सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
समाचार

‘प्रहरीको सई हुँ’ भनेर ठगीधन्दा, १६ जिल्लाका १८ जनाबाट लाखौँ असुली

यसरी खुलेको थियो, ठगीधन्दाको रहस्य
मङ्गलबार, २५ भदौ २०८१, १७ : ४४
मङ्गलबार, २५ भदौ २०८१

सुर्खेत । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको ‘सई हुँ’ भन्दै ठगीधन्दा मच्चाउने दुई जनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुराँस गाउँपालिका–६, का २७ वर्षीय विकास बिसी र बाँकेको राप्ति सोनारी गाउँपालिका–७, लालपुरका ३६ वर्षीय लोकबहादुर खाण रहेका छन् । 

उनीहरुले ‘प्रहरीको सई हुँ’ भन्दै विभिन्न जिल्लाका व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरेको पाइएको छ । लामो अनुसन्धानपछि प्रहरीले बिसीलाई भदौ ३ गते बेलुकी उनकै गाउँबाट पक्राउ गर्न सफल भएको थियो भने खाणलाई भदौ १८ गते राती सुर्खेतको लेकबेशी नगरपालिका–२, को दशरथपुरबाट पक्राउ गरिएको हो ।  

खाणलाई पक्राउ गर्नका लागि दैलेख प्रहरीको समन्वयमा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।

यस्तो छ, उनीहरूको ठगीधन्दाको फेहरिस्त

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीका अनुसार अहिलेसम्मको अनुसन्धानबाट दुईजनाले १८ जनालाई ठगेको खुलेको छ । 

ठगिनेमा दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके गरी १६ जिल्लाका रहेका छन् ।  

ठगीधन्दाका प्रमुख योजनाकार बाँकेका खाण हुन् । उनकै योजनामा विभिन्न जिल्लामा ठगीधन्दा चलेको प्रहरीको अनुमान छ । बिसी भने बिचमा आएर जोडिएका हुन् ।

१८ जना व्यक्तिबाट ‘प्रहरीको सई हुँ मुद्दा मिलाइदिन्छु’ भनेर खाणले ५ लाख ६ हजार ५३५ रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

खाणले विभिन्न मुद्दाका पीडित तथा पीडकहरूलाई जालमा पार्ने र रकम असुल्ने गरेका थिए । प्रहरी निरीक्षक चौधरी भन्छन्, ‘खाणले विभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परीक्षणको क्रममा संकलन भएको स्वाब परीक्षण प्रतिवेदन चाँडो झिकाई मुद्दा मिलाइदिने र मानिस छुटाई दिन्छु भनेर प्रलोभनमा पार्ने रहेछन् ।’ 

उनका अनुसार खाणले मानिसहरूलाई आफ्नो परिचय नै फरक दिने गरेका थिए  । खाण र बिसी दुबैले परिचय दिँदा पूर्णबहादुर देउवा र विनोद खाण बताउने गरेका थिए ।

उनीहरुले ९७******** नम्बरबाट पीडित तथा पीडकहरूलाई सम्पर्क गर्ने र परीक्षण प्रतिवेदन चाँडो पठाइदिन्छु रकम जम्मा गर भनेर भन्ने गरेको प्रहरीले जनाएको छ ।  

व्यक्तिहरूलाई फोन लोकबहादुर खाणले गर्ने गरेको प्रहरीको भनाइ छ । उनले ‘म विधि विज्ञान प्रयोगशालाको प्राविधिक प्रहरी नायव निरीक्षक (सई) हुँ तपाईँको परीक्षण प्रतिवेदन पठाई दिन्छु, र तपाईँको मान्छे कारागार कार्यालयबाट छुटाइदिन्छु’ भन्ने गरेको प्रहरीले बताएको छ । त्यसपछि आफ्नो आफन्त र चिनजानका व्यक्तिहरूको खाता नम्बर दिने र सोही खातामा रकम जम्मा गर्न लगाउने गरेको प्रहरीले जनाएको छ ।  

यसरी खुलेको थियो रहस्य 

दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, का खगेन्द्र अधिकारी जबरजस्ती करणी मुद्दामा दैलेख कारागारमा छन् । उनको परीक्षण प्रतिवेदनको लागि साउन २५ गते बिहानको समयमा पूर्णबहादुर देउवा नाम बताउने (लोकबहादुर खाण)ले ९७******** नम्बरबाट खगेन्द्रकी आमाको नम्बरमा फोन गर्छन् । उनले ‘म  विधि विज्ञान प्रयोगशालाको सई हुँ, तपाईँको छोराको परीक्षण प्रतिवेदन पठाइदिन्छु, मेरो लेखापालको खातामा पैसा जम्मा गर्नुहोस्’ भनेर भनेको प्रहरी अनुसन्धानले देखाएको छ ।   

खाणले मेरो लेखापाल भनेर विकास बिसीको एनएमबी बैँकको खाता नम्बर उपलब्ध गराउँछन् । यहीबाट हुन्छ, खाणसँग दैलेख गुराँसका बिसीको सम्बन्ध । खगेन्द्रकी आमाले पनि आफ्नो छोराको उक्त परीक्षण प्रतिवेदन छिटो पठाइदेलान् भन्ने विश्वासका साथ भतिज नाता पर्ने छिमेकी केशव भट्टराईलाई पैसा जम्मा गर्न लगाउँछिन् ।

एक अनुसन्धान अधिकृतका अनुसार खगेन्द्रकी आमाको आग्रहमा भट्टराईले बिसीको खातामा ५८ हजार २३५ रुपैयाँ जम्मा गर्छन् । तर परीक्षण प्रतिवेदन आउँदैन । लामो समयसम्म कुर्दापनि खाणले परीक्षण प्रतिवेदन पठाएनन् । त्यसपछि खगेन्द्रकी आमा र उनका आफन्तले ठगी गरेको हुनसक्ने आंशका गरे । र, परीक्षण प्रतिवेदन पठाइदिन्छु भनेर ठगी गरेको भन्दै कानुनी कारबाहीका लागि प्रहरीमा जाहेरी दिए । 

त्यसपछि प्रहरीले अनुसन्धान गर्दा खाणले देशभरिनै यस्तो ठगी धन्दा गरेको रहस्य खुल्छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सत्यनारायण चौधरीका अनुसार अहिले दुबैजनालाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । 

प्रहरीले यसको सञ्जाल अझै हुनसक्ने आशंका गरेको छ भने त्यसतर्फ पनि अनुसन्धान अघि बढिरहेको चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप