सहसचिव भट्टराईको डायरीमा भेटियो सेटिङमा पठाइएकाहरूको हिसाब
सारांश
- अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि भिजिट भिसामा रकम असुलेको आरोपमा अनुसन्धान गरिरहेको छ।
- भट्टराईले त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख हुँदा बिचौलियासँग मिलेर कागजात नपुगेका व्यक्तिलाई विदेश पठाएको आरोप छ, र डायरीमा सेटिङको विवरण भेटिएको छ।
- अनुसन्धानमा भट्टराईको मोबाइलको पासवर्डबारे आनाकानी र अन्य व्यक्तिहरूको संलग्नता देखिएको छ, जसमा आर्थिक लेनदेनको पनि आशंका गरिएको छ।
काठमाडौँ । भिजिट भिसामा विदेश पठाएर रकम असुलेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । हाल आफूहरूले भट्टराईबाट जफत गरिएको डायरीको विवरण विश्लेषण गरिरहेको अख्तियारका अधिकृतहरू बताउँछन् ।
उनीमाथि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा बिचौलियाहरूसँग मिलेर भिजिट भिसामा ‘सेटिङ’ गरेर कागजात नपुगेका नेपालीलाई विदेश पठाएको आरोप छ । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराईले गिरोहसँग मिलेर लाखौँ असुलेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
भट्टराईको डायरीमा सेटिङमा पठाइएका मानिसहरूको सूची र हिसाब किताव भेटिएको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
जेठ ७ देखि आयोगले भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । डायरीमा भिजिटमा पठाउनुपर्ने व्यक्तिहरूको विवरण र को मार्फत आएको भनेर पनि उल्लेख गरेका छन् । विवरण अनुसार गृह मन्त्रालयका उच्च अधिकृतहरूको नाम पनि उल्लेख छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘यो फलानोको मान्छे, यिनीहरूलाई आज उडाउनुपर्ने भनेर उल्लेख गरेको देखिन्छ ।’
बिचौलिया मार्फत आएका र मन्त्रालयका अधिकृतहरूले सिफारिसमा अध्यागमन क्लियर गर्नुपर्ने व्यक्तिहरूको सूची डायरीमा रेखाङ्कन गरेर विवरण राखेको फेला परेको छ । ‘कोड वर्ड’ र संकेतहरु पनि डायरीमा भेटिएको छ । कोड वर्डबारे अनुसन्धान अधिकृतहरूले सहसचिव भट्टराई, सेटिङमा संलग्न आरोपीहरू खगेन्द्र सुवेदी, बालकृष्ण पौडेल र एक जना महिलासँग सोधपुछ गरेका छन् । अख्तियारका एक जना उच्च अधिकृत भन्छन्, ‘डायरीमा उल्लेख गरिएको सङ्केत यकिन गरेर विश्लेषण गर्दै छौँ ।’
अनुसन्धान अधिकृतहरूले भट्टराईको दुई वटा मोबाइल बरामद गरेका छन् । मोबाइलको पासवर्ड भन्न भट्टराईले ‘आनाकानी’ गरेको अख्तियारका अधिकृतहरू बताउँछन् । अख्तियार स्रोतका अनुसार भट्टराईले भनेको पासवर्डबाट मोबाइल खुलेन । त्यसपछि पटक–पटक सोधपुछ गर्दा उनले भन्ने गरेका छन्, ‘पहिला त्यही थियो, किन खुलेन मलाई त्यसबारे थाहा भएन ।’
सहसचिव तीर्थराज भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल र अर्का एक जना खगेन्द्र सुवेदी सहित चार जनाको डिभाइस आयोगले बरामद गरेको छ । खगेन्द्र सुवेदी र तीर्थराज भट्टराई पछिल्लो समय निकट भनेर चिनिन्छन् । बालकृष्ण पौडेल एसकेआर मेनपावरसँग पनि आबद्ध छन् ।
अनुसन्धानको दायरामा अर्की एक जना महिला पनि छिन् । ती महिलासँग आयोगले बयान लिइसकेको छ । ती महिलासँग भट्टराईको आर्थिक ‘लेनदेन’ रहेको भेटिएको छ ।
पर्यटक भिसा लगाएर बिदेसिनेहरुसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले ‘कोड वर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले युएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको अख्तियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण