म्यानचेस्टर सिटीमाथि लागेको ११५ आरोपको विषयमा सुनुवाइ आजदेखि
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लङ्घन गरेको आरोपमा म्यानचेस्टर सिटीमाथि लगाइएका एक सय १५ वटा आरोपको विषयमा सोमबारदेखि औपचारिक रूपमा सुनुवाइ सुरु हुने भएको छ ।
प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीमाथि आर्थिक नियम उल्लङ्घन गरेको आरोप लागेपछि चार वर्षसम्म छानबिन गरिएको थियो । त्यसपछि सन् २०२३ मा थप सुनुवाइका लागि स्वतन्त्र आयोगमा पठाइएको थियो ।
म्यानचेस्टर सिटीले सन् २००९ देखि सन् २०१८ को बिचमा प्रिमियर लिगको आर्थिक नियमहरू उल्लङ्घन गरेको आरोप लगाइएको छ । म्यानचेस्टर सिटीले भने आफूमाथि लगाइएको सबै आरोपलाई अस्वीकार गर्दै आएको छ ।
प्रिमियर लिगले म्यानचेस्टर सिटीमाथि क्लबको वास्तविक वित्तीय जानकारी लुकाएको आरोप पनि लगाएको छ । क्लबमाथि प्रायोजन र अन्य गतिविधिबाट आर्जन गर्ने आफ्नो आयको वास्तविक जानकारी उपलब्ध नगराएको आरोप पनि छ ।
यसका अतिरिक्त म्यानचेस्टर सिटीमाथि निष्पक्ष छानबिनमा सहयोग नगरेको आरोप समेत लगाइएको छ । प्रिमियर लिगले आफूविरुद्ध छानबिन अगाडि बढाएदेखि नै म्यानचेस्टर सिटीले हरेक आरोपलाई अस्वीकार गर्दै आएको छ ।
जर्मन समाचारपत्र डर स्पाइगलले अनधिकृत रूपमा आफ्नो ई–मेल ह्याकिङ गरेको आरोप पनि म्यानचेस्टर सिटीले लगाएको छ । म्यानचेस्टर सिटीले आर्थिक नियम उल्लङ्घन गरेको विषयमा सबैभन्दा पहिले सोही समाचारपत्रले विस्तृत समाचार प्रकाशित गरेको थियो ।
सन् २००८ मा आबुधाबी युनाइटेड समूहले स्वामित्व ग्रहण गरेयता म्यानचेस्टर सिटीले आठ वटा लिग उपाधि र च्याम्पियन्स लिगको उपाधि जितेको छ । ‘छिट्टै नै सुनुवाइ सुरु हुनेछ र त्यसको नतिजा पनि छिट्टै सार्वजनिक हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ,’ म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन् ।
सुनुवाइ आगामी १० सातासम्म चल्ने अनुमान गरिएको छ । सुनुवाइ सकिएपछि पनि तत्कालै फैसला सार्वजनिक हुने छैन । सुनुवाइ सकिएको केही समयपछि फैसलाको मिति तोकिने समाचारमा जनाइएको छ । यो विवाद सुरु भएको लामो समय बितिसकेको छ र यसबिचमा दुवै पक्षको गरेर एक करोड पाउन्डभन्दा बढी रकम खर्च भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण