शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास

शनिबार, १७ कात्तिक २०८१, ०६ : २२
शनिबार, १७ कात्तिक २०८१

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, अपनत्व र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

नेपालको मौलिक नेपाल संवत् ११४५ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै उनले परस्पर सहयोग, मेलमिलाप, सद्भाव र एकतालाई अक्षुण्ण राख्दै नेपाली सांस्कृतिक परम्परा, मूल्यमान्यता, रीतिरिवाज र रहनसहनको संरक्षण र संवर्द्धनमा प्रोत्साहित गर्न सहयोग पुग्ने बताएका हुन् । 

नेपाली सांस्कृतिक धरोहरको एउटा जीवन्त प्रतीकका रूपमा रहेको नेपाल संवत्को स्थापना नेपालीको आर्थिक सुधार गर्ने उद्देश्यले गरिएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको प्रतीक यस संवत्लाई मुलुकभर धूमधामका साथ मनाउनुपर्ने जिकिर गरे । 

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन रहेको र कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्को पहिलो दिन काठमाडौँ उपत्यकामा नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा रहिआएको छ । 

”शङ्खधरले काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋण एवम् दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नु भएकामा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँलाई हृदयदेखि नै स्मरण गर्न चाहन्छु”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन्, “नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन उहाँले गर्नुभएको अतुलनीय योगदानको प्रशंसा पनि गर्दछु ।”

उनले नेपाल संवत् नेपालको पारम्परिक र मौलिक क्यालेन्डर प्रणाली रहेको र यो संवत् नेपाली संस्कृति र इतिहासको महत्त्वपूर्ण हिस्सा रहेको बताए । साथै संवत्को शुभारम्भका अवसरमा आयोजित उत्सवमा विभिन्न सांस्कृतिक नृत्य, गीत/सङ्गीत र परम्परागत झाँकीहरूको प्रदर्शनले नेपालको इतिहास र परम्पराको संरक्षणमा महत्त्वपूर्ण टेवा पुगेको उपराष्ट्रपति यादवले उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप