सुदूरपश्चिम प्रदेशसभा : बजेटमाथिको छलफल सुरु

कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले तत्कालीन सरकार अल्पमतमा परेपछि उत्पन्न विशिष्ट परिस्थितिले प्रदेशमा बजेट शून्यताको अवस्था देखिएको र सो अवस्था हटाउन सरकारले अर्को बजेट ल्याउनुपरेको बताए ।
बजेटमाथिको छलफलमा भाग लिने सत्ता र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले न्यायोचित ढङ्गले बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । छलफलमा सत्तापक्षका विक्रमसिंह धामी, चक्रबहादुर मल्ल, जानकी ऐर बम, खुशिराम डगौरा थारू, प्रतिपक्षका अक्कलबहादुर रावल, गीतादेवी माल, खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशीले भाग लिएका छन् ।
राप्रपाकी खेमादेवी विष्टले सरकार र जनप्रतिनिधिलाई कुनै ठाउँमा ‘चोर रहेछन् भन्ने गरिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) का धर्मराज पाठकले नियमापत्ति जनाएका थिए ।
पाठकले ‘चोर’ शब्द असंसदीय रहेकाले यसलाई रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभएपछि सभामुख भीमबहादुर भण्डारीले बोलिएको शब्दका बारेमा छानबिन गरेर आवश्यक परेमा हटाउने जानकारी गराएका थिए ।
यसअघि आर्थिक मामिलामन्त्री थापाले बजेटमाथि सभामा छलफल गरियोस् भनेर प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
सरकारले गत भदौ ३१ गते आव २०८१–८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको थियो । तत्कालीन मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गएको असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा सामान्य हेरफेर एवं परिमार्जन गरेर हालको सरकारले अर्को बजेट ल्याएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र दिपक सिंहलाई रिहा गरिँदै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी