'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
सारांश
- डा. जगत नेपालले बीपी कोइरालाका बारेमा 'बीपीको विद्रोह' र 'पहिलो संसद्' जस्ता पुस्तकहरू लेखेका छन् र 'राजद्रोही राजनेता' नामक वृत्तचित्र पनि निर्माण गरेका छन्।
- बीपी कोइराला नेपाली राजनीतिको एक युगपुरुष र निष्ठावान् नेता थिए जसको योगदान नेपाली जनताले अझै पूर्ण रूपमा बुझ्न नसकेको डा. नेपालले बताए।
- बीपी कोइरालालाई राजसंस्था हटाएर गणतन्त्रको पहिलो राष्ट्रपति बन्ने प्रस्ताव आए पनि उनले नेपालको स्थायित्वलाई ध्यानमा राखेर सो प्रस्ताव अस्वीकार गरेका थिए।
पत्रकार, लेखक, अनुसन्धानकर्ता तथा वृत्तचित्र (डकुमेन्ट्री) निर्माता डा. जगत नेपालले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाबारे ’बीपीको विद्रोह’ र ’पहिलो संसद्’ जस्ता पुस्तकहरू लेखेका छन् । बीपीमाथि उनले निर्माण गरेको 'राजद्रोही राजनेता’ वृत्तचित्र नेपालमा मात्र नभई विदेशमा पनि प्रदर्शन भयो । उनले लामो समयदेखि बीपीसँग सङ्गत गरेका नेता, पत्रकार र राजनीतिज्ञहरूलाई भेटेर उनीहरूका कुराकानी टेप रेकर्ड गरेका थिए । हालै संसद् सचिवालयले जगतका 'सल्लाहकार सभाका विविध आयाम’ र 'नेपालको संसदीय इतिहासका प्रतिनिधिमूलक कथाहरूको सङ्गालो’ गरी दुईवटा पुस्तक प्रकाशित गरेको छ । आज बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा पत्रकार तथा लेखक डा. जगत नेपालसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईंले बीपी कोइरालाबारे 'बीपीको विद्रोह’, 'पहिलो संसद्’ जस्ता किताब लेख्नुभयो । उहाँमाथि 'राजद्रोही राजनेता’ डकुमेन्ट्री पनि बनाउनुभयो । स्मृति दिवसमा उहाँलाई कसरी सम्झिनुहुन्छ ?
–बीपी कोइराला नेपाली राजनीतिको यस्तो राजनेता र साहित्यकार हुनुहुन्छ, जसको योगदान सायद नेपाली जनताले अझै पूर्ण रूपमा बुझ्न पाएका छैनन् । कान्तिपुर छाडेपछिका पछिल्ला ५–७ वर्षमा मैले उहाँका बारेमा अझ गहिराइमा अध्ययन गर्ने अवसर पाएँ ।
उहाँका जति प्रकाशित दस्तावेजहरू छन्, त्योभन्दा कैयौँ गुणा बढी अप्रकाशित छन्, जुन मैले स्वयं हेर्न पाएको छु । यस हिसाबले हेर्दा बीपी त्यो समयले जन्माएको एउटा युगपुरुष र राजनेता हुनुहुन्छ । उहाँ देशका लागि केही गर्नैपर्छ भन्ने तीव्र हुटहुटी भएको र ब्रिटिस इन्डियामा उच्चस्तरीय अध्ययन तथा ग्रुमिङ भएर हुर्किनुभएको निष्ठावान् नेता हुनुहुन्थ्यो । धेरै नेपालीले उहाँलाई पढ्नु र बुझ्नुपर्छ जस्तो मलाई लाग्छ ।
लामो समय तपाईंले संसदीय मामिला र नेपाली कांग्रेसको रिपोर्टिङ गर्नुभयो । आजका दिनमा नेपाली कांग्रेसभित्रै एक किसिमको विवाद र द्वन्द्व छ । बीपीका नाममा औपचारिक कार्यक्रम गरे पनि नेताहरूले साँच्चिकै बीपीको विचार र भावनालाई आत्मसात् गरेजस्तो लाग्छ?
यसलाई मैले दुईवटा दृष्टिकोणले हेर्छु । पहिलो कुरा, बीपीको जमाना नै फरक थियो । त्यो बेला निष्ठा, आदर्श र सिद्धान्तको समय थियो । उहाँले भारतमा नेहरू, गान्धी र राजेन्द्र प्रसादको सङ्गतमा राजनीति गर्नुभयो ।त्यो समय मानिसमा झूट बोल्नुहुन्न र सेवा गर्नुपर्छ भन्ने भावना थियो । तर आज जमाना फेरिएको छ । मानिसहरू कमाउन र शक्तिको प्रयोग गर्नका लागि राजनीतिमा जाने स्थिति बनेको छ । त्यसैले बीपीको समय र अहिलेको समयबीच ठूलो भिन्नता छ ।
बीपी मात्र होइन, मनमोहन अधिकारी, पुष्पलाल, गणेशमान सिंह जस्ता नेताहरूले समाजलाई दिनु मात्र भयो । सुवर्ण शमशेरले त देशका लागि आफ्नो सर्वस्व सम्पत्ति नै सिद्ध्याइदिनुभयो । तर आज राज्यलाई के दिने भन्दा पनि राज्यबाट के लिने भन्ने प्रतिस्पर्धा छ । त्यसैले हिजो र आजको तुलना नै हुन सक्दैन ।
आज नेपालमा राजनीति गर्ने सबै पार्टी र व्यक्तिहरूले रोल मोडल त बीपी कोइरालालाई नै भन्छन्, तर उनीहरू बीपी जस्तो बन्न सक्ने स्थितिमा छैनन् । समय धेरै अगाडि बढिसकेको छ । चाहेर पनि कतिपय कुरा हुन सक्दैनन् कि? त्यसैले हचुवाका भरमा 'यो भएन’ भन्नुभन्दा पनि त्यसका लागि उपयुक्त वातावरण छ कि छैन भनेर बुझ्नुपर्छ जस्तो लाग्छ ।
बीपीले नरेश कोइराला र अन्य युवाहरूलाई ‘मलाई च्यालेन्ज गर’, ‘प्रश्न गर’ भन्दै युवा पुस्ताको माझमा जाने गर्नुहुन्थ्यो । तर आजका दिनमा कुनै प्रधानमन्त्री, मन्त्री वा नेतालाई प्रश्न गर्यो भने रिसाउँछन्, भेट्न र बोल्न दिँदैनन्; प्रेस र जनताबाट टाढा रहन्छन् । बीपीले युवाहरूलाई ‘च्यालेन्ज गर’ भनेको प्रसङ्गबारे अलि बताइदिनुस् न ।
आज अति नै रोचक समयमा तपाईंले यो प्रश्न सोध्नुभयो । हामी यहाँ चक्र बास्तोला दाइको एउटा पुस्तक विमोचन कार्यक्रममा छौँ । त्यो समय यस्तो थियो कि' जसले बीपीसँग शास्त्रार्थ वा वादविवाद (डिबेट) गर्न सक्थ्यो, उसको सम्मान हुन्थ्यो । त्यतिबेला चक्र बास्तोला र प्रदीप गिरिजस्ता सशक्त, होनहार र बौद्धिक युवाहरू बीपीसँग अनेकौँ विषयमा बहस गर्न सक्थे । बीपी कोइरालाका बारेमा हाम्रो टोलीले गरेका अन्तर्वार्ताहरूको झन्डै ३८ टेराबाइट सामग्री सुरक्षित छ ।

हामीले पुराना धेरै व्यक्तित्वहरूसँग कुराकानी गर्यौँ, जसमध्ये धेरैजसो बितिसक्नुभएको छ । तीमध्ये एकजना भैरव रिसाल हुनुहुन्छ । उहाँ त्यो बेला कम्युनिस्ट पार्टीमा हुनुहुन्थ्यो । बीपी कोइरालाको आलोचना गर्ने गरेकै कारण उहाँले सधैँ भैरव रिसालको हेरविचार गर्नुभयो, किनभने आलोचित मानिसहरू सधैँ नजिक हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।
अर्को प्रसङ्ग मदनमणि दीक्षितको हो । उहाँ पनि कम्युनिस्ट पार्टीकै मान्छे हुनुहुन्थ्यो । मदनमणिलाई 'अब समर्थन मात्र गरेर पुग्दैन, समीक्षा गर्नुपर्छ’ भनेर बीपी कोइरालाले प्रतिमहिना ६०० रुपैयाँ आर्थिक सहयोग दिएर ’समीक्षा’ पत्रिका निकाल्न लगाउनुभएको थियो । त्यसैले त्यो जमानामा आलोचना गर्नु आफैँमा ठूलो कुरा मानिन्थ्यो ।
तपाईंले नरेश कोइरालाको प्रसङ्ग निकाल्नुभयो । सन् १९७० मा नरेश कोइराला हङकङ सरकारको डेभलपमेन्ट एड्भाइजर भएर हङकङ जानुभयो । बीपी अमेरिकाबाट उपचार गराएर त्यहाँ बस्नुभएको थियो । त्यसबेला नरेश कोइरालाले सोध्नुभएको थियो, 'बीपी, तपाईं सत्तामा आउँदै हुनुहुन्छ, तपाईं सत्तामा आउनुभयो भने हामीजस्ता युवाको भूमिका के हुन्छ?'
बीपीले भन्नुभएको थियो, “तिमीजस्ता युवाहरू जहिले पनि मेरो प्रतिपक्ष (अपोजिसन) मा बस्नुपर्छ ।” तर अहिले खासगरी राजनीतिक तहमा असहिष्णु व्यवहार छ । सबैले आफ्नो समर्थन मात्र गरून्, विरोधमा नबोलून् भन्ने चाहन्छन् । विरोधमा बोल्नेमाथि आक्रमण गर्ने शैली छ, जसले प्रजातन्त्रलाई कमजोर बनाइरहेको छ । यसले छलफल र बहुलवादलाई पनि कमजोर पारिरहेको छ ।
साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ’समीक्षा’ पत्रिकाको प्रभाव त्यति बलियो थियो । ’समीक्षा’ पत्रिका निकाल्न बीपी कोइराला सरकारले ६०० रुपैयाँ दिन्थ्यो । उहाँले कति समयसम्म त्यो आर्थिक सहयोग गर्नुभयो ?
यो निकै रोचक छ । मैले 'पहिलो संसद्’ पुस्तक लेख्दा मदनमणि दीक्षितसँग अन्तर्वार्ता लिएको थिएँ । उहाँको 'व्यक्तित्वको खोजी’ भन्ने एउटा स्तम्भ रहेछ । पहिलो अङ्कमा उहाँले टङ्कप्रसाद आचार्य र दोस्रोमा बीपीको बारेमा लेख्नुभएको थियो । मदनमणिजीले बीपीका बारेमा तथ्यहीन आरोप लगाउनुभएछ । त्यसपछि बीपीले त्यो आर्थिक सहयोग बन्द गरिदिनुभयो; किनभने 'तपाईंलाई समीक्षा गर्न सहयोग दिएको हो, तथ्यविपरीत लेख्न होइन' भन्नुभएछ । बीपी कोइराला यति आकर्षक हुनुहुन्छ कि युवतीहरू उहाँलाई देखेर भागिसक्छन् भन्ने प्रसङ्ग मदनमणिजीले लेख्नुभएको रहेछ । पछि त्यो गलत थियो भनेर मदनमणि दीक्षितले मलाई स्वीकार गर्नुभएको थियो, जसको अडियो पनि मसित सुरक्षित छ ।

तपाईंले बीपीका बारेमा 'राजद्रोही राजनेता’ वृत्तचित्र बनाउनुभयो, पुस्तकहरू पनि लेख्नुभयो । थुप्रै रोचक अनुभूतिहरू होलान् । वृत्तचित्र निर्माणको अनुभव सुनौँ न– कति समय लाग्यो र कस्ता–कस्ता पात्रहरूलाई भेट्नुभयो ?
यो धेरै रोचक छ । खासमा वृत्तचित्र बनाउनका लागि मैले नै दृश्यहरू खिचेको थिएँ, सबै पात्रहरूलाई क्यामेरामा उतारेँ । तर वृत्तचित्र निर्माणका लागि ठुलो वित्तीय सहयोगको आवश्यकता पर्थ्यो । सुरुमा 'बीपीको विद्रोह’ पुस्तक प्रकाशित भयो, त्यसपछि वृत्तचित्र बन्यो । हामीलाई यो वृत्तचित्र बनाउन झन्डै ६ वर्ष लाग्यो । वृत्तचित्र तयार भइसक्दा यसका कतिपय पात्रहरूको निधन भइसकेको थियो । दरबारका खनाल थरका एकजना सचिव हुनुहुन्थ्यो, उहाँको अन्तर्वार्ता लिनुपर्ने थियो । तर दरबारका मानिसहरू बोल्न मान्दैनथे ।
पछि मैले उहाँको छिमेकीमार्फत घरमै पुगेर अन्तर्वार्ता लिएँ । संयोगवश, मेरो जीवनमा कहिल्यै नभएको घटना घट्यो– त्यो अन्तर्वार्ता रहेको मेमोरी चिप क्र्यास भयो ! मैले ब्याकअप अडियो राखेको थिएँ, तर त्यो अडियो पनि फ्रिज भयो । मलाई सबैभन्दा बढी दुःख लागेको घटना यही हो, मैले त्यो अन्तर्वार्ता गुमाएँ । त्यसैले पत्रकारले जहिले पनि बलियो ब्याकअप राख्नुपर्छ । मैले दुई वा तीन वटा क्यामेरा राख्न सक्थेँ, तर राखिनँ । यद्यपि, इतिहासको एउटा महत्त्वपूर्ण कालखण्डलाई अभिलेखबद्ध गर्न सकेकोमा मलाई खुसी लाग्छ ।
बीपी २०३३ सालमा नेपाल फर्केपछि जनमत सङ्ग्रह घोषणा हुँदाको अर्को प्रसङ्ग छ । पद र प्रतिष्ठाका लागि आज नेताहरू जसरी सम्झौता गरिरहेका छन्, बीपी कोइरालालाई भने त्यतिबेलै राजसंस्था हटाएर गणतन्त्रको पहिलो राष्ट्रपति बन्न प्रस्ताव गरिएको थियो । तर उहाँले त्यसलाई अस्वीकार गर्नुभयो । बीपी त्यसै बीपी हुनुभएको होइन ।
'कुनै विदेशीको लहलहैमा लागेर म आफू राष्ट्रपति हुने नाममा यत्रो स्थापित संस्थालाई हटाएँ भने भोलि उनीहरूको कुरा नमानीकन मलाई १ सेकेन्डमै हटाइदिन्छन्, त्यसबेला नेपालको स्थायित्व के हुन्छ ?' भनेर बीपीले उल्टै प्रश्न गर्नुभएको थियो ।
भर्खरै संसद् सचिवालयले तपाईंका दुईवटा पुस्तकहरू 'सल्लाहकार सभाका विविध आयाम’ र ’नेपालको संसदीय इतिहासका प्रतिनिधिमूलक कथाहरूको सङ्गालो’ प्रकाशित गरेको छ । यी पुस्तकहरूमा हामी बीपीलाई कसरी भेट्न सक्छौँ ?
यी दुवै पुस्तकमा सल्लाहकार सभाको प्रसङ्ग छ । सल्लाहकार सभा भनेको २००७ सालपछि नेपालमा संविधान सभाको चुनाव नहुँदासम्म संसद्को काम गर्नका लागि बनाइएको एउटा संरचना थियो । २००८, २०११ र २०१५ साल गरी तीन वटा सल्लाहकार सभा बनेका थिए । २०१५ र २००८ सालको सल्लाहकार सभामा बीपी आफैँ सदस्य हुनुहुन्थ्यो र उहाँले थुप्रै महत्त्वपूर्ण विषयहरू उठाउनुभएको छ ।
तर यो पुस्तकमा ती विषयबारे सामान्य जानकारी मात्र समावेश छ ।
मेरो अर्को पुस्तक 'नेपाली संसद्ः बुद्धकालदेखि सल्लाहकार सभासम्म’ तयार हुँदैछ, त्यसमा विस्तृत विवरण छ । जहाँ संविधान सभाको चुनाव गराउने विषयमा सल्लाहकार सभामा एउटा प्रस्ताव पारित हुन्छ, त्यसको विपक्षमा बीपीले सशक्त आवाज उठाउनुभएको छ । किनभने त्यो बेला दरबारको खेल थियो । प्रजातन्त्रलाई अस्थिर बनाउन कस्ता खेलहरू भइरहेका थिए र बीपीले त्यसलाई कसरी सामना (ट्याकल) गर्नुभएको थियो भन्ने कुरा त्यहाँ देख्न सकिन्छ ।

अर्को प्रसङ्ग' बीपीको 'पहिलो संसद्’को कथासँग जोडिएको छ । त्यो हेर्नुभयो भने तत्कालीन अवस्था कस्तो थियो भन्ने बुझ्न सकिन्छ । नेपालमा संसद् कसरी विकसित हुँदै आयो र ब्रिटिस मोडलको संसदीय अभ्यास के हो भन्ने बुझ्न यी दुई पुस्तक निकै सहयोगी हुनेछन् ।
बीपीमाथि तपाईंको थप नयाँ पुस्तक वा वृत्तचित्र आउँदै छ कि?
अहिले तत्काल त छैन । यतिबेला मेरो ध्यान संसद्मै केन्द्रित छ । राष्ट्रिय पञ्चायतका बारेमा एउटा काम गर्दैछु, त्यसपछि संसद्कै विषयमा थप काम गर्ने सोच छ । तर हामीकहाँ अर्काइभ अड्याउने परिपाटी छैन र स्रोत–साधनको पनि अभाव छ । सबै काम व्यक्तिगत तवरले नै गर्नुपर्छ । त्यसैले अहिले नै निश्चित रूपमा भन्न सक्दिनँ, तर प्रयास जारी छ ।
आज बीपीको ४४औँ स्मृति दिवसका अवसरमा के भन्न चाहनुहुन्छ?
बीपी कोइराला एक असाधारण व्यक्तित्व हुनुहुन्थ्यो । २००३ सालमै उहाँलाई क्यान्सर भयो । क्यान्सर भएपछि नै उहाँलाई पार्टी खोल्नुपर्छ भन्ने लाग्यो । उहाँको मृत्युको मिति तोकिँदासमेत गणेशराज शर्मासँग आफ्नो जीवनी रेकर्ड गराउनुभयो । उहाँ कहिल्यै निराश हुनुभएन, सधैँ अगाडि बढिरहनुभयो । उहाँमा उच्च इमानदारिता थियो । उहाँ जम्मा १८ महिना मात्र प्रधानमन्त्री हुनुभयो । नेपालमा धेरै प्रधानमन्त्रीहरू भए, तर सबै मानिस किन बीपीजस्तै बन्न खोज्छन् ? त्यसैले उहाँको जुन योगदान छ र उहाँले जे दिनुभयो, त्यसैबाट प्रेरणा लिएर नेपालको राजनीतिलाई नैतिकता र इमानदारिताको बाटोमा लैजान सक्यौँ भने नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण