आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
व्यवसाय

लुम्बिनीमा १२ करोडभन्दा बढी मूल्यको सयपत्री फूल उत्पादन

प्लास्टिकका मालामा विभिन्न स्थानीय तहले रोक लगाएपछि फूल उत्पादक किसान दङ्ग
शुक्रबार, १६ कात्तिक २०८१, ०६ : ५३
शुक्रबार, १६ कात्तिक २०८१

बुटवल । लुम्बिनी प्रदेशमा यो वर्ष १२ करोड ३४ लाख रुपैयाँभन्दा बढी मूल्यको सयपत्री फूल उत्पादन भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत सुनैना बराइलीका अनुसार यो वर्ष प्रदेशमा ३ लाख ८ हजार ५ सय किलो सयपत्री फूल उत्पादन भएको हो ।

प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको तथ्याङ्क अनुसार प्रदेशमा प्रतिरोपनी ६ सय किलो फूल उत्पादन भएको छ । प्रदेशमा यो वर्ष २५.७२ हेक्टर क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती र करिब १० कट्ठा क्षेत्रफलमा मखमली खेती भएको छ ।

सयपत्री फूलको व्यावसायिक खेतीका लागि दाङ लुम्बिनी प्रदेशकै अग्रणी जिल्ला बनेको छ । निर्देशनालयको तथ्याङ्क अनुसार दाङमा ६.३८ हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएको छ । यस्तै कपिलवस्तुमा ६ हेक्टर, रुपन्देहीमा४.३० हेक्टर, गुल्मीमा २.७८ हेक्टर, पाल्पामा १.८८ हेक्टरमा व्यावसायिक सयपत्री खेती गरिएको हो ।

बर्दिया जिल्लामा १.२५ हेक्टर, अर्घाखाँचीमा ०.८५ हेक्टर, रुकुम पूर्वमा ०.०५ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको छ । रोल्पामा ०.१८ हेक्टर, बाँकेमा १.०७ हेक्टर, प्युठानमा ०.४० हेक्टरमा सयपत्री खेती गरिएको छ ।

बुटवल उपमहानर–१५, चम्कीपुरमा राजेश कुँवरले १० कट्टा जग्गामा सयपत्री फूलको खेती गरेका थिए । विगत ५ वर्षदेखि फोकस मल्टी एग्रो एण्ड रिसर्च सेन्टर स्थापना गरेर फूल खेती गदै आएका कुँवरलाई अहिले बजारको चिन्ता छैन ।

खासगरी भारतबाट आयात हुने प्लास्टिकका माला र फूल भित्रिन तथा बिक्री वितरणमा कडाइ गरेपछि स्वदेशी फूलले सहजै बजार पाएको कुँवर बताउँछन् ।

बुटवलको ट्राफिक चोकमा उपमहानगरले फूल बिक्री गर्ने स्थान उपलब्ध गराएको उनले बताए । उपमहानगरले स्वदेशमै उत्पादित फूलको माला प्रयोग गर्न र भारतबाट आउने प्लास्टिकका माला प्रयोग नगर्न निर्देशन जारी गरेका कारण पनि स्वदेशी फूलले बजार पाएको उनको भनाइ छ ।

2

कुँवरले आफ्नो बारीमा उत्पादन भएको फूल बिक्री भइसकेको बताए । अब गुल्मी, अर्घाखाँची र दाङबाट ल्याएको फूलका माला बिक्री गर्ने उनको भनाइ छ ।

लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहले प्लास्टिकका माला प्रयोग नगर्न आग्रह गरेका छन् । प्लास्टिकका मालाले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै विभिन्न स्थानीय तहले प्राकृतिक फूलकै प्रयोगमा जोड दिएका हुन् ।

लुम्बिनी प्रदेशका बुटवल उपमहानगरपालिका, पाल्पाको रामपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाले प्लास्टिकको माला बिक्रीमा रोक लगाएका छन् ।

स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा प्लास्टिकका मालाका लागि ठुलो रकम बाहिरिने भएकाले प्राकृतिक फूलका मालामात्र प्रयोग गर्न नगर कार्यपालिकाले आग्रह गरेको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बताए ।

12

‘हाम्रा किसानले उत्पादन गरेका फूलले बजार नपाउने तर भारतीय प्लास्टिकका माला धमाधम बिक्री हुने अवस्था नियन्त्रण गर्न यस्तो आग्रह गरिएको हो,’ उनले भने ।

पाल्पाको रामपुर नगरपालिकाले एक सूचना प्रकाशित गरी स्थानीय फूलका माला प्रयोग गर्न आग्रह गरेको छ । आफ्नो भूगोलभित्रको बजारमा प्लास्टिकजन्य माला बिक्री गर्न पालिकाले रोक लगाएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले पालिकाभित्र प्लास्टिकका फूलको माला बिक्रीमा रोक लगाइएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिकाले तिहारमा प्लास्टिकजन्य मालाको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ ।

14

व्यावसायिक पुष्पखेती गर्ने किसानलाई सरकारले बिउ, प्राविधिक सहयोगसहित बिक्री वितरणमा समेत सहयोग गर्दै आएको लुम्बिनी प्रदेश कृषि निर्देशनालयका प्रमुख यम नारायण देवकोटाले रातोपाटीलाई बताए । 

स्थानीय तहले पनि किसानलाई राहत पुग्ने गरी प्लास्टिकका माला निरुत्साहित गरेका कारण फूल उत्पादक किसान उत्साहित भएको उनको भनाइ छ ।

4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप