मिथिला संस्कृतिमा मधुश्रावणी
मिथिला संस्कृतिमा साउन महिना भगवान् शिवलाई समर्पित छ । सोमबारी व्रत साउन मासको निकै प्रचलित पर्व हो । साउनमा पर्ने चार वा पाँचवटै सोमबार भगवान् शिवको आराधनामा व्रत बसिन्छ ।
बिहान स्नानादि नित्य कर्म सकेर व्रतको संकल्प गर्नुपर्छ । त्यसपछि घरमै अथवा शिवालयमा गएर बेलपत्र, पुष्प, ऋतुफलका साथ भगवान् शिवलाई प्रिय लाग्ने वस्तुहरू समर्पित गरी अभिषेक गरिन्छ । विधिपूर्वक पूजा सम्पन्न गरेपछि शिव–पार्वती व्रतकथा सुन्ने चलन पनि छ ।
साउनमा मंगला गौरी व्रत, चतुर्थी, प्रदोष व्रत, एकादशी, चतुर्दशी आदि पर्व पनि पर्छन् । मिथिला क्षेत्रमा भने मौलिक पर्व ‘मधुश्रावणी’को आयोजना गरिन्छ ।
मधुश्रावणी मधु र श्रावण शब्दको योग हो । ‘मधु’ अर्थात् जीवनको वसन्त ऋतु । साउनमा वसन्तको झझल्को । यो पर्व श्रावण, साउन, श्रावणी, साउनी, साउने, सावन वा सावनी अनेक नामबाट परिचित छ । साउनमा मनाइने भएकाले यस पर्वलाई मधुश्रावणी भनिएको हो भन्ने तर्कको खण्डन गरी राख्नु जरुरी छैन, मधुश्रावणीको सामाजिक रूपलाई हेरे थाहा हुन्छ कि मधुश्रावणी नामतः ‘मधुकर कथाको श्रवण’ पर्व हो ।
मधुश्रावणी १३ दिवसीय पूजा–कथासहितको १५ दिन लामो पर्व हो । यो पर्व पनि भगवान शिवप्रति समर्पित छ ।
पर्वतराज हिमालयकी पुत्री माता पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न घोर तपस्या गरिन् । त्यसै तपस्याको बलमा उनले शिवलाई वरको रूपमा प्राप्त गरिन् । सोमबारी व्रत त्यसै निष्ठाबाट प्रेरित छ । हुन त हरेक महिलाले सोमबारी व्रत लिन्छन्, तर वैवाहिक उमेरमा पुगेका युवतीहरू सोमबारी व्रतलाई माता पार्वतीको अनुकरण गरी तपश्चर्या लिन्छन् ।
यस पूजामा पुरोहितको भूमिकामा रहेकी कथावाचिका लगायत सुहागिन (सधवा)द्वारा नवविवाहितालाई आशीर्वाद दिइन्छ । कथावाचिकालाई श्रद्धापूर्वक दान–दक्षिणासहित बिदाइ दिइन्छ ।
सोमबारी व्रतको अभीष्ट पूरा भएपछि अर्थात् विवाहपछि भगवान् शिवको अनुष्ठानका रूपमा मधुश्रावणी पर्व रहेको छ । मधुश्रावणीको उद्देश्य दाम्पत्य जीवनलाई सफल बनाउनु हो । यो पर्व नवविवाहिताले मात्र लिन्छन्, त्यो पनि विवाह गरेकै पहिलो साउन मासमा मात्र । आधा महिना लामो यस पर्वको निकै ठुलो विधि–विधान छ । यस पर्वको आधार पनि शिव–पार्वतीको कथा नै हो । अर्थात् विवाहअघि सोमबारी व्रत लिनेले विवाहपछि मधुश्रावणी व्रत लिन्छन् ।
सोमबारी व्रत कुमारी कन्याले लिन्छन्, जसको ध्येय माता पार्वतीको तपश्चर्याको अनुकरण गर्नु हो भने मधुश्रावणी पर्व वैवाहिक जीवनलाई सफल बनाउने वा त्यस्तो ज्ञानबाट परिचित हुने अवसर हो । त्यस्तो ज्ञान भगवान् शिवले माता पार्वतीलाई ‘अमर कथा’मा प्रदान गरेका थिए । यस लेखमा ‘यही अमरकथारूपी मधुश्रावणी पर्वबारे चर्चा गर्न खोजिएको छ ।
यस वर्ष सोमबारी व्रत साउन ७ गते प्रारम्भ भएको छ भने मधुश्रावणी १० गते गुरुबार प्रारम्भ भएको छ । साउन मासको कृष्ण पक्षको पञ्चमी तिथिमा सुरु भएर शुक्लपक्षको तृतीया तिथिको दिन व्रत पूरा हुन्छ । यो विशिष्ट अर्थमा कृष्ण पक्ष र शुक्ल पक्षको योग पर्व हो । प्रत्येक वर्ष यो पर्व मनाइने भए पनि तिथिको हेरफेरले गर्दा कुनै–कुनै वर्षमा पूजा एक दिन बढ्न जान्छ ।
मधुश्रावणीको पहिलो पूजाका लागि आवश्यक सामग्री तयार पार्ने कार्य व्रतालुसहितका स्त्रीगणले अघिल्लो राति अबेरसम्म पर्वसँग जोडिएका गीत गाउँदै पूरा गर्छन् ।
प्रत्येक दिनको कथा निर्धारित छ । मधुश्रावणीका कथाहरू जीवन र जगत्प्रतिको ज्ञान, विचार र व्यवहारमाथि आधारित छन् ।
मधुश्रावणी नैहर (माइती) मा मनाइन्छ । माइतमै बसेर मनाइने भए पनि यस पर्वमा व्रतालुको खाद्यान्न, वस्त्र परिधान, शृंगार प्रशाधन, पूजा सामग्री र अन्य वस्तु पतिको घरबाटै पु¥याइनुपर्ने चलन छ । आजकल बिहे भएलगत्तै द्विरागमन (गौना) गरी छोरीलाई ससुराली पठाउने चलन छ । त्यसैले ससुरालीमै पनि मधुश्रावणी पर्व मनाइने चलन थालिएको छ । व्रत जहाँ मनाए पनि व्रतालुको पतिको उपस्थिति भने अनिवार्य हुन्छ । मधुश्रावणीको शोभा र छटा विशेष चहल–पहल र गीतनादले अत्यन्तै सुहाउँदो हुन्छ । सम्पूर्ण वैवाहिक परिधान, शृंगार र आभूषणमा सजिएर महाव्रतका लागि संकल्पित नवविवाहिता व्रतालुको अनुहारको तेज, दीप्ति, कान्ति अनिर्वचनीय हुन्छ ।
पर्वको १३ दिनको पूजा विधि–विधानका लागि एउटा कोठा छुट्ट्याइएको हुन्छ । व्रतालुकी आमाले कोठा लिपपोत गरी पूजा स्थानमा अक्षताको पीठार र सिन्दुरले अर्पण (मण्डला) बनाउनुपर्छ । व्रतालुले दैनिक जाही, जुही, अगर, तगर, नीम, दाडिम तथा मेहदीको पात टिपेर ल्याउनुपर्छ ।
पूजाअर्चना मधुश्रावणी पर्वको आधार विधि हो भने कथा श्रवण पर्वको ध्येय हो । पर्वका दौरान अनेक पौराणिक कथाको वर्णन पाइन्छ । प्रत्येक दिनको निर्धारित विधिअन्तर्गत कुलदेवता, गौरीको गीत र पूजाअर्चना गरी कथाश्रवण गरिन्छ । कथावाचनका लागि कथावाचिका (महिला पुरोहित)लाई निमन्त्रणा गरिएको हुन्छ । व्रतालुलाई कथावाचिकाद्वारा मधुश्रावणी व्रतकथा श्रवण गराइन्छ । यस पूजामा पुरोहितको भूमिकामा रहेकी कथावाचिका लगायत सुहागिन (सधवा)द्वारा नवविवाहितालाई आशीर्वाद दिइन्छ । कथावाचिकालाई श्रद्धापूर्वक दान–दक्षिणासहित बिदाइ दिइन्छ ।
प्रत्येक दिनको कथा निर्धारित छ । मधुश्रावणीका कथाहरू जीवन र जगत्प्रतिको ज्ञान, विचार र व्यवहारमाथि आधारित छन् । कथाहरूमा प्रकृतिका अनेक स्वरूप र अंशहरू आधारभूत रूपमा गाँसिएका छन् । कथामा शिव र पार्वतीको जीवन प्रसंगका अनेक गाथाहरूको वर्णन र ती कथाहरूको महत्त्व दर्शाइएको छ । मैथिली संस्कृति र संस्कारसँग जोडिएका विशिष्ट र महत्त्वपूर्ण कथा पनि समावेश रहेका छन् ।
व्रतालुले पूजा अर्चना गरी निष्ठापूर्वक कथा श्रवण गर्नुपर्छ । स्कन्द पुराणका अनुसार नाग देवता र माता गौरीको पूजा गर्ने महिला सौभाग्यवती हुन्छन् । प्राचीन कुरु जनपदका राजालाई तपस्याबाट प्राप्त अल्पायु पुत्रलाई चिरायु बनाउन पत्नीले मंगलागौरी र नागपूजा गरेकी थिइन् । अल्पायु पुत्रको दीर्घायु प्राप्तिबाट प्रशन्न राजाले मंगला गौरी र नागपूजालाई राजकीय पूजाको स्थान दिएका थिए ।
- फूल
पूजाअर्चनाका लागि फूल एक अत्यावश्यक वस्तु हो । मधुश्रावणी पर्वमा पुष्पार्चनको विशिष्ट स्थान छ । फूल टिपेर ल्याउने र भगवानलाई अर्पण गर्नका निमित्त विशेष विधि निर्देशित छ । व्रतालु आफ्ना सखी सहेलीलाई साथमा लिएर प्रत्येक दिन अबेर अपराह्न बगैँचा गएर बेलपत्र र रंगविरंगका फूल टिपेर ल्याउँछन् । त्यही फूल भोलिपल्ट पूजामा चढाइन्छ । यसरी फूल टिप्न जाँदा र आउँदा सखीहरू पारम्परिक गीत गाउँछन् । पूजाका क्रममा वर (पति)ले एकेक आँजुरी फूल व्रतालुलाई दिन्छन् र व्रतालुले दुवै हातको निश्चित मुद्रा बनाएर भगवानलाई फूल अर्पण गर्छन् ।
नवविवाहिताले प्रतिदिन बगैँचामा गएर फूल टिप्छन्, टिपेको फूल डालामा सजाएर राख्छन् र अर्को दिन त्यही फूलले माता गौरीको पूजा अर्चना गर्छन् । पूजापश्चात् व्रत विशेष कथाहरू सुन्छन् । व्रतालुले ससुरालीबाट व्रतका निम्ति पठाइएको अरुवा चामल, घिउ, चना, फल आदि लवणरहित सात्त्विक भोजन गर्छन् ।
- तीनपटक सिन्दुर दान
मधुश्रावणी श्रावण शुक्ल तृतीयाको दिवसमा महत्त्वपूर्ण विधिका साथ सम्पन्न गरिन्छ । त्यस दिन नवविवाहिताको पुनः सिन्दुरदान हुन्छ । अर्थात् सिन्दुरदान पहिलोपटक विवाहमा, दोस्रोपटक चतुर्थीमा र तेस्रोपटक यही मधुश्रावणीमा गरिने परम्परा छ । मधुश्रावणीको अन्तिम चरण भनेको व्रतालुलाई टेमीको दागबत्ती दिनु हो । व्रतालुको दुवै घुँडामा पानको पात राखी दियोको लप्का पारिन्छ, यसलाई टेमी दिनु भनिन्छ । टेमी दिँदा दुलाहाले व्रतालुको दुवै आँखा छोपेका हुन्छन् र महिला पुरोहितले टेमीको दागबत्ती दिन्छन् । हिजोआज बत्तीको लप्काले डाम्ने डरले ‘शीतल टेमी’ दिने गरेको पनि देखिन्छ ।
दैनिक पूजाका निर्माल्य दिनहुँ एक विशेष पात्रमा संग्रह गरी राखिन्छ र पर्वको विसर्जनपश्चात् नदी वा जलाशयमा लगी सेलाइने प्रचलन छ ।
मधुश्रावणी पर्व मिथिलाअन्तर्गत भारतका तिरहुत, दरभंगा, कोशी, पूर्णिया, मुंगेर, भागलपुर र सन्थाल जिल्ला तथा नेपालको मोरङदेखि पर्सासम्मका ब्राह्मण, कायस्थ र वैश्य जातिमा प्रचलित छ । यी जातिको आप्रवासन जहाँ–जहाँ भएको छ, त्यहाँ पनि यो पर्व मनाइने गरिएको छ ।
मधुश्रावणीको प्रथम दिवस र समापन दिवसमा आमन्त्रित स्त्रीगणलाई पूजाको प्रसादस्वरूप अंकुरित चना व्रतालुको हातबाट वितरण गरिन्छ ।
दैनिक पूजाका निर्माल्य दिनहुँ एक विशेष पात्रमा संग्रह गरी राखिन्छ र पर्वको विसर्जनपश्चात् नदी वा जलाशयमा लगी सेलाइने प्रचलन छ ।
- स्वस्थानी र मधुश्रावणी
पहाडतिर पुस–माघमा स्वस्थानी व्रत कथा सुन्ने परम्परा छ । स्वस्थानी व्रतकथा र मधुश्रावणी व्रतकथामा निकै समानता रहेको देखिन्छ । स्वस्थानी व्रतकथामा महादेवको विवाह र महादेवको परिवारसम्बन्धी कथाले प्रमुखता पाएजस्तै मधुश्रावणी व्रतकथामा पनि महादेव र गौरीको विवाह; उनीहरूका लीला, गंगा, गणेश कार्तिकेयको जन्म र उनीहरूका चरित्र नै कथाको प्रमुख सन्दर्भ बनेका छन् ।
मधुश्रावणी पर्व नारी सबलीकरणको सांस्कृतिक अभ्यास हो । सुखदुःख जीवनका दुई पाटा हुन् । व्यक्तिको जीवनमा कतिबेला कस्तो संकट आइपर्छ, त्यो कुरा कसैले भन्न सक्दैन । बरु जीवनमा जस्तोसुकै समस्या आइपरे पनि त्यसको सामना गर्न व्यक्ति स्वयं सक्षम बन्नुपर्छ । विवाह व्यक्तिको रुचि मात्र होइन, एक सामाजिक व्यवस्था हो । युवतीले परिवारको त्याग गरेर अर्को परिवारको हिस्सा बनेर गएपछि भावी जीवनमा के–कस्ता रीतिथिति आउँछन् र त्यसमा आफूले के गर्नुपर्छ भन्ने ज्ञान दिनु र त्यस ज्ञानको शारीरिक–मानसिक अभ्यास गराउनु नै मधुश्रावणीको व्यावहारिक पक्ष हो । मिथिला जनजीवन एक त्यस्तो संस्कृति हो, जसमा जीवनको सम्पूर्ण पक्षको संस्कार गर्ने व्यवस्था गरिएको पाइन्छ । मधुश्रावणी एक संस्कार हो, जुन अनुष्ठान विधिबाट सम्पन्न गराइन्छ । जसरी पुरुषका लागि उपनयन महत्त्वपूर्ण हुन्छ, त्यही ध्येय पूरा गर्न नारीका लागि मधुश्रावणी महत्त्वपूर्ण छ ।
मधुश्रावणीमा नवविवाहितालाई १५ दिन नुन र मसलाविनाको एक छाक सात्त्विक भोजन गराएर, दिनहुँ फूल टिप्न भ्रमण गराएर, घन्टौँ एउटा आसनमा बसाएर, मनलाई एकाग्र गर्न लगाएर, नानाथरी कथा सुन्न लगाएर, मन्त्र जप र घोक्न लगाएर, शारीरिक–मानसिक कष्ट सहन लगाएर, झनै त्यसमा अन्तिम दिनमा त दागबत्ती दिएर एउटा त्यस्तो अभ्यास र परीक्षा उत्तीर्ण गराइनु नारी सबलीकरणको अद्वितीय सांस्कृतिक उदाहरण हो ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् । )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
-
दसैँ नमनाउने ललितपुरको खोकनामा मनाइँदै सिकाली जात्रा
-
थप ५७ हिमाल आरोहणका लागि खुला
-
घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन
-
जनगुनासो नआउने गरी कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन
-
जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु