भूमिहीन शिविरमा छैन तिहारको रौनक
कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ ।
“त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन बित्दै आएका छन्, त्यसरी नै तिहारमा पनि दुई छाक खानका लागि सङ्घर्ष गर्नुपरेको छ”, शिविरका दलबहादुर बोहराले भने, “दसैँ तिहार जे आए पनि कष्ट उस्तै छ ।”
टीका लगाउन आएका दिदीबहिनीलाई मीठो मसिनो खानेकुरा दिने नभएकाले दक्षिणा दिन साहुसँग काम गरिदिने वाचा गरी पेश्की पैसा लिएको उनले बताए । “साहुले काम नगरी कसरी पैसा दिने भनेर नाइनास्ती गरेका थिए । अनुनय विनय गर्दा रु छ सय मागेर ल्याएँ”, उनले भने ।
सात वर्ष पहिले दातृ निकायले दिएका त्रिपाल ठाउँठाउँमा च्यातिँदा वर्षात्को पानी त चुहिन्छ नै । हिउँदमा शीतका थोपा झुपडी भित्रै खस्छ । “मजदुरी नगरे चुल्होमा आगो बल्दैन”, अमृता साउदले भनिन्, “मजदुरी पाउन कठिन छ, पाए पनि थोरै ज्यालामा काम गर्नुपर्छ, अरूसँग मागेर ल्याएका लुगाफाटो लगाएर चाडपर्व मनाउनु परेको छ ।”
६ महिनाअघि कमाउन भारततर्फ गएका शिविरका केशव ताम्राकार घर फर्किएका छन् । “चार महिना काम पाइयो”, उनले भने, “बाँकीका दुई महिना काम खोज्नमै बित्यो, चार महिना कमाएको पैसा जहानसँगै हुँदा खान र लुगाफाटोमै सिद्धियो । अहिले रित्तो फर्किएका छौँ ।”
तिहारका बेला शिविर नजिकैका बस्तीहरु बत्तीले झकिझकाउ छन् । “दिउँसो त उज्यालो हुन्छ”, शिविरका दीपेन्द्र सोवले भने, “रातमा उज्यालो बाल्ने नहुँदा अध्याँरोमै रात काट्नुपर्छ ।” शिविरका देवकी विष्टलाई छोराले भारतबाट ल्याइदिएको मोबाइल चार्ज गर्न समस्या छ । एकपटक चार्ज गरेबापत छिमेकी गाउँको पसलमा रु १० बुझाउनुपर्छ ।
सौर्य ऊर्जा खरिद गर्ने चाहना भए पनि आर्थिक अभावले सम्भव छैन । दाताले उपलब्ध गराइदिए सहज हुने आशामा उनीहरु छन् । शिविरमा दातृ निकायले गाडेका नल्का छन् । नल्काबाट आर्सेनिक र आइरन आउने भएकाले शिविरका धेरै जना पत्थरी र छालासम्बन्धी रोगबाट पीडित छन् । शुद्ध पिउने पानी व्यवस्था नहुँदा उनीहरु समस्यामा छन् ।
सामुदायिक वन छेउकै शिविर भएकाले हात्तीले उत्तिकै दुःख दिने गरेको छ । झुपडीमा मजदुरी गरेर जोहो गरेको अन्न हात्तीले खाइदिने भएकाले कैयौँ दिन भोकै बस्नु परेको कलावती दमार्इंले सुनाइन् । शुक्लाफाँटा नगरपालिकाकै बासिन्दा भए पनि पीडा सुनिदिने जनप्रतिनिधि नपाएको उनले बताइन् ।
“यसअघिका जनप्रतिनिधिले शिविरमै आएर हालखबर बुझ्थे, सहयोग गर्थे”, प्रेमबहादुर साउदले भने, “अहिले कोही जनप्रतिनिधि शिविरमा आउनुभएको छैन, कुनै सहायता पाएका छैनौँ ।” सुरक्षित स्थानमा शिविर सार्नुपर्ने उनीहरुको माग छ ।
“सुरक्षित आवाससँगै रोजगारीको माग उठाउँदै आएका हौँ”, राधिका सोवले भनिन्, “सुकुम्बासीको फाराम पनि भरेका छौँ, हालसम्म पुनःस्थापनले गति नलिँदा कष्टकर जीवन बिताउन बाध्य छौँ ।” सामुदायिक विद्यालयमा बालबालिका पढाउँदा शुःल्क तिर्नुपर्ने हुँदा कक्षा छ/सातसम्म पढाएर बिचमै विद्यालय छुटाइ मजदुरीमा लैजानुपर्ने बाध्यता शिविरका बासिन्दाको छ ।
पहिरोले घरखेत लगेपछि सुरक्षित बासस्थानको खोजीमा केही त्यस क्षेत्रमा पुगेका हुन् भने केही पुस्तौँदेखि अर्काको घरमा काम गर्नेहरुलाई विसं २०६२ मा शिविरमा सारिएको हो । शिविरमा पहिले १२ परिवारको बसोबास रहेकामा हाल वृद्धि भई २८ परिवार पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण