‘तलदेखि माथिसम्मै अन्तरविरोध एमालेको मूल समस्या’
काठमाडौँ । भदौ १८ र १९ गते बसेको नेकपा एमालेको पोलिटब्युरो बैठकले पार्टीको एक वर्षे कार्ययोजना पारित गर्दै २०८४ को निर्वाचनमा बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेको छ ।
त्यसका लागि पार्टी कमिटीहरूलाई सोही किसिमको जिम्मेवारी प्रदान गर्ने, कमिटीहरूले गरेका कामको मूल्याङ्कनका आधारमा पुरस्कृत र दण्डित गर्ने व्यवस्था समेत मिलाएको एमालेले पार्टी नेता–कार्यकर्तामाथि उठेको नैतिक आचरणको प्रश्नबारे गम्भीर छलफल गरेको छ ।
एमाले बैठकमा भएका अन्य छलफल, पार्टीभित्र देखिएका समस्या र आगामी दिनमा एमालेको भूमिकासहित गठबन्धनको भविष्यबारे रातोपाटीले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईसँग कुराकानी गरेको छ । प्रस्तुत छ– भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश :
- नेकपा एमालेको दुई दिने पोलिटब्युरो बैठक हालै सम्पन्न भएको छ, यो बैठकले के सन्देश दिन खोजेको हो ?
पोलिटब्युरो बैठक पार्टीको संगठनात्मक कामलाई व्यवस्थित गर्न आयोजना गरिएको हो । त्यसबाहेक बैठकमा हामीले जनताले भोग्नुपरेका केही समस्याका बारेमा पनि छलफल गरेका छौँ । त्यसक्रममा हामी मुख्यगरी दुई वटा विषयमा केन्द्रित भयौँ । जसअन्तर्गत पार्टी संगठनलाई २०८४ को निर्वाचनमा निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने । साथसाथै पार्टी संगठनलाई थप व्यवस्थित बनाउने ।
त्यसक्रममा पार्टी सदस्यतादेखि अरु संगठनहरू, जनसंगठनहरूलाई व्यवस्थित परिचालन गर्ने, कमिटीगत रूपमा पनि सदस्यता विस्तार गर्ने एउटा मुख्य योजना बनायौँ । छलफलका क्रममा पार्टीभित्रका अन्तरविरोधहरूलाई पनि पहिचान गरेर समाधान गर्ने विषयमा गम्भीर छलफल गर्यौँ ।
बैठकमा ५१ जना पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो सुझाव पनि दिनुभयो । त्यसरी धारणा राख्ने क्रममा सदस्यहरूले पार्टीभित्रको समस्या समाधान होस् र नेतादेखि कार्यकर्ता सबै जनताको बिचमा गएर पार्टी परिचालित गर्दै संगठन विस्तार गर्ने विषयमा केन्द्रित भयौँ । यसले संगठनात्मक रूपमा पार्टीलाई बलियो बनाउने सन्देश प्रवाह हुनसक्यो भन्ने ठानेका छौँ ।
यस पटकको बैठकमा छलफल पनि अलि खुला रूपमै भयो र निर्णयमा पनि वार्षिक कार्ययोजना अनुसार अघि बढ्ने निर्णय गरेका छौँ । वार्षिक कार्ययोजनामा पार्टी सदस्यतादेखि संगठन र कमिटीहरूलाई मजबुत बनाउँदै कामका नयाँ क्षेत्रहरू पनि पहिचान गरेर अघि बढ्ने कुरा गरेका छौँ ।
यस क्रममा पार्टीको सम्पूर्ण शक्ति पार्टीबाट परिभाषित जिम्मेवारीअनुसार अगाडि बढाउने सोचेका छौँ । त्यस हिसाबले २०८४ को निर्वाचनमा बहुमत ल्याउने निर्धारित उद्देश्य अनुसार बलियो र निर्णायक राष्ट्रिय शक्ति बनेर बहुमतप्राप्त सरकार निर्माण गर्ने गरी हामी अघि बढ्ने सङ्कल्प गर्यौँ ।
- एमालेको पोलिटब्युरो बैठक कमै बस्ने गरेको छ । तर पनि यो पटक बसेको बैठकमा पार्टीभित्रका समस्या के–के रहेछन् भनेर पहिचान गर्ने काम पनि भयो ?
हामीले यसअघि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेका थियौँ । यो अभियानमा हामीले हामीभित्रका समस्या पहिचान गरेको हो । खासगरी पार्टीभित्र तलदेखि माथिसम्म रहेका अन्तरविरोधका कारण पछि पर्नुपर्ने अवस्था नै मूल समस्या छ । यो समस्या पहिचान भइसके पनि त्यसलाई समाधान गर्नेगरी ठोस रूपमा पहल गर्न सकिएको छैन । तर अब ती समस्या समाधान गरेर अघि जानुपर्छ ।
जिम्मेवारी पनि कमिटीमा बसेका नेता कार्यकर्ताहरूलाई परिभाषित जिम्मेवारी प्रदान गर्ने, त्यसरी दिएको जिम्मेवारीको आधारमा कामको मूल्याङ्कन पनि त्यही हिसाबले गर्ने भनेर निर्णय गरेका छौँ ।
- पोलिटब्युरो बैठकमा अध्यक्ष केपी ओली नैतिक आचरणको विषयमा कडा रूपमा प्रस्तुत हुनुभयो भनेर प्रचार विभाग प्रमुखले नै भन्नुभएको छ । के एमाले नेता कार्यकर्ताहरूमा नैतिक विचलन बढेको ठहर हो ?
यो विषयमा पार्टीको आम समस्या होइन । व्यक्तिगत रूपमा केही त्यस्ता घटना पनि देखिएका छन् । त्यो प्रवृत्ति आम रूपमा पार्टीमै झाङ्गिएको हो कि भन्ने पनि होइन तर पार्टीभित्र त्यस्तो प्रवृत्ति देखियो भनेर यदाकदा प्रश्न उठेको छ । यसलाई अध्यक्षले बैठक समापनमा सारसंक्षेपीकरण गर्दै राजनीति र मोजमस्ती सँगसँगै जान सक्दैन, त्यसकारण बाटो क्लियर गर्नुपर्छ भन्नुभएको हो ।
उहाँले भनेको कि राजनीति छोडेर मोजमस्तीमा लाग्नुपर्यो, कि मोजमस्ती छाडेर राजनीतिमा लाग्नुपर्यो भन्ने हो । यसलाई उहाँले कडा रूपमा उठाउनुभएको हो । र, उहाँले यदि पार्टीमा त्यस्ता गलत प्रवृत्ति रहन्छन् भने त्यो स्वीकार्य हुँदैन र अनुशासन कायम गरेर जानुपर्छ भनेर भन्नुभएको हो ।
- नैतिक आचरणको कुरामा अध्यक्ष त्यसरी कडा रूपमा प्रस्तुत हुनु भनेको पार्टीभित्र व्यक्ति पहिचान पनि भएको होला नै । अब त्यस्ता व्यक्तिले पार्टीमा स्थान पाउँदैनन् त ?
पार्टीभित्र अनुशासन आयोग छ । त्यो आयोगले त्यो खालका मुद्दा वा समस्या आइसकेपछि आवश्यक छानबिन गर्छ । छानबिनका क्रममा कोही पनि दोषी किटान भयो भने पार्टीले कारबाही गरेर अघि बढ्छ । अहिले पनि पार्टीभित्र त्यसखाले प्रवृत्ति, घटनाहरूका बारेमा छलफल गर्ने, छानबिन गर्ने र दोषका आधारमा दण्डित गर्ने भन्ने छलफल भएको छ । यसकारण अबदेखि अनुशासन आयोग पनि थप सक्रिय हुन्छ र कोही दोषी छ भने बच्न सक्दैन ।
- यसअघि एमालेले कार्यकर्ताको कामको मात्र मूल्याङ्कन गर्दै आएकोमा अब पार्टी कमिटीको पनि मूल्याङ्कन गर्ने भएछ । आखिर काम गर्ने व्यक्तिले नै हो किन कमिटीहरूलाई लगाम लगाउनुपर्ने अवस्था आयो ?
सामान्यतया पहिला पनि कमिटीको मूल्याङ्कन नै नभएको होइन । तर यसपटक कार्यकर्ताको मूल्याङ्कनको विषयमा अलि बढी नै छलफल गर्यौँ । जसमा हाम्रो कमिटीगत प्रणाली र कार्यकर्ता दुवैको मूल्याङ्कन हुनेगरी अगाडि बढौँ भनेको हो ।
प्रस्तावका रूपमा आएको विषयमा कमिटीगत प्रणाली पनि छँदैछ । जिम्मेवारीका रूपमा अध्यक्षले पदाधिकारीहरूको कामको मूल्याङ्कन र महासचिवले केन्द्रीय सदस्यहरूको कामको मूल्याङ्कन गर्ने, त्यसबाहेक तल्लो तहमा कमिटी प्रमुखहरूले आफ्नो कमिटीका सदस्यहरूको मूल्याङ्कन गर्ने ढंगले कुरा आएको छ । यसो गर्दा सामूहिकता नमरोस् भन्ने छ ।
- महासचिवले पोलिटब्युरो बैठकमा एक वर्षे कार्ययोजना प्रस्ताव गर्नुभयो । तर पोलिटब्युरोले निर्णय नगरी पुनः सचिवालयलाई जिम्मेवारी दिएको छ । के पोलिटब्युरो बैठकले कुनै निर्णय गर्न असक्षम भएको हो ?
त्यस्तो होइन, प्रस्तावमा छलफल भयो । छलफलका क्रममा धेरै विषय उठे । छलफलका क्रममा आएका सुझावहरूलाई अध्ययन गरेर सचिवालयबाट अघि बढाउने भनिएको हो । यसमा अन्यथा छैन र पोलिटब्युरो बैठकले निर्णय गर्न नसकेको कुरा पनि होइन । बरु पोलिटब्युरो बैठकको छलफलका क्रममा आएका र उठेका कुराहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा व्यवस्थापनको पक्ष सचिवालयले मिलाउने भनेकोमात्र हो, निर्णय त भइसकेको छ ।
- एमालेको एक कार्ययोजना कहिलेबाट कार्यान्वयनमा जान्छ त ?
निर्णय भएसँगै कार्यान्वयनमा गइसकेको छ । सचिवालयले तय गरेर पोलिटब्युरोमा छलफल गरेर निर्णय भएकाले अब सोही अनुसार हाम्रा पार्टी कार्यकर्ता र कमिटीहरू अघि बढ्छन् ।
- नेकपा एमालेले २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने भनेको छ, के यो निर्णयमा एमाले अडिग रहला या चुनावको मुखमा परिवर्तन गर्ला ?
पार्टी आफ्नो निर्णयमा अडिग छ, रहन्छ । एमाले कसैको वैशाखी टेक्दैन । आगामी चुनाव नेकपा एमाले एक्लै लड्छ र बहुमत प्राप्त शक्तिको रूपमा स्थापित हुन्छ । पोलिटब्युरो बैठकमा अध्यक्षले राजनीतिक सम्बोधनका क्रममा जे कुरा ल्याउनुभएको छ, त्यसमा बैठक एकमत पनि छ र यसले एमाले पंक्ति असाध्यै उत्साहित पनि भएको छ ।
आगामी चुनाव एक्लै लड्ने योजनाअनुसार संगठनात्मक रूपमा पनि तयारी थालिसकेको छ । यसमा कुनै शङ्का गर्नुपर्ने अवस्था छैन ।
- तर राजनीतिक पार्टीहरूले भन्ने एउटा र गर्ने अर्को गर्ने गरेको आम बुझाइ छ । यसपटक एमालेको हकमा त्यो लागु हुँदैन होइन ?
अभ्यासका क्रममा सम्मृद्ध भएर आएको विचार हो यो । यो विषयमा हामीले राष्ट्रिय परिषदको बैठकबाटै छलफल गरेर यहाँसम्म आएका हौँ । हामीले मात्र होइन, नेपाली कांग्रेसले पनि यसबारेमा निर्णय गरिसकेको छ । यसअर्थमा दुई वटा ठुला प्रतिस्पर्धी शक्तिले निर्णय गरिसकेको विषय भएकाले यसमा शङ्का नगरौँ, कार्यान्वयन भएर अघि बढ्छ । अब वैशाखीको पछि एमाले लाग्दैन ।
- नेकपा एमालेको आफ्नै नेतृत्वमा सरकारमा छ । तर पोलिटब्युरो बैठकले विभिन्न समसामयिक विषयमा सरकारसँग मागसमेत गरेको छ । यो देखाउनका लागि हो के हो ?
हामीले देखाउनका लागि ती प्रस्ताव पारित गरेका होइनौँ । देश र जनताका विभिन्न समस्या छन् । ती समस्या समाधान गर्नकै लागि अहिलेको सरकार बनेको हो । दुई वटा ठुला राजनीतिक पार्टी मिलेर बनेको सरकारको नेतृत्व नेकपा एमालेले गरेको छ । यस्तो अवस्थामा पार्टीको बैठक बस्दा देश र जनताका समस्याका बारेमा छलफल गर्नु स्वाभाविक हो ।
त्यसक्रममा हामीले पनि देश सामुन्ने रहेका आर्थिक, राजनीतिक, सामाजिक समस्यामा छलफल गर्यौँ र अब सरकार जनताका समस्यालाई सम्बोधन गर्नतर्फ लाग्नुपर्छ भनेर मार्गदर्शनका रूपमा पार्टी कमिटीले निर्णय गरेको हो । पार्टीले सरकार चलाउने भएकाले पनि सरकारका काम कारबाहीका विषयमा पार्टीले छलफल, निर्णय गर्न सक्छ । अहिले हामीले गरेको पनि त्यही हो ।
- पोलिटब्युरो बैठकमा सदस्यहरूले गठबन्धनको भविष्यबारे पनि प्रश्न उठ्यो भनिन्छ । प्रश्न उठेपछि अध्यक्षले ०८४ सम्म गठबन्धन टिक्छ भन्ने विश्वास दिलाउने प्रयत्न गर्नुभएछ । गठबन्धनका सवालमा आशङ्का व्यक्त भएको हो ?
एमाले पोलिटब्युरो बैठकमा गठबन्धनका बारेमा त्यो ढङ्गबाट कुनै चर्चा र छलफल भएन र त्यो आवश्यकता पनि छैन । बरु देशमा समस्या देखा परेका छन्, देखिएका समस्यालाई समाधान गर्दै अघि जाने हो भन्ने कुरा भएकोमात्र हो । सहकारी, दुध, किसान, अर्थतन्त्रलगायतका समस्या समाधान गरेर अघि जानुपर्छ भनेर छलफल भएको हो । गठबन्धनमा समस्या छ भन्ने हिसाबले छलफल भएको होइन । किनभने गठबन्धनमा कुनै समस्या छैन । कांग्रेसले सुस्पस्ट रूपमा निर्णय गरिसकेको र नेकपा एमाले पनि प्रतिवद्ध रहेको अवस्थामा यो गठबन्धन ०८४ सम्म जान्छ भनेर बुझ्नुपर्छ । तर गठबन्धनमा समस्या छ भनेर बाहिर जसरी चर्चा भएको छ, त्यसमा कुनै सत्यता छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
-
दसैँ नमनाउने ललितपुरको खोकनामा मनाइँदै सिकाली जात्रा
-
थप ५७ हिमाल आरोहणका लागि खुला
-
घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन
-
जनगुनासो नआउने गरी कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन
-
जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु