बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

बिहीबार, २७ असार २०८१, १८ : ०२
बिहीबार, २७ असार २०८१

काठमाडौँ । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार बिहीबार १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । 

विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रूपमा यातायात सेवा सञ्चालन भएको छ । डुम्रे–बँेसीसहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ । 

विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ । यी दुवै प्रणालीको प्रभावले शनिबारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ । 

देशभर साधारणतया ण्बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना छ । 

भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भन्दै सतर्कता अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरेका छन् । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन विभागले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप