एकताबद्ध एनआरएनएका लागि पहलकदमी लिने आरके शर्मा पक्षको निर्णय
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राजेन्द्र कुमार (आरके) शर्मा समूहले एकताबद्ध एनआरएनएका लागि पहलकदमी लिने निर्णय गरेको छ । आफूलाई आधिकारिक एनआरएनए दाबी गर्दै आएको शर्मा पक्षले सोमबार भर्चुअल माध्यममार्फत गरेको साधारण सभाका क्रममा एकताबद्ध एनआरएनएमा जोड दिँदै त्यसका लागि पहलकदमी लिने निर्णय गरेको हो ।
एनआरएनएको एकताका लागि पहलस्वरुप परराष्ट्र मन्त्रालयले पूर्वअध्यक्ष शेष घले नेतृत्वको १३ जना सम्मिलित उच्चस्तरीय समितिलाई बुधवार छलफलमा बोलाएकै बेला शर्मा पक्षले मन्त्रालयको कदमलाई स्वागत गर्दै एकताको पक्षमा निर्णय गरेको हो ।
एनआरएनएमा हाल तीन वटा समूह रहेको छ भने शर्माले बद्री केसी पक्षलाई ११ औँ महाधिवेशनयता चुनौती दिँदै आएका छन् । ११ औँ महाधिवेशनमा केसी पक्षले धाँधली गरेर चुनाव जितेको दाबीसहित असन्तुष्ट पक्षले शर्माको नेतृत्वमा गतिविधि गर्दै आएको छ ।
सोही समितिको साधारणसभाको बन्द सत्रबाट महासचिव बुद्धि सुवेदीले २० पृष्ठ लामो सङ्गठनात्मक प्रतिवेदन पारित भएको छ । प्रतिवेदनमा परराष्ट्र मन्त्रालयले एकताका लागि थालेको पहलकदमीको स्वागत गर्दै सर्वोच्चको चैत २१ को फैसलाअनुसार एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । सोही प्रतिवेदनअनुसार साधारणसभाले एकताका लागि पहलकदमी लिने निर्णय गरेको हो ।
यसैगरी कोषाध्यक्ष ठाकुर ढुङ्गानाले पेस गरेको आर्थिक प्रतिवेदन पनि साधारणसभाले पारित गरेको छ । उनको प्रतिवेदनमा करिब ८४ लाख रुपैयाँ सङ्कलन भएको र जाजरकोट भूकम्पसहित विभिन्न शीर्षकमा खर्च भएको उल्लेख छ ।
उपाध्यक्ष गंगाधर गौतमको संयोजनमा भएको कार्यक्रमलाई समापन गर्दै अध्यक्ष आरके शर्माले गैरआवासीय नागरिकताको विषय प्रचण्ड प्रधानमन्त्री हुँदा आफू र तत्कालीन अध्यक्ष कुल आचार्यको सक्रियतामा टुंगो लागेको बताए। उनले अहिले संविधान संशोधनको प्रसङ्ग आइरहेको उल्लेख गर्दै यदि संशोधन हुने अवस्था आए गैरआवासीय नेपालीको पनि संसदमा सहभागिता रहने गरी संशोधन हुनुपर्नेमा जोड दिए । यसैगरी अखण्ड एनआरएनएको अडानमा आफू रहेको उल्लेख गर्दै उनले संस्थामा भूइँमान्छेको अपनत्व हुनेगरी काम गरिरहेको धारणा राखे । उनले आफूहरू नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सदैव तयार समेत सो क्रममा बताए ।
विभिन्न देशमा नेपालीको पासपोर्ट नवीकरणको समस्या रहेको भन्दै उनले यसका साथै भाषाको अज्ञानताका कारण विदेशमा समस्या रहेका नेपालीलाई निःशुल्क कानुनी सहायताका लागि पनि सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए । यस्तै गोर्खाजको समस्याकादेखि एनआरएन नागरिकता कार्यान्वयनमा देखिएको जटिलतासम्मका विषयलाई सम्बोधन गर्न शर्माले सरकारको ध्यानाकर्षण गराए । करिब ५ घण्टा चलेको साधारणसभाले एकताबद्ध एनआरएनए निर्माणमा पहलकदमी लिने निर्णयसहित सम्पन्न भएको शर्माले जानकारी दिए ।
‘एकताबद्ध एनआरएनए साझा जिम्मेवारी, मातृभूमिको समृद्धिका लागि हाम्रो साझेदारी’ भन्ने नाराका साथ भएको साधारण सभाको उद्घाटन सत्रमा भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महत सहभागी थिए । उनले सभालाई सम्बोधन गर्दै व्यक्तिलाई केन्द्रमा नराखी एकताबद्ध एनआरएनए बनाउनका लागि सबै अभियन्ताहरूलाई सुझाव दिए । ‘म कसरी सङ्घबाट फाइदा उठाउन सक्छु भन्दा पनि म यो संगठनमा बसेर कसरी नेपाल र नेपालीसँग जोडिन सक्छु भन्ने सोच्नुपर्छ’, उनले भने, ‘विदेशमा बस्ने गैरआवासीय नेपालीसँग भाइचारा र नेपालको आर्थिक विकासमा जोडिन सक्छु भन्ने प्राथमिकता सबैमा रहेको खण्डमा सङ्घको उद्देश्य पूरा हुन सक्छ ।’
उनले अदालतले पनि एकताका लागि मार्गदर्शन गरेको उल्लेख गर्दै सबैले सबै कुरालाई महसुस गरेको खण्डमा सार्थक नतिजामा पुग्न सकिने धारणा राखे ।
यस्तै अहिले रिभर्स माइग्रेसन पनि देख्न थालिएको भन्दै यो सकारात्मक रहेको बताए । ‘बाहिर जाने सँगसँगै विदेशको अनुभव लिएर नेपालमै केही गर्न सक्छु भन्ने मानसिकतामा पुगेर कतिपय फर्कन पनि थाल्नु भएको छ । यसले रिभर्स माइग्रेसनको आकार पनि बढेको देखिएको छ’, उनले भने, ‘पुँजी, अनुभव र ज्ञानले राष्ट्र विकासको जुन सम्भावना छ । त्यसमा शुभकामना दिन चाहन्छु ।’
उनले विभाजित अवस्थामा रहेको एनआरएनए छिट्टै सहमतिको बिन्दुमा पुग्ने विश्वासका साथ भने, ‘समस्याहरूबाट माथि उठ्नका लागि आआफ्नो ठाउँबाट कमजोरी महसुस गरेमा समाधान निस्कन्छ ।’
यसैगरी विशेष अतिथिका रूपमा उपस्थित नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले एनआरएनए सबै नेपालीलाई प्रेरित गर्नसक्ने संस्था बन्न सक्नुपर्नेमा जोड दिँदै एकताबद्ध एनआरएनएको शुभेच्छा प्रकट गरे ।
उनले एनआरएनएको एकताकै प्रयोजनका लागि परराष्ट्र मन्त्रालयले कात्तिक २१ गते बोलाएको बैठक उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
उनले नेपालीपनलाई बाँध्ने काम एनआरएनएले गरेको उल्लेख गर्दै आर्थिक समृद्धि र विकासका लागि संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताए । ‘मुलुकको आवश्यकताले पनि एकताबद्ध भन्छ । सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि तपाईँहरूले भूमिका खेल्न सक्नुहुन्छ । यसमा ध्यान दिँदै अन्तिम समयसम्म पनि एकताबद्ध एनआरएनएको पहल गर्नुहुनेछ भन्ने विश्वास छ,’ उनले भने ।
यसैगरी एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एकताबद्ध एनआरएनएका लागि आफ्नो पहलकदमी हुने प्रतिबद्धता जनाए । उनले एकताका लागि हाम्रो मन र मस्तिष्कलाई एकै ठाउँमा सङ्गम गराउनुपर्ने पनि धारणा राखे । ‘समृद्ध नेपाल नभएसम्म हामीमा असमझदारी हुनुहुँदैन’, उनले भने, ‘एकै ठाउँमा बसेर हामीले २००३ लाई सम्झिनुपर्छ । कति रमाइलो थियो रु त्यो समयलाई फेरि फिर्ता ल्याउनपर्छ र ल्याउने समय आइसक्यो ।’ तिहारको अवसरमा आयोजित सिस्नोपानी देउसी भैलो कार्यक्रममा एनआरएनएलाई व्यङ्ग्य गरिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘हास्यव्यङ्ग्यको पात्र हामी एनआरएनए नबनौँ । जुन उद्देश्यले हामीले अभियान सुरु गरेका थियौँ । हामी आर्थिक, सामाजिक र बौद्धिक रूपमा एक भएर अघि बढौँ । एकताबद्ध बनाउन मेरो पूर्ण प्रतिबद्धता रहनेछ ।’
यस्तै केन्द्रीय सदस्य डीबी क्षेत्रीले एनआरएनएलाई कुनै अदालत वा सरकारले मिलाउन नसक्ने भन्दै एनआरएनए आफैँ मिल्नुपर्ने धारणा राखे । एनआरएनएका पूर्व उपाध्यक्ष समेत रहिसकेका उनले संस्थाका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सबैलाई एक ठाउँमा उभिने वातावरण बनाउने विश्वास समेत व्यक्त गरे । अदालतले एकताका लागि मार्ग प्रशस्त गरिसकेको भन्दै उनले सोही एकताको वातावरण बन्ने विश्वासका साथ अहिले सबै संयम बन्नुपर्ने धारणा राखे ।
पूर्व अध्यक्ष कुल आचार्यले अब सबैले स्वार्थ एक ठाउँमा छाडेर एकता गर्नुपर्ने धारणा राखे । १० औँ महाधिवेशनदेखि नै एकताका लागि आफूले पहल गरिरहेको उल्लेख गर्दै उनले भने, ‘हिजो, आज पनि र भोलि पनि एनआरएनए एकता रहिरहनुपर्छ । यसले नै देश निर्माणको सच्चा अभिभारा पुरा गर्न सकिन्छ ।’
यसैगरी पूर्वअध्यक्ष रविना थापाले एकताबद्ध हुन साधारण सभाले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
यसैगरी उद्घाटनसत्रमा कार्यक्रमका सभापति तथा अध्यक्ष शर्माले पछिल्लो समय बद्री केसी पक्ष स्वार्थ केन्द्रित हुँदा संस्थामा समस्या उत्पन्न भएको बताए । ‘गत महाधिवेशनमा भएको बेथिति स्पष्ट छ । बद्री केसी पक्ष पित्तल साबित भइसक्दा पनि सुन भनेर भन्नुको अर्थ छैन’, उनले भने, सरकारी निकायले ११ औँ महाधिवेशनमा बद्री पक्षबाट धाँधली भएको स्पष्ट रिपोर्ट दिइसकेको छ । निर्वाचन त्रुटिपूर्ण रहेको पुष्टि भइसकेको छ । सम्मानित निकायले गरेको छानबिन एनआरएनएले नमान्ने हुँदैन ।’
उनले विश्वभरका नेपालीहरू एक ठाउँमा हुनुपर्छ भन्ने आफूहरूको लडाइँ भएको उल्लेख गर्दै सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिए । उनले एकताको पक्षमा लागेको आफूहरूको भर्चुअल साधारण सभामा उल्लासमय उपस्थित रहनुले आफूहरूमा थप जिम्मेवारी बोध महसुस भएको बताए । ‘हामी एकताका लागि खुला हृदयले लागेका छौँ । हामी संस्थाको हितमा लागेका छौँ’, उनले भने, ‘स्वार्थमा लागेका साथीहरूलाई माता लक्ष्मी र छटीमाइले सद्बुद्धि दिउन् भन्ने विश्वास छ ।’
यसैगरी संस्थाका उपाध्यक्ष केशव पौडेलले एकताबद्ध एनआरएनए बनाउने आफूहरूको उद्देश्य भएको बताए ।
यसैगरी सल्लाहकार नारायण आचार्य, दुर्गा आचार्य, हिक्मत थापा, नरेन्द्र भाट, आनन्द विष्टले पनि यस्तै धारणा राख्दा अभियन्ता महेश श्रेष्ठले परराष्ट्र मन्त्रालयले एकताका लागि कात्तिक १ मा गरेको पत्र सकारात्मक रहेको बताए । ‘सर्वोच्च अदालतको पहिलो फैसलाले पूर्व अध्यक्ष शेष घलेको संयोजकत्वमा जुन समिति बनाएको छ । सोही समितिलाई परराष्ट्रले छलफलमा बोलाएको छ, यो सकारात्मक छ’, उनले भने । उनले सबै एकताको पक्षमा रहेको आफूले पाएको उल्लेख गर्दै सबै मिलेर संस्थाको गिरेको साखलाई माथि उठाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता शनिकुमार ओली, जनप्रगतिशील मोर्चा युरोपका संयोजक कृष्ण भुजेलसहित एनआरएनएका सचिव मनोज गोर्खाली, अभियन्ताहरु विष्णु सुवेदी, रोबिन श्रेष्ठ, सुरेन्द्र नेपाल श्रेष्ठसहित कार्यसमितिका अन्य सदस्य, अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । यसअघि केसी पक्षले पनि तिहारअघि साधारणसभा गरेको थियो । एनआरएनएमा हाल केसी र शर्माका साथै विनोद कुँवर पक्ष रहेको छ भने एकताका लागि चैत २१ मै सर्वोच्चले फैसला गरेपनि संघभित्रको बेमेलका कारण सकारात्मक वातावरण भने बनेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
-
क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, १० औं हजार मानिस प्रभावित
-
प्रदेशका तीन सडक समस्याग्रत घोषित
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
-
१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म