सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्तामा भारतीय एसएसबीले गरेको अनधिकृत प्रवेश र हस्तक्षेपको विरोध गरेको छ।
- राप्रपा सांसद भरतराज गिरीले सुस्ताका किसानले हतियारधारी एसएसबीलाई लखेटेको घटनामा सरकारको ध्यानाकर्षण गराएका हुन्।
- सांसद गिरीले प्रधानमन्त्रीको सीमा मिचिएको अभिव्यक्तिले सीमामा हस्तक्षेप बढेको र यसले वीर किसानहरूको अपमान भएको बताएका छन्।
काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) ले गरेको अनधिकृत प्रवेश र हस्तक्षेपप्रति आपत्ति जनाएको छ । राप्रपा सांसद भरतराज गिरीले प्रतिनिधिसभाको बैठकमा सुस्ता गाउँपालिका–५, थारु टोलमा हतियारधारी भारतीय एसएसबीका जवानहरू बिना अनुमति नेपाली भूमिमा छिरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘त्यहाँ राज्यको उपस्थिति थिएन, हाम्रा सुरक्षाकर्मी थिएनन्, केवल हाम्रा सोझा हलो जोत्ने किसानहरू थिए,’ गिरीले भने, ‘जसले आफ्नो अदम्य साहसले हतियारधारी सैनिकलाई लखेटे र प्रमाणित गरिदिए कि माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम चाहिन्छ।’
उनले सुस्तावासीको यो साहसलाई उच्च सम्मान व्यक्त गर्दै सरकारको अनुपस्थितिमा पनि देश जोगाउन उनीहरूले खेलेको भूमिकाको प्रशंसा गरे ।
सांसद गिरीले प्रधानमन्त्रीले केही समयअघि ‘हामीले पनि भारतको सीमा मिचेका छौँ’ भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको त्यो विवादास्पद अभिव्यक्तिका कारण आज सीमामा हस्तक्षेप बढेको छ। यसले सीमामा रगत र पसिना बगाएर राष्ट्रियताको वफादारी गरिरहेका सुस्ताका वीर किसानहरूको अपमान भएको छ।’
सांसद गिरीले नेपाल–भारतबिचको करिब १५०० किलोमिटर लामो खुला सीमा क्षेत्रमा बस्ने लाखौँ नेपालीहरूको सुरक्षा र राष्ट्रिय स्वाभिमानका विषयमा सरकारको धारणा माग गरे ।
‘राष्ट्रिय स्वाभिमान केवल भाषण, दस्तावेज र नारामा सीमित हुने कुरा होइन, यो त सिमानामा उभिएर शत्रुको आँखामा आँखा जुधाई आफ्नो माटोको रक्षा गर्ने आँट हो,’ गिरीले भने ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको रक्षाका लागि नेपाली जनता लडिरहेको अवस्थामा सरकारले आगामी हरेक कूटनीतिक बैठकहरूमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण