दुई महिनाभित्रै तीन हजार ८०० भन्दा बढी सडकबत्ती चोरी
काठमाडौँ । चोरीका विभिन्न घटना दैनिकजसो प्रकाशमा आइरहेका हुन्छन् । तर भारतको उत्तर प्रदेश राज्यमा चोरीको एउटा अनौठो घटना प्रकाशमा आएको छ ।
अयोध्याको राम मन्दिर क्षेत्र आसपास कडा सुरक्षाका बाबजुद सडकबत्ती चोरी भएको घटना प्रकाशमा आएको हो । राम पथ र भक्ति पथमा जडान गरिएका सडकबत्ती चोरी भएको बताइएको छ ।
चोरी भएका बत्तीको मूल्य ५० लाख भारु रहेको बताइएको छ । अयोध्या विकास प्राधिकरणबाट यश इन्टरप्राइजेज र कृष्णा अटोमोबाइल्स नामक कम्पनीले सडकबत्ती जडानको ठेक्का लिएका थिए । रामपथ किनारका रुखमा ६ हजार ४०० बेम्बो लाइट र भक्ति पथमा ९६ गोबो प्रोजेक्टर जडान भएको ठेकेदार कम्पनीले जनाएको छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि शेखर शर्माका अनुसार तीमध्ये ३ हजार ८०० बेम्बो लाइट र ३६ गोबो प्रोजेक्टर लाइट चोरी भएको हो ।
शर्माले ९ अगस्टमा यसबारे राम जन्मभूमि प्रहरी थानामा उजुरी दायर गरेका छन् । उजुरीमा उनले १९ मार्चसम्म ती बत्ती ठिकठाक रहेकोमा ९ मईमा हेर्दा ३ हजार ८०० बेम्बो लाइट र ३६ गोबो लाइट चोरी भएको पाइएको उल्लेख गरेका छन् ।
यद्यपि उनले ९ अगस्टमा मात्र यसबारे प्रहरीमा उजुरी गरेका कारण धेरै आशंका उब्जिएको बताइन्छ । त्यसमा पनि कडा सुरक्षा भएको क्षेत्रबाटै सडकबत्ती चोरी भएको उजुरी आएपछि प्रहरी र प्रशासनले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।
अयोध्या प्रशासनले भने बत्ती चोरी नै नभएर ठेकेदार कम्पनीले झुटो दाबा पेस गरेर आर्थिक फाइदा लिन खोजेको प्रतिक्रिया जनाएको छ । जडान नै नभएका बत्ती चोरी भएको भनेर ठेकेदारले आर्थिक लाभ लिन खोजेको प्रशासनको भनाइ छ । अयोध्या सधैँ कडा सुरक्षामा रहेको भन्दै प्रशासनले यस्तोमा यति ठुलो संख्यामा सडकबत्ती चोरी गर्न सम्भव नै नहुने दाबी गरेको छ ।
यो मामिलामा अयोध्या प्रशासनले ठेकेदार कम्पनीविरुद्ध नै मुद्दा दायर गर्ने तयारी गरेको छ । अयोध्या विकास प्राधिकरणका उपाध्यक्ष अश्विनी पाण्डेले बत्ती जडान गर्ने कम्पनीले झुटो दाबी गरेको बताए । ‘अयोध्याको सौन्दर्यीकरण अन्तर्गत रुखमा दुई हजार ६०० बेम्बो लाइट जडान गरिएको थियो । अयोध्या विकास प्राधिकरणले गरेको अनुसन्धानमा यसबाहेक अरु बत्ती जडान भएकै छैन,’ पाण्डेले भने, ‘ठेकेदार कम्पनीले अतिरिक्त भुक्तानी पाउनका लागि झुटो कुरा प्रचारमा ल्याएको हो ।’