार ब्याजदर घट्दै गएको र लगानीको वातावरण समेत बन्दै गएको अवस्थामा केन्द्रीय बैंकले लिने मौद्रिक नीति समेत खुकुलो हुँदै गएको गभर्नर अधिकारीले बताए । 

‘पछिल्लो वर्ष आर्थिक स्थिति सुधार हुँदै गएसँगै केन्द्रीय बैंकले लिने मौद्रिक नीति समेत क्रमशः खुकुलो पार्दै लगिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा तपाईँहरू निजी क्षेत्रले यसको राम्रो अनुभव पनि गर्नुभएकै होला । थप, आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो र लचक हुन्छ भन्नेमा ढुक्क हुनुहोस्’, गभर्नर अधिकारीले भने, ‘उत्पादन र रोजगारी वृद्धिकै क्षेत्रमा काम गर्नेगरी राष्ट्र बैंकले सहज मौद्रिक नीति लिन्छ ।’

चालु आर्थिक वर्षमा ४.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएकोमा आगामी आर्थिक वर्षको ६ प्रतिशतको वृद्धि सफल पार्न राष्ट्र बैंक लाग्ने उनले बताए । 

सोही अवसरमा गभर्नर अधिकारीले यसपटकदेखि मौद्रिक नीतिका लागि केन्द्रीय बैंकले नयाँ प्रणालीको विकास गरेको बताउँदै विज्ञ सुझाव समिति बनाइएको र सोही समितिको सिफारिसका आधारमा अघिल्ला मौद्रिक नीतिहरूको अनुभव र कार्यान्वयनलाई समेत हेरेर आगामी आर्थिक वर्षको मौद्रिक नीति लिने उनले बताए । 

आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलो वा दोस्रो हप्ता ल्याउने तयारी केन्द्रीय बैंकको रहेको गभर्नर अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप