देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न
काठमाडौँ । साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत रोपाईं मात्र भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष सुदूरपश्चिममा यतिबेला त्यहाँ ९९.२ प्रतिशत रोपाईं भएको थियो ।
सबभन्दा कम रोपाईं कोशी प्रदेशमा भएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार त्यहाँ २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर अर्थात ९०.७ प्रतिशत रोपाईं भएको छ । गत वर्ष यतिबेला त्यहाँ ८३.६ प्रतिशत रोपाईं भएको थियो ।
सबभन्दा ढिलो रोपाईं हुने मधेस प्रदेशमा यसपटक अन्य प्रदेशकै हाराहारीमा रोपाईं भएको छ । त्यहाँ ३ लाख ८३ हजार १५० हेक्टरमध्ये ३ लाख ५२ हजार ४४३ हेक्टर अर्थात ९२ प्रतिशत रोपाईं सम्पन्न भइसकेको छ, जब गत वर्ष यतिबेला त्यहाँ ५८.८ प्रतिशत रोपाईं मात्र भएको थियो ।
त्यस्तै बागमती प्रदेशमा एक लाख १२ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये ९०.८ प्रतिशतमा रोपाईं सकिएको छ । गण्डकी प्रदेशको ९६ हजार ५३ हेक्टर क्षेत्रफलको ९१.९ प्रतिशतमा रोपाईं सकिसकेको छ ।
लुम्बिनी प्रदेशमा तीन लाख ११ हजार ६४३ हेक्टरमा त्यहाँ रोपाईँ हुन्छ । त्यसमध्ये ९१.३ प्रतिशतमा रोपाईं सम्पन्न भइसकेको छ । कर्णाली प्रदेशको ४१ हजार ९०४ हेक्टर जमिनमध्ये ९६.९ प्रतिशतमा रोपाईं सकिएको कृषि मन्त्रालयले जनाएको छ ।
यसपालि समयमा मनसुन सुरु भई नियमित पानी परेका कारण समयमा रोपाईं सम्पन्न भएको कृषि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा.हरिबहादुर केसीले बताए । साउनको अन्तिमसम्म शतप्रतिशत रोपाईं हुनेमा आशावादी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण