शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

सुदूरपश्चिमको रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार, बिउ जोगाउन सकस

बिहीबार, २९ कात्तिक २०८१, १२ : ५४
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये समन्वय समिति प्रमुखमा उम्मेदवारी नदिने नेता जनक बुढाले जानकारी दिए ।

बुढाका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा) मा राजुकुमारी विक रचनालाई उठाएको छ । सुर्मा गाउँपालिका–४ (बझाङ) मा पुष्करबहादुर बोहरा, पूर्वी चौकी गाउँपालिका–६(डोटी)मा देवीलाल थापालाई उठाएको छ ।

यसैगरी दुहुँ गाउँपालिका–५(दार्चुला) मा वीरसिंह कार्की र भीमदत्त नगरपालिका–६(कञ्चनपुर) मा नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । जिल्ला समन्वय समिति प्रमुख (कैलाली) उम्मेदवारी दिने योजना नभएको बुढाले बताए ।

०७९ को चुनावी परिणाम

अघिल्लो निर्वाचनमा स्वामी कार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा) मा कांग्रेसका उम्मेदवार मैना जोशी निर्वाचित भएकी थिइन् । जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले एक हजार ६३७ मत पाएकी थिइन् । तेस्रोमा रहेको माओवादीका उम्मेदवार सुरेशबहादुर रोकायले एक हजार २१३ मत पाएका थिए ।  

सुर्मा गाउँपालिका–४ मा एमालेका  सर्जनबहादुर बोहरा निर्वाचित भएका थिए । बोहराले ६२९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए । त्यतिबेला माओवादीले कांग्रेसको उम्मेदवारलाई समर्थन गरेको थियो ।

यसै पूर्वी चौकी गाउँपालिका–६(डोटी) मा कांग्रेसका उम्मेदवार पुष्पराज जोशी ५१३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देवबहादुर भण्डारीले ३८७ मत पाएका थिए । माओवादीका उम्मेदवार टंकबहादुर नेपालीले जम्मा ४१ मत पाएका थिए ।

दुहुँ गाउँपालिका–५(दार्चुला)मा माओवादीका उम्मेदवार मनोरथ भट्ट ५८२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानसिंह बडालले ३०२ मत पाएका थिए । त्यतिबेला कांग्रेसले माओवादीको उम्मेदवारलाई समर्थन गरेको थियो ।

यस्तै भीमदत्त नगरपालिका–६(कञ्चनपुर) मा कांग्रेसका उम्मेदवार महेन्द्र खड्का एक हजार १०२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज अवस्थीले ६९८ मत पाएका थिए । 

तेस्रो स्थानमा राप्रपाका उम्मेदवार सुशीलकुमार भट्टले ४८७ र एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्रबहादुर चन्दले २३२ मत पाएका थिए । अघिल्लो वर्षको चुनावी परिणाम  हेर्दा माओवादीले यसपटक बिउ जोगाउन मुस्किल पर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?