सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय

जसपा नेपालले संविधान दिवसको विरोध गर्ने

बुधबार, ०२ असोज २०८१, १२ : ५१
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा असोज ३ गते मनाउने संविधान दिवस, चार महिने अभियानलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सो पार्टीले भदौ ९ गतेदेखि चार महिने साङ्गठनिक अभियान चलाइरहेको छ । प्रत्येक प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको छ । अहिले पालिका र जिल्लाहरूमा कार्यक्रम जारी रहेको छ । बैठकमा त्यसको समीक्षा गर्नुका साथै असोज ३ गतेको संविधान दिवसबारे पनि छलफल गर्ने बताइएको छ ।

सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले संविधान दिवसको विरोध गर्ने बताए । असोज ३ गते संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि विभिन्न प्रकारका कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि दबाब दिने समेत उनले बताए ।

संविधानको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन लगायत विषयलाई समेट्नुपर्ने उनले बताए ।

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोह लगायतका आन्दोलनमा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई समेत उपेक्षा गरिएको बताउँदै अध्यक्ष यादवले संविधानसभामा समेत छलफल नै नगराई जबरजस्ती सरकारले जनतामाथि दमन गरी जारी गरिएको संविधान विभेदकारी र त्रुटिपूर्ण रहेको दाबी गरे ।

यो संविधानले मधेसी, आदिवासी जनजाति, दलित÷शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदायहरूका साथै उत्पीडित जात÷जाति एवम् समुदायहरूले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको बताउँदै उनले संविधानमा सङ्घीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरू पनि अधुरो र अपूर्ण भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप