चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काएको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगर प्रहरी, उपप्रमुख, वडाध्यक्षहरुसहित जग्गा रहेको चिया बगानमा पुगेर आजदेखि उक्त जग्गा सरकारको स्वामित्व र नगरपालिकाको संरक्षणमा रहने घोषणा गरे ।
नगर प्रमुखसँगै गएका नगर प्रहरीले उक्त सरकारी जग्गाको क्षेत्रफल अङ्कित साइनबोर्ड राखेका छन् । नगरप्रमुख बुढाथोकीले सरकारको नाममा कायम भइसकेको जग्गा चिया बगानले भोगचलन गरिरहेको हुँदा अबउप्रान्त नगरपालिकाले यसको संरक्षण र उपयोग गर्ने सन्देश सार्वजनिक गर्न साइनबोर्ड राखिएको बताए ।
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अनुसार हाल चिया बगान रहेको उक्त जग्गा २०४८ असोज २५ गते उद्योगी दिनेशप्रसाद कानुले आफ्नो नाममा दर्ता गरेका थिए । ऐलानी पर्ती रहेको जग्गालाई कानुले छुट दर्ताको पर्चा खडा गरेर आफ्नो नाममा दर्ता गरेको र आफ्नै स्वामित्वको नकलबन्दा टी इस्टेटलाई २०५५ असोज ११ गते बिक्री गरेका थिए ।
सरकारी जग्गालाई निजी बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मङ्सिर २२ गते नकलबन्दा टी इस्टेटको नाममा रहेको जग्गा बदर गरी सरकारको कायम गर्ने निर्णय गरेको थियो ।
सरकारको स्वामित्व कायम गर्ने अख्तियारको निर्णय आइसकेपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले २०६६ पुस ६ गते सरकारी रेकर्डबाट नकलबन्दाको लगत कट्टा गरी सरकारको नाम समावेश गरेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । चिया बगानले हडपेको ३३ वर्षपछि र सरकारको लगत कायम भएको १५ वर्षपछि मेचीनगर नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाएको हो ।
नगरपालिकाको संरक्षणमा आएको जग्गामा चियाका बोट र ठूला रुखहरु छन् । लगाइएको बाली उठाएर जग्गा खाली गरिदिन मेचीनगर नगरपालिकाले नकलबन्दा टी इस्टेटलाई दुईपटक पत्राचार गरेको जनाएको छ ।
“अब यो जग्गा नगरपालिकाको संरक्षणमा आएको छ,” नगप्रमुख बुढाथोकीले भने– “सरकारले सँधैभर उहाँहरु (चिया बगान सञ्चालक) लाई भोग गर्न दिइरहने कुरा आउँदैन । जग्गाको बहुउपयोग कसरी गर्न सकिन्छ भनेर कार्यपालिकामा छलफल र निर्णय गरेर अघि बढ्नेछौँ ।”
नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाए पनि अहिलेसम्म जग्गाको सिमाना यकिन भइसकेको छैन । साविक नकलबन्दाको वडा नं। ७ का कित्ता नम्बरहरु ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८४, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१ र २३२ को जग्गा नकलबन्दा टी इस्टेटबाट सरकारको नाममा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण