सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
सहकारी प्रकरण

लामिछानेविरुद्ध पूरक अभियोग लैजाने प्रहरीको तयारी

शुक्रबार, ०४ असोज २०८१, १८ : ४९
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा लामिछानेविरुद्ध प्रमाण संकलन गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीलाई भनेको छ । 

संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’ दिइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका हुन् । सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिले संसदमा बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेद्रबावु (जीबी)राई, सदस्य कुमार रम्तेल तथा प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा चल्ने भएको छ ।

सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेका थिए । अहिले उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन् । सुर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा यसअघि नै अदालतमा मुद्दा दर्ता भइसकेको छ । थप अनुसन्धान गर्दा रकम हिनामिनामा संलग्न देखिएकाहरूलाई पूरक अभियोग लैजान मिल्ने कानुनी व्यवस्था छ ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । सुर्यदर्शन सहकारीका संचालकहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जनाले रकम हिनामिना गरेको भन्दै जाहेरी दिएका थिए ।

सहकारीका पूर्वअध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । उनी अहिले फरार छन् । सुर्यदर्शनको १ अर्ब ८ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप