स्वर्णलक्ष्मी सहकारीको बैंक खाताहरू रित्तै, शून्यदेखि ४ रुपैयाँसम्म मौज्दात
काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको नाममा १२ वटा बैंकमा खाता सञ्चालन गरेको भेटिएको छ । तर, ती खातामा रकम भने भेटिएन ।
खाताबाट योजनाबद्ध रूपमा रकम निकालेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले ‘अपचलन गर्ने नियत’ राखेर नै रकम निकालेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले स्वर्णलक्ष्मीबारे अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । सहकारीको नाममा सञ्चालन गरिएको एनएमबी बैंकको खातामा शून्य मौज्दात भेटिएको छ ।
एभरेस्ट बैंकमा १० हजार, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ५६० रुपैयाँ, एभरेस्ट बैंकको दोस्रो खातामा १ लाख ५ हजार र कुमारी बैंकमा ६ हजार मौज्दात भेटिएको छ । राष्ट्रिय सहकारी बैंकमा १ लाख भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने,‘एउटा बैंकमा ४ रुपैयाँ पनि मौज्दात रहेको भेटिएको छ ।’
जीबी समूहले रकम अपचलन गर्ने नियत राखेर नै बैंक खाताबाट रकम निकालेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रकम अपचलतबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी बसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने, ‘कालिमाटी वृत्तमा दर्ता भएको थियो, हामीले सो फाइल परिसरमा ल्याएर अनुसन्धान थालेका छौँ ।’
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थालाई केन्द्रमा राखेर काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्क प्रालि, वीरगन्जस्थित सानो पाइला सहकारी र चितवन स्थित सहारा बचत तथा अन्य सहकारी तथा जीबीले सञ्चालन गरेको कम्पनीहरूमा पनि रकम लगेको भेटिएको छ । त्यहाँबाट कहाँ कहाँ रकम गएको छ भन्नेबारे स्वर्णलक्ष्मीलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
स्वर्णलक्ष्मीका अध्यक्ष जीबी राई, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य रविना रिमाल र हेमन्त अधिकारुी, व्यवस्थापक नविन अछामी र पूर्व अध्यक्ष दीपक लामाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । कल्पना कुमारी श्रेष्ठ, पूर्वप्रबन्धक भूपेन्द्र राई लगायत २४ जनाविरुद्ध पक्राउ अनुमति जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशका तीन सडक समस्याग्रत घोषित
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
-
१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान
-
आइटिएफ टेनिस : नेपालका आरभ र सुनिरा सेमिफाइनलमा
-
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा छ : मन्त्री भट्टराई