मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एयर डाइनेस्टी दुर्घटना

मृत्युलाई जितेर फर्किएका पाइलट मल्ल यसपटक सदाका लागि अस्ताए

१३ वर्षदेखि उडाइरहेका थिए एयर डाइनेस्टीको हेलिकप्टर
बुधबार, २३ साउन २०८१, २० : ३१
बुधबार, २३ साउन २०८१

काठमाडौँ । निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लले विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका थिए ।

सन् १९६६ जुलाई २ मा ललितपुरमा जन्मिएका पाइलट मल्ल यसअघि कर्णाली एयरमा थिए । सन् २०११ बाट भने वरिष्ठ पाइलट मल्लले निरन्तर एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेको कम्पनीका म्यानेजर बालकृष्ण पण्डितले रातोपाटीलाई बताए ।

‘उहाँ निकै अनुभवी र सिनियर पाइलट हुनुहुन्थ्यो । जतिबेलादेखि उहाँ कम्पनीमा जोडिनुभयो, दुर्घटनाको दिनसम्म पनि निकै कुशलतापूर्वक र इमानदारितापूर्वक काम गर्नुभयो । दुर्भाग्यवस् बुधबार उहाँ दुर्घटनामा पर्नुभयो,’ पण्डितले भने, ‘उहाँ निकै मेहनती र इमानदार हुनुहुन्थ्यो ।’

पाइलट मल्लको निधनले नेपाली उड्डयन जगतमा अपूरणीय क्षति पुगेको उनले बताए ।

बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनै वरिष्ठ पाइलट मल्लको ५८ वर्षको उमेरमा मृत्यु हुन पुगेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी उडानका क्रममा नुवाकोटको शिवपुरी–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र अन्य ४ जना चिनियाँ यात्रुको घटनास्थलमै मृत्यु हुन पुगेको छ ।

लामो समय रेस्क्यू फ्लाइटको काम गरेका पाइलट अरुण मल्ल हजारौँमा एक भएको ग्राण्डी हस्पिटल हेलिकप्टर रेस्क्यू इन्चार्ज माधव शर्मा बताउँछन् ।

‘क्याप्टेन मल्लजस्तो मिलनसार, इमानदार र अनुभवी पाइलट सायदै नेपालले फेरि पाउला । उहाँको व्यक्तित्व र काम गर्ने शैली निकै अनुकरणीय थियो,’ उनले भने, ‘त्यति धेरै लामो सङ्गत त गर्न पाइएन, तर जति सङ्गत गरियो, उहाँ मेरो मन मस्तिष्कमा बस्न सफल हुनुहुन्छ । उहाँको तुलना अरुसँग हुनै सक्दैन ।’

देशका विभिन्न ठाउँबाट बिरामीको उद्धार गरेर ज्यान बचाउन लाग्ने क्याप्टेन मल्ल आफैँ मेडिकल टिमसँग निरन्तर संवादमा रहने र समयमै अस्पतालसम्म पुर्याउन भूमिका निर्वाह गर्ने व्यक्ति रहेको शर्मा सम्झन्छन् ।

मल्लजस्तो अनुभवी, इमानदार र मिलनसार पाइलट नेपाली हवाई उद्योगले फेरि सायदै पाउने उनको भनाइ छ ।

‘क्याप्टेन मल्लको निधनले नेपाली हवाई उद्योगलाई अपूरणीय क्षति पुगेको छ,’ उनले भने ।

ललितपुरमा जन्मिएका पाइलट मल्ल पछिल्लो समय काठमाडौँको बुढानीलकण्ड, चपलीमा बस्दै आएका थिए । पाइलट मल्लका श्रीमती र दुई छोरी रहेको बुझिएको छ ।

यसअघि नै मृत्युलाई जितेका थिए पाइलट मल्लले

captain arun

क्याप्टेन अरुण मल्ल यसअघि पनि दुर्घटनामा परेको खुलेको छ । सो दुर्घटनामा भने उनी सामान्य घाइतेमात्र भएका थिए ।

२०७० साल असोज १० गते सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा भएको दुर्घटनामा मल्लसहित यात्रु दावा ग्याल्जेन शेर्पा घाइते भएका थिए ।

एयर डाइनेस्टीकै ९एन–एईएक्स कल साइन भएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको थियो ।

बुधबार दुर्घटना भएको ९एन–एजेडी हेलिकप्टर पनि यसअघि दुर्घटनामा परिसकेको थियो । २०७९ साल चैत २५ गते ह्याम्स अस्पतालमा अवतरणका क्रममा यो हेलिकप्टर दुर्घटना भएको थियो ।

दुर्घटनाको क्रममा हेलिकप्टरको पुच्छरको भाग ठोक्किएको थियो । घटनामा कोही घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो । यसअघि नै मृत्युलाई जितेका पाइलट मल्ल यो पटक भने सदाका लागि अस्ताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप