खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा छ : मन्त्री काफ्ले
हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । खेलकुद क्षेत्रलाई सरकारले प्रमुखताका साथ अघि बढाउने उनले बताए ।
शुक्रबार दोलखाको चरिकोटस्थित टुँडिखेलमा सुरु भएको भीमेश्वर नगरपालिका अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री काफ्लेले सरकारले खेलकुद पूर्वाधारसँगै खेलाडी प्रोत्साहनमा समेत लगानी बढाउने बताए । मन्त्री काफ्लेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको उनको भनाई छ । चरिकोटमा निर्माणाधीन रङ्गशाला निर्माण सम्पन्न गर्न प्रदेश सरकारले बजेट विनियोजन गर्ने उनले बताए ।
‘खेल क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्छ । पछिल्लो समय खेलकुदमा नेपालले फड्को मारेको छ । हाम्रा खेलाडीले समेत देश विदेशमा खेल जित्दै आएका छन् । सरकारले खेलाडी र खल पूर्वाधारमा पनि महत्वका साथ लगानी गर्छ’ मन्त्री काफ्ले भने ।
उनले अबको राजनीति समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए । मन्त्री काफ्लेले शिक्षा क्षेत्रमा सुधार गर्न सके मात्र देश परिवर्तन हुने बताए । उनका अनुसार नेपाली युवालाई मुलुकभित्रै भविष्य खोज्ने वातावरण बनाउनु नै मुख्य चुनौती रहेको छ । यसबारे गम्भीर हुनु आवश्यक रहेको उनले औँल्याए । देश परिवर्तनको लय रहे पनि केही व्यक्ति र समूहले विकास भएन भन्ने भाष्य निर्माण गर्न खोजिरहेको उनले बताए । नेपाली युवालाई उद्यमशीलताको बाटोमा सहज ढङ्गले लाग्ने वातावरण तयार गर्नुपर्ने उनले बताए ।