बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

वाम एकतासहितको नयाँ पार्टी निर्माण गर्न अध्यक्ष प्रचण्डसामु  सुनौलो अवसर

आइतबार, ०९ भदौ २०८१, ११ : ५४
आइतबार, ०९ भदौ २०८१

विगतको समीक्षा  

समाज विकासको लागि क्रान्ति, विद्रोह र आन्दोलन हुनैपर्ने मार्क्सवादी स्कुलिङअनुसार प्रचण्डले १० वर्षे जनयुद्धको नेतृत्व गरे । हाम्रो जस्तो पछौटे मुलुकमा नवउदारवादले निम्त्याएको असमानता र गरिबीको कारण आम श्रमजीवी वर्गको समर्थन र कार्यकर्ताको त्याग मार्फत जनयुद्धले नेपालको जमिन र आकाश मात्र थर्काएन, विश्व वाम राजनीतिमा महत्त्वपूर्ण  स्थान लियो ।

 नेपालका अन्य संसदवादी दलहरूले कल्पना गरेविपरीत जनयुद्धको जगमा भएको जनआन्दोलनको बलमा गणतन्त्र स्थापना पश्चात सामान्य पुष्पकमल दाहालबाट रापतापसहितको प्रचण्ड ब्रान्डको उचाइ अग्लो भयो । आफ्ना एजेन्डा र आक्रामक प्रचार शैलीले पहिलो संविधान सभाको निर्वाचनमा अत्यधिक मतसहित ठुलो दल भएपछि राज्य सत्ता र कानुन निर्माणको नेतृत्वदायी भूमिकामा स्थापित भयो र धेरैजसो नेता कार्यकर्ताहरू शास्त्रीय ढङ्गले मूल नेतृत्वको देवत्वकरण गर्न थाले ।

 पार्टीका दोस्रो तहका नेताहरू पार्टीलाई नयाँ परिस्थितिमा सांगठानिक व्यवस्थापन र सोचको वैचारिकरण गर्न छोडेर  प्रचण्डको नजिक हुनको लागि  गलत सल्लाह दिन र गुटबन्दी गर्न तल्लीन भए । शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सेना समायोजन गर्नु प्रचण्डको अनिवार्य कार्य थियो, तर रणनीतिक योजना एवम् रचनात्मक  सहयोग नगरी कसैको उक्साहटमा निष्कर्षमा नपुग्ने अडान लिनु मात्र क्रान्तिकारी हुनु हो भन्ने भाष्य निर्माण गरी प्रचण्डलाई क्रान्ति विरोधी बनाउन खोजियो ।

गौरवशाली पार्टीमा मानसिक विभाजन हुँदै, अन्ततः सग्लो पार्टी विभाजन भई आन्दोलनबाट आएका नेता कार्यकर्ताहरू तितरबितर भए र पार्टीलाई सबै मोर्चामा कमजोर बनाइयो । के यो शान्ति वार्तापछिको पहिलो चरणको सङ्कटमा अध्यक्ष प्रचण्डको मात्र दोष छ ? मूल नेतृत्वको देवत्वकरण गरी सार्वजनिक लाभदायक पदमा पदस्थापन हुने दोस्रो तहका नेताहरूको दोष छैन ? जसले आजको सङ्कटमा गाली मात्र गर्छन् । मलाई लाग्छ दोषको भागीदार सबै जिम्मेवार पदाधिकारीहरू हुनु पर्दछ  ।

सङ्कटमा रहेको पार्टी र आन्दोलन जोगाउनु तथा सहिद परिवार, घाइते, अपाङ्ग र आम दुखी कार्यकर्ताहरूको मनको घाउमा मलमपट्टि लगाउनु र संविधान सभाबाट प्रगतिशील संविधान बनाउनु प्रचण्डको लागि कम चुनौतीपूर्ण काम थिएन । पार्टी विभाजनको क्रममा भएको दोस्रो संविधानसभाबाट गणितीय कमजोर स्थिति र भू-राजनीतिक चलखेलको बावजुत तुलनात्मक रूपमा आन्दोलनको केही उपलब्धि सहित संविधान जारी गर्नु अध्यक्ष प्रचण्डको नेतृत्व राजनैतिक सफलता मान्नु पर्दछ ।

तर पार्टीको निर्णय, अभियान सहित कार्यान्वयन, भ्रातृ सङ्गठनहरूका गुटगत सम्मेलनको कारण नेतृत्व चुन्न असजिलो भयो, जबरजस्ती घोषणा गर्दा पनि सहज कार्य सम्पादन हुन सकेन र सङ्गठन गतिशील हुन् सकेन । यी यावत भद्रगोल स्थितिले राजनैतिक रूपमा पार्टी गतिशील हुन् सकेन । पार्टीको निर्णय अनुसार बैठक, अभियान सञ्चालनमा किन समस्या भयो ? यसको लेखाजोखा प्रश्न मात्र गर्ने दोस्रो पुस्ताले चाहिँ लिनु पर्दैन ?  यसको जिम्मेवार अध्यक्ष प्रचण्डले मात्र लिने कि सबै जिम्मेवारी पदाधिकारीहरूले ? तसर्थ अव पार्टी र आन्दोलन अगाडि बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव पनि हेर्नु पर्ने हुन्छ ।

आजको वित्तीय पुँजीवाद र प्रवेश गरिसकेको निगरानी पुँजीवादमा सूचना सङ्कलन र विश्लेषणलसहित यसले पार्टी र सत्तामा  कति गहिरो  असर गर्दछ  भन्ने विश्लेषण गर्न नसक्नु र गतिशील तथा  लचकताको नाममा आफूमा केन्द्रित भई दायाँ बायाँ खेल्नुलाई सफलता मान्नु नै प्रचण्डको गम्भीर भुल थियो । बारम्बार धोका दिएको र आफूलाई कमजोर  बनाउन कुटिल चाल चालेको थाहा नपाउनु पनि  प्रचण्डको राजनीति र कूटनीतिक कमजोरी थियो । पार्टीको मूल नेतृत्व अध्यक्ष प्रचण्ड र सहयोगी परिवारले मुक्ति आन्दोलन र मुलकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी बङ्गलादेशको तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई हेरे मात्र पनि पुग्छ । शेख हसिनाले आफ्नै जीवनकालमा बाबुको बीभत्स हत्या र त्यसपछिका दिन बाबुलाई राष्ट्रगौरवको रूपमा बखान गरेको मात्रै देखिन, पुनः आफूसँगै बाबुलाई घृणाको पात्रको रूपमा तिरष्कृत भएको समेत देखेकी छन् । वामपन्थी पार्टीहरूले आजको दिनमा सिक्नु पर्ने कुरा स्पष्ट छ, अन्तर्राष्ट्रिय घटनाक्रमले प्रगतिशील आन्दोलन र आर्थिक विकासको योगदानले मात्र हुँदो रहेनछ, भू-राजनतिक सन्तुलन र विपक्षसँगको व्यवहारले सत्ता आयु निर्धारण हुने रहेछ । 

अबको कार्यभार 

भनिन्छ, हालको समय वितेको पुरानो समयभन्दा केही फरक त अवश्य हुन्छ , पूर्ण सफलता ती मानिसहरूले प्राप्त गर्दछन्, जोसँग उच्च नैतिकता र आटले भरिएको भावना हुन्छ, उसैले जीवनका हरेक आयाममा अगाडि बढ्दै सफल बन्न सक्दछ । एकपटक विगतमा फर्केर  हेर्ने र स्वमूल्याङ्कन गरेर मात्र प्रगतिशील पार्टी निर्माण हुन्छ । असफलताको सँगालो भएता पनि माओवादी पार्टीका  अध्यक्ष प्रचण्ड राज्य दोहन, भ्रष्टाचारबाट टाढा रहन सक्नु र केही प्रगतिशील कामको पहलकदमी गर्नु नै हाम्रो गर्विलो पुँजी भएको छ । पार्टी नेतृत्वले प्रश्नावलीमार्फत आफैले आफ्नो कमजोरी पत्ता लगाई ठिक उत्तर खोजी सुधारको लागि पहल गर्नु नै सबैलाई रमाइलो, चाखलाग्दो र लाभदायक  हुन्छ ।

विभिन्न बस्तुगत कारणले गर्दा पार्टीभित्र अनियमितता, विकृति र विसङ्गति पैदा भए । यसको समीक्षा गरेर कमीकमजोरी हटाउनुपर्छ । अबको आन्दोलन, पार्टी निर्माण र आर्थिक, सामाजिक विकासको नेतृत्व माओवादीले मात्र लिन सक्दैन । तसर्थ समाजवादी मोर्चामा आबद्ध सबै पार्टीहरूसँग एकता गरी नयाँ पार्टी निर्माण गर्नु नै आजको उत्तम उपाय देखिन्छ । यसको लागि ७० दशक नागी सकेका र पुग्न लागेका नेताहरूले पदको लोभ नगरी नयाँ निर्माण हुने पार्टीको नेतृत्व सहज हस्तान्तरण गर्नु तथा दोस्रो पुस्ताका नेताहरूले दाम्लो नचुँडाली नेतृत्व माग गर्नु र क्षमता विकास गर्नु आजको वाम आन्दोलनको कार्यभार हो ।

नयाँ एकताबद्ध पार्टीले मात्र वर्तमान चुनौती सामना गर्न र प्रतिक्रान्ति रोक्न सक्ने तागत राख्दछ भन्ने नेतृत्व वर्गले हेक्का राख्नु जरुरी छ। आधुनिक चीनको आर्थिक विकासका नेता देङश्यापिङले कम्युनिस्ट पार्टीमा सङ्कट आउँदा, आफ्ना समर्थकहरूलाई भनेका थिए – आफ्नो शक्तिलाई लुकाउ, समय पर्ख  । फेरि प्रश्न जीवित छ,  एक पटक विश्व इतिहास, आफ्नो इतिहास, आजको पुँजीवादी गतिशीलता र जनताको मुद्दाहरू पनि बुझ्ने कि, सकिने बाटोमा लाग्ने ?                      

(लेखक शिवाकोटी, दोलखा माओवादी पार्टीको युवा नेता तथा वाईसेल नेपालका केन्द्रीय सदस्य हुन् )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिन कुमार सिवाकोटी
मिन कुमार सिवाकोटी
लेखकबाट थप