बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी प्लस टु कन्क्लेभ : एसईईपछि के ?

स्कुल कसरी छनोट गर्ने, रुचि कसरी पत्ता लगाउने ?

‘एसईईपछि कुनै विषय पढ्न क्षमता पुग्छ कि पुग्दैन भनी ‘एप्टिट्युड टेस्ट’ हुनुपर्ने तर हुँदैन’
मङ्गलबार, ११ असार २०८१, १२ : १६
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । शनिबार (असार ८ गते) रातोपाटीले आयोजना गरेको ‘प्लस–टु कन्क्लेभ’मा ‘माध्यमिक शिक्षा परीक्षापछि के पढ्ने ?’ भन्ने विषयमा छलफल गरिएको थियो । 

शिक्षा पत्रकार रविचन्द्र पराजुलीले सहजीकरण गरेको छलफलमा शिक्षाविज्ञ प्रा.डा. गणेशबहादुर सिंह, डा. कल्पना ज्ञवाली, विश्वनिकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेल र आईटी विज्ञ इन्द्र जीसीले धारणा राखेका थिए । 

प्रस्तुत छ, छलफलको सम्पादित अंश :

शिक्षाविज्ञ प्रा.डा. गणेशबहादुर सिंहसँगको सवाल–जवाफ 

  • कक्षा १० को नतिजा केही दिनमा आउँदै छ । कक्षा ११ मा कुन विषय पढ्ने, कक्षा ११ मा कुन विषय पढ्दा स्नातक तहमा कुन विषय पढ्न पाइन्छ भन्ने विषयमा विद्यार्थी अनभिज्ञ देखिन्छन् । डाक्टर, पाइलट, इन्जिनियरभन्दा बाहेकको विषयबारे उनीहरू जानकार नै हुँदैनन् । यसबारे हामीले पढाएकै र बुझाएकै छैनौँ । त्यसैले भविष्यमा कुन कुन विषय अँगाल्ने भन्नेमा उनीहरूमा अन्योल देखिन्छ । यस्तो किन छ ? 

भविष्यमा कुन विषय छान्ने भन्नेमा विशेषतः दुईवटा कुरा आउँछन्— रुचि र क्षमता ।

कुनै विषय पढ्छु मात्रै भनेर हुँदैन, आफ्नो क्षमता पनि हेर्नुपर्छ, क्षमता रिजल्ट वा मार्कसिटमा देखिन्छ ।

सर्वप्रथम रुचि हुनुपर्‍यो । कुन बाटोमा जाने भनेर आफ्नो रुचिमा भर पर्छ । कतिपय अवस्थामा रुचिले काम गर्दैन । त्यसमा क्षमता पनि हेर्नुपर्छ । आफ्नो रुचि डाक्टर बन्ने होला, क्षमता भएन भने हुँदैन । बाहिरतिर कुन विषयमा पढ्न रुचि राख्छ, त्यसको टेस्ट लिने गरिन्छ । त्यो विषयमा जानका लागि क्षमता पुग्छ कि पुग्दैन भनी ‘एप्टिट्युड टेस्ट’ (बौद्धिक सीप परीक्षण) पनि हुन्छ । जुन हामीकहाँ कुरा हुँदैन । 

prof. dr. ganesh bd singh 1

हामीकहाँ खासगरी बाउआमाले पढ भनेको विषय पढ्ने वा साथीभाइले जुन विषय पढ्यो, त्यही पढ्ने गरिन्छ । जुन विषय विद्यार्थीको क्षमता र रुचि दुवैसँग नमिलेको हुन सक्छ । जस्तै : मेरो एउटा छिमेकीकी छोरीको एसएलसी पास गर्दा साइन्समा कम नम्बर आएको रहेछ । छोरीले भनिछन्– मेरा साथीहरू सबै साइन्स पढ्न गएका छन् मैले पनि साइन्स पढ्छु । तर उनले एक वर्षपछि फ्याकल्टी परिवर्तन गर्नुपर्‍यो । छोरीको क्षमता बाउआमालाई थाहा थियो, तर उहाँहरू छोरीको चाहनाका विरुद्ध जान सक्नुभएन । 

त्यसैले कुनै विषय पढ्छु मात्रै भनेर हुँदैन, आफ्नो क्षमता पनि हेर्नुपर्छ, क्षमता रिजल्ट वा मार्कसिटमा देखिन्छ । क्षमता अनुसारको रुचिको विषय पनि छान्न सकिन्छ । तपाईंको रुचि के छ, त्यसलाई छाड्नु  हुँदैन । त्यही रुचिले हो सफल बनाउने । 

  • रुचि कसरी पत्ता लगाउने ? 

रुचि आफैँले पत्ता लगाउन सके धेरै राम्रो । किनभने यो विषय पढ्दा मलाई खुसी लाग्छ, यो गर्दा राम्रो लाग्छ भन्ने आफैँलाई थाहा हुन्छ । 

IMG_5167

अर्को, अभिभावकले ध्यान दिनुभएको छ भने पत्ता लगाउन सकिन्छ । जस्तो : आफ्ना छोराछोरीले पढ्नमा बढी रुचि राख्ने पुस्तक वा विषय कुन हो भनी अभिभावकले अवलोकन गर्न सक्छन् ।

  • प्राविधिक विषय पढ्नुपर्छ भनिएको छ तर गणित, विज्ञान विषयतर्फ मात्रै धेरैको ध्यान गएको छ । जब कि देशमा पढाउनका लागि ७९ वटा विषय छन् । अरु विषयतर्फ विद्यार्थीको आकर्षण किन हुन सकेको छैन ?

भविष्य सुखमय होस् भन्ने मानवको स्वभाव नै हो । यसका लागि आम्दानी राम्रो हुनुपर्छ । जुन विषय पढ्दा राम्रो आम्दानी गर्न सकिन्छ, त्यही विषय पढ्न खोज्छन् नै । आफ्नो रुचि अनुसार काम गरेर राम्रो कमाइ गर्ने चाहना  सबैमा हुन्छ, तर कुनमा गएर राम्रो कमाइ गर्ने भन्ने हुन्छ । डाक्टर पनि काम नपाएर बसेका हुन्छन् । त्यसैले रुचि र क्षमता हेर्नुपर्छ । त्यो दुईवटा कुरा भयो भने मात्रै जीवन सुखमय बनाउन सकिन्छ । 

जुन विषय पढ्दा आनन्द लाग्छ, जुन विषय पढ्दा खुसी अनुभूति गर्नुहुन्छ, ती विषय नै पढ्नुपर्छ ।
  • विदेशमा गएपछि खाना आफैँ बनाउनुपर्ने हुन्छ, तर खाना बनाउन नजान्दा कतिपय समस्यामा परेका पनि छन् नि ! 

हामीले विद्यार्थीलाई पढाउनका लागि मात्रै ‘इन्ह्यान्स’ गरिरहेका हुन्छौँ । वास्तवमा उनीहरूलाई ‘लाइफ स्किल’ सिकाउनु जरुरी छ । मानिस हरेक दिन विभिन्न समस्यासँग जुध्नुपर्ने हुन्छ । त्यसका लागि खाली समयमा यस्तो खालको स्किल सिक्नुपर्छ । यो सिकिएन भने गुणस्तरीय जीवन जिउन सक्नुहुन्न । 

जुन विषय पढ्दा आनन्द लाग्छ, जुन विषय पढ्दा खुसी अनुभूति गर्नुहुन्छ, ती विषय नै पढ्नुपर्छ । ८० प्रतिशत विद्यार्थीले डाक्टर र इन्जिनियर पढ्ने कुरा गर्छन् । त्यो समाज र परिवारले बनाएको उद्देश्य हो । कुन विषय पढ्दा आफूलाई आनन्द लाग्छ, त्यही विषय पढ्ने हो ।

शिक्षाविज्ञ डा. कल्पना ज्ञवालीसँगको सवाल–जवाफ

  • आम अभिभावकले मेरो बच्चाले कति जीपीए ल्याए भनेर चासो दिने गरेका छन् । यो कतिको उपयुक्त हो ?

बच्चाले यति स्कोर ल्यायो भनेर हामी सामाजिक सञ्जालमा पोस्ट गर्छौं, त्यो भनेको गौण पाटो हो । त्यसैले नीति बनाउने तहदेखि नै विद्यार्थीले स्किल कति सिक्यो भन्ने हेरिनुपर्छ । 

dr. kalpana gyawali

कुनै बच्चाले एसईईमा ८८ प्रतिशतमाथि वा चार जीपीए ल्याएको छ, तर ऊ एसईईपछि विवाह–व्रतबन्धमा जान रुचाउँदैन, घरमा आएका पाहुनालाई राम्रो रेस्पोन्स गर्दैन । कोही मान्छे मरेको अवस्थामा ऊ जान खोज्दैन भने त्यो ८५ प्रतिशतले काम गर्‍यो त ? उसले कुन स्किल हासिल गर्‍यो ? सोसल स्टडीका के के कुरा सिक्यो ? त्यो पाटो मेजर हो । भोलि समाजमा ऊ कति हेप्पिनेसका साथ स्किल र नलेजलाई प्रयोग गरेर क्वालिटी अफ लाइफ जिउन सक्छ ! यो हेरिनुपर्छ । 

हरेक शिक्षकले कक्षाकोठामा आफूले सिकाएको कुरा विद्यार्थीले सिक्यो कि सिकेन भनेर बुझ्नुपर्ने हुन्छ ।

अर्को कुरा, जब हामीले आफ्ना बच्चाको स्कोर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्छौं । त्यसले अर्को बच्चालाई असर परेको हुन्छ । बच्चाको स्कोर हाई वा लो हुन सक्छ, बढी स्कोर सार्वजनिक हुँदा कम स्कोर हुने बच्चालाई नेगेटिभ स्ट्रेस दिन्छ । त्यसले बच्चालाई ‘अनहेल्दी कम्पिटिसन’ (अस्वस्थ प्रतिस्पर्धा)मा पुर्‍याउँछ । हामीले विभिन्न खालका घटना देखेका छौँ, फ्रस्ट्रेसन तथा हेल्थ समस्या देखेका छौँ । आफ्ना बच्चाको स्कोर सेयर गर्दा अरुको बच्चालाई के असर गर्छ भन्ने पनि ध्यान दिनुपर्छ । 

  • स्कुल कसरी छनोट गर्ने, रुचि कसरी पत्ता लगाउने ? 

कतिपय स्कुलहरूमा काउन्सेलर छैनन् । हरेक स्कुलमा शैक्षिक परामर्शदाता हुनुपर्छ । त्यसका लागि हरेक विद्यालयमा काउन्सेलर नै नियुक्त गर्नुपर्दैन । हरेक शिक्षक एजुकेसनल गाइडेन्स हो, काउन्सेलर हो । यो कुरा शिक्षक स्वयंले बुझ्नुपर्छ । शिक्षक सल्लाहकार पनि हो । शिक्षकले कक्षामा जाँदा हरेक विद्यार्थीलाई नजिकबाट मूल्याङ्कन गर्नुपर्ने हुन्छ । 

हरेक शिक्षकले कक्षाकोठामा आफूले सिकाएको कुरा विद्यार्थीले सिक्यो कि सिकेन भनेर बुझ्नुपर्ने हुन्छ ।

  • कतिपय विद्यार्थीले ब्रिज कोर्स लिने गरेका छन् । के ब्रिज कोर्स आवश्यक हो । के ब्रिज कोर्सको सट्टामा अन्य केही गराउनुपर्थ्यो ?

ब्रिज कोर्स अनावश्यक भन्दिनँ । धेरै स्कोर हान्नका लागि त्यो पढ्नुपर्छ भन्ने मान्यता होला, तर त्यो एउटा पाटो हो । अरुले रिसर्च गरेका कुराहरू, अरूले पत्ता लगाएका कुराहरूबारे जानकारी गराउन मात्रै हामी लागेका छौँ, तर सामान्यदेखि सामान्य कुरा बिर्सिरहेका छौँ । 

प्रधानाध्यापक हेरम्बराज कँडेलसँगको सवाल–जवाफ 

  • सामुदायिक विद्यालयमा पढाइ हुँदैन भनेर हाम्रो दिमागमा बसेको छ, पारिएको छ । सामुदायिक विद्यालय खतम भए भन्ने गरिन्छ । तर विश्व निकेतन मावि त्रिपुरेश्वरमा छ, जहाँ चार हजार ४०० भन्दा बढी विद्यार्थी छन्, ११ र १२ मा दुई हजार ५५० विद्यार्थी छन् । त्यति धेरै विद्यार्थीलाई यहाँहरूले के पढाउनुहुन्छ ? 

नेपालमा करिब ३६ हजार जति विद्यालय छन् । जसमध्ये करिब २७ जति हजार सामुदायिक छन् भने सात हजार जति निजी विद्यालय छन् । २७ हजार सामुदायिक विद्यालयमा कतिपय विद्यालयले विषयगत शिक्षक पाउन सकेका छैनन् । कतिपयमा भौतिक पूर्वाधार राम्रा छैनन् । जसले गर्दा गुणस्तरीय शिक्षा दिन सकेका छैनन् । यसैले सामुदायिक विद्यालयमा पढाइ राम्रो भएन, शिक्षकहरू राजनीतिक दलका झन्डा बोकेर हिँड्ने भए, पठनपाठन भएन भन्ने कुरा छन् । त्यो मात्र होइन, धेरै सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिएका छन् । 

herambraj kandel

आफूले गरेका राम्रा पक्षलाई सामुदायिक विद्यालयले मार्केटिङ गर्न सकेका छैनन् । बजारमा प्रचार–प्रसार गर्न सकेका छैनौँ । समयअनुसार जो प्रतिस्पर्धामा आउँछ, त्यो रहन्छ; जो प्रतिस्पर्धामा आउँदैन, त्यो डाइनोसर जसरी लोप हुन्छ, एजुकेसनमा यो झनै लागु हुन्छ । 

हामीले व्यावहारिक शिक्षा, व्यावसायिक शिक्षा र प्राविधिक शिक्षा दिइरहेका छौँ । निजी क्षेत्रका विद्यालयसँग प्रतिस्पर्धा गर्नुपरेको छ । त्यसैले हामीले त्यहाँ विद्यार्थी जान नसक्ने गरी पढाइरहेका छौँ । 

अहिले प्राविधिक विषय पढ्ने विद्यार्थी समेत कम भइरहेका छन् । कक्षा ९ मा राम्रो देखिन्छन्, तर, कक्षा ११–१२ मा पुग्दा थोरै विद्यार्थी हुने गरेको देखिन्छ । 

हाम्रोमा कानुन, इन्जिनियरिङ, प्राविधिक लगायत सबै विषय छन् । विद्यार्थीको रुचि अनुसारको शिक्षा दिइरहेका छौँ । बच्चाको रुचि अनुसारको शिक्षा दिन अभिभावकलाई समेत हामीले प्रेरित गरिरहेका छौँ । 

  • देशभर ४२२ नमुना विद्यालय छन् । ती विद्यालयमध्ये आधा विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारको पढाइ हुन्छ । प्राविधिक धारतर्फको पढाइ कस्तो छ ? १२ पढेपछि इन्जिनियर बन्न गए कि गएनन् ? 

नमुना उन्मुख विद्यालय (४२२ वटा) मध्ये १० वटा विद्यालयमा कक्षा ९ देखि १२ को प्राविधिक धारको पढाइ सञ्चालन भइरहेको छ । देशभर नमुनाबाहेक ५३७ विद्यालयमा प्राविधिक धारको पढाइ सञ्चालन भइरहेका छन् । यस्तै, सरकारले कक्षा ९–१२ मा प्लान्ट साइन्स, एनिमल साइन्स, सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन गरेको छ । 

सीटीईभीटी अन्तर्गत तीन वर्षे डिप्लोमा निजी क्षेत्रले पनि सञ्चालन गर्न सक्छन्, तर अलिकति महँगो हुुन्छ । त्यसकारण निःशुल्क बनाउनका लागि सरकारले प्राविधिक धार सञ्चालन गरेको हो । हामीकहाँ पनि इलेक्ट्रिोनिक इन्जिनियरिङको कोर्स पढाइ भइरहेको छ । चार वर्ष पढ्ने र एक वर्ष ओजीटी (अन गोइङ ट्रेनिङ) गरेर पाँच वर्षको हुन्छ । 

अहिले प्राविधिक विषय पढ्ने विद्यार्थी समेत कम भइरहेका छन् । कक्षा ९ मा राम्रो देखिन्छन्, तर, कक्षा ११–१२ मा पुग्दा थोरै विद्यार्थी हुने गरेको देखिन्छ । 

आईटी विज्ञ इन्द्रजित जीसीसँगको सवाल–जवाफ 

  • अबका दिनमा प्राविधिक विषय किन आवश्यक छ ? 

हामी अहिले मोबाइल फोनबिना बाँच्न सक्दैनौँ, सफ्टवेयरको युजबिना कुनै पनि काम गर्न सकिरहेका छैनौँ । तर यो नेपालमा भर्खर सुरु हुन लागेको छ । त्यसैले नेपालमा धेरै अवसर छ । 

indrajnit gc

लाइसेन्स वितरण गरिरहेका छौँ तर त्यसमा लाइनको व्यवस्थापन गर्न सकिरहेका छैनौँ, यो भनेको ‘सफ्टवेयर फेलर’ हो । हामीले जुन लाइसेन्स प्रिन्ट गरेर दिइरहेका छौँ, त्यसलाई इलेक्ट्रोनिक कपी दिन सकेको भए, त्यसको अथेन्टिकेसनका लागि सोच्न सकेको भए, अहिलेको समस्या आउँदैनथ्यो  । 

१ र १२ मा जुन इन्ट्रेस्ट छ, त्यो पढे हुन्छ । किनकि ११ र १२ ले कोर कुरालाई फोकस गर्दैन ।

नेसनल लेभलमा पनि इन्फ्रास्ट्रक्चरका लागि गर्नुपर्ने धेरै काम छन् । प्रविधिमा धेरै पुस्ता आउनुपर्छ, धेरै जनाले पढ्नुपर्छ । प्रविधि भन्नाले एउटा टुल मात्रै हो भन्ने सोच्नुहुन्छ, तर यसभित्र धेरै कुरा छन् । अहिले एउटा ‘एआई’ (आर्टिफिसियल इन्टेलिजेन्स) भन्ने कुरा सबैको मुखमा झुन्डिरहेको छ । त्यो त एउटा ब्रान्च मात्रै हो । हामीकहा एआईको प्रयोग गर्न मात्र खोजिएको छ, यसको डेभलमेन्टका बारेमा सोचेकै छैनौँ । 

यसमा हामीले डेभलमेन्ट गर्न सकियो भने विदेशीले बनाएको एआई होइन, हामीले हाम्रा लागि बनाउन सक्छौँ । 

IMG_5161

  • यसका लागि कक्षा ११ र १२ मा कुन विषय लिएर पढ्ने त ? 

११ र १२ मा जुन इन्ट्रेस्ट छ, त्यो पढे हुन्छ । किनकि ११ र १२ ले कोर कुरालाई फोकस गर्दैन । ११ र १२ मा आउँदा अलिकति बाटो देखाउने हो । जब हामी ब्याचलरमा पुग्छौँ, अलिकति न्यारो डाउन हुन्छ । टेक्नोलोजी जे पढे पनि पाइन्छ । एजुकेसन पढे पनि पाइन्छ । म्यानेजमेन्ट पढे पनि पाइन्छ । 

टेक्नोलोजीले कुनै पनि कुरामा ब्यारिअर (रुकावट) राखेको छैन । केही कार्यक्रममा ब्यारिअर होला, त्योबाहेक केहीमा पनि ब्यारिअर छैन ।

  • सबैले प्राविधिक विषय पढ्नुपर्छ भनिरहेका छन् । त्यो विषय महँगो पनि छ । गणित विषय पढेकाले मात्रै प्राविधिक विषय पढ्न पाउँछ भनिन्छ । गणित विषय नपढेको वा कमजोर भएकाले के विषय पढ्न पाउँछन् ? 

म्यानेजमेन्ट पढ्नेलाई पनि प्राविधिक ज्ञान चाहिन्छ । एजुकेसन पढ्नेले पनि टेक्नोलोजी बुझ्नुपर्छ । साइन्स एन्ड टेक त पियोर साइन्स नै हो । प्रविधि पढ्नलाई म्याथ नै चाहिन्छ भन्ने छैन । तपाईंसँग लजिकल रिजन छ भने म्याथ नै जान्नुपर्दैन । त्यसमा आफूले विश्लेषण गर्न सक्नुहुन्छ भने प्राविधिक विषय पढ्न कुनै समस्या हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप