आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
पूर्वाधार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातामा २४ उडान तर सञ्चालन खर्च धान्नै मुस्किल

बुधबार, १२ मङ्सिर २०८१, १४ : ००
बुधबार, १२ मङ्सिर २०८१

बुटवल । बुटवलको बुद्धनगर बस्ने २८ वर्षीय रमेश परियार दुबईमा सुरक्षा गार्डको काम गर्दै आएका छन् । एक महिना अघि दुबईबाट स्वदेश फर्किएका उनले घरबाट केही किलोमिटरको दुरीमा अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा) भए पनि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ को अनुभूति गरे । किनकि त्यतिबेला भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको थिएन ।

विमानबाट काठमाडौँसम्म आएर त्यसपछि बल्ल स्थलमार्ग हुँदै रमेश बुटवलस्थित आफ्नो घर आएका थिए । एक महिनाको घर बिदा सकेर उनी गत शुक्रबार दुबई फर्किएका छन् । तर दुबई फर्किँदा भने उनले घर नजिकैको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाए ।

गत कार्तिक २५ गतेदेखि फ्लाई दुबई एयरले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेपछि रमेशले त्यसको सदुपयोग गर्न पाएका हुन् ।

रमेशलाई उनकी पत्नीले विमानस्थलसम्म स्कुटरमा लगिन् । ‘घर पायक विमानस्थल हुँदा पनि दुबईबाट आउँदा काठमाडौँ ओर्लिनु परेको थियो,’ रमेशले भने, ‘तर धन्न अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालन भयो । दुबई जानका लागि काठमाडौँ गइरहन परेन । भैरहवा विमानस्थलबाटै सोझै जान पाइयो ।’

gautam buddha international airport (2)

भैरहवा, बुटवलमात्र होइन, आसपासका विभिन्न जिल्लाका रमेशजस्ता धेरैले अहिले विदेश जान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाएका छन् । विदेश जानका लागि काठमाडौँ पुग्नैपर्ने बाध्यता केही हदसम्म अन्त्य भएको उनीहरूको बुझाइ छ ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै अहिले दुबई, कतार, थाइल्यान्ड जान–आउन सहज भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सातामा २४ वटा अन्तर्राष्ट्रिय उडान हुने तालिका छ ।

दुई वर्ष अघि उद्घाटन भए पनि चलायमान हुन नसकेको विमानस्थलमा गत कार्तिक यता ५ वटा विमान कम्पनीले विभिन्न रुटमा उडान गर्दै आएका छन् ।

विमानस्थलका सूचना अधिकारी विनोद राउतका अनुसार अहिले फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई दैनिक उडान गर्दै आएको छ । यस्तै, कतार एयरलाइन्सले दैनिक दोहा–भैरहवा–काठमाडौँ–दोहा, जजिरा एयरले कुवेत–भैरहवा–कुवेत हप्ताको ३ दिन, थाई एयर एसियाले हप्ताको ३ दिन बैंकक–भैरहवा–बैंकक उडान गर्दै आएको उनले बताए ।

gautam buddha international airport (10)

यस्तै नेपाल एयरलाइन्सले सातामा ४ दिन उडान गर्ने तालिका छ । नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा–दुबई उडान गर्ने छ । यस्तै एक दिन सोही एयरलाइन्सले काठमाडौँ–भैरहवा–क्वालालम्पुर (मलेसिया)को उडान गर्ने तालिका छ ।

  • विमानस्थलको सञ्चालन खर्च उठाउनै सकस

अन्तर्राष्ट्रिय उडान धमाधम सुरु हुँदा यस क्षेत्रका व्यवसायीदेखि वैदेशिक रोजगारीका लागि जाने युवा उत्साहित भएका छन् । तर विमानस्थलमा अहिले भइरहेका उडानले सञ्चालन खर्चसमेत धान्न सकस परिरहेको विमानस्थल सम्बद्ध अधिकारी बताउँछन् ।

एसियाली विकास बैंकको ऋण तथा नेपाल सरकारसहितको लगानीमा करिब साढे नौ अर्ब रुपैयाँमा उक्त विमानस्थल निर्माण भएको हो । विमानस्थल निर्माणका लागि लिइएको ऋण तिर्ने अवस्था त परको कुरा, अहिले यो विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्स कम्पनीहरूलाई आकर्षित गर्न विभिन्न शुल्कमा छुटको घोषणा गरिएको छ । जसका कारण विमानस्थल सञ्चालन खर्चसमेत उठाउन सकस हुने विमानस्थल स्रोत बताउँछ ।

गौतम बुद्ध विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले अहिले यो विमानस्थलतिर विभिन्न वायुसेवा कम्पनीलाई आकर्षित गर्ने बेला भएको बताए । ‘त्यसैले अन्य विषयभन्दा पनि विमानस्थललाई दीर्घकालीन रूपमा चलायमान बनाउन ध्यान केन्द्रित गरिएको छ,’ उनले भने ।

तिवारीले हप्तामा २४ वटा उडान तालिका भएको विमानस्थलमा कार्तिक १८ देखि मङ्सिर ६ गतेसम्म २ हजार ५९३ जना यात्रु आवत–जावत गरेको र ३ हजार २५ यात्रुले ‘ट्रान्जिट’ गरेको जानकारी दिए ।

यो अवधिमा अन्तर्राष्ट्रिय उडानका ४१ विमान आउने–जाने गरेको तिवारीको भनाइ छ । ‘लगानी कसरी उठाउने भन्नेतिर होइन, यो विमानस्थल पनि अन्तर्राष्ट्रिय उडानका लागि व्यावसायिक रूपमा सक्षम छ भन्ने देखाउन हामीले ध्यान केन्द्रित गरेका छौँ,’ तिवारीले भने, ‘अहिले भइरहेका उडानलाई निरन्तरता दिँदै अझै उडान थप्ने योजना बनाएका छौँ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन सेवा महाशाखा प्रमुख एवं प्रमुख लेखा अधिकृत गोविन्द बहादुर ढकालले कार्तिक १८ गतेदेखि मङ्सिर ६ गतेसम्म विमानस्थलले लिने विभिन्न शुल्कबाट करिब १० लाख रुपैयाँ आम्दानी भएको रातोपाटीलाई बताए ।

प्रमोसनको लागि अहिले राज्यले यो विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानतर्फ वायुसेवा प्रदायक कम्पनीलाई धेरै छुट दिएको बताउँदै उनले विभिन्न शुल्क न्यूनमात्र राखिएको प्रस्ट पारे ।

प्रमुख लेखा अधिकृत ढकालका अनुसार अहिले मौसम शुल्क, सीयूपीपीएस शुल्क, ब्यागेज शुल्क, फायर अपरेटिङ शुल्क अन्य विमानस्थलको तुलनामा भैरहवामा निकै कम छ । विमान ल्याण्डिङ शुल्कमा पनि छुट दिइएको उनले बताए । ‘सामान्यतया अन्तर्राष्ट्रिय उडानका विमान ल्याण्ड गर्दा एक लाख रुपैयाँसम्म विमानस्थलको चार्ज लिने गरिन्छ,’ उनले भने, ‘तर यो शुल्क पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा छुट छ ।’

यस्तै विमानमा इन्धन भर्दा विमान कम्पनीहरूलाई यहाँ एक हजार लिटरमा एक सय डलर छुट दिइएको छ । विदेशी पर्यटकसँग लिने शुल्कमा पनि छुट गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

gautam buddha international airport (1)

गौतम बुद्ध विमानस्थलको सञ्चालन खर्च उठाउन अहिले आन्तरिक उडानकै भर पर्नु परिरहेको छ । प्रमुख लेखा अधिकृत ढकालले भने, ‘हाम्रो डोमेस्टिक एयरपोर्टले नै अन्तर्राष्ट्रिय विमानस्थलको अप्रेसन खर्च धानिरहेको छ ।’

विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणका १४१ जना कर्मचारीको दरबन्दी रहे पनि अहिले ८१ जना कार्यरत छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीका अतिरिक्त प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, मौसम विभागका कर्मचारी पनि हुन्छन् । सबै कर्मचारी जोड्दा यहाँ ५ सयभन्दा बढी जनशक्ति परिचालन भएको सूचना अधिकारी रावतले बताए ।

  • रुट पर्मिटको समस्या

२०७९ जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै उडान सुरु गरेको जजिरा एयरले ५ महिनापछि मौसम लगायतका कारण उडान बन्द गरेको थियो ।

खासगरी भिजिबिलिटी कम हुँदा विमानहरू भारतको आकाशमा पुग्न सक्छन् । तर अहिलेसम्म भारत सरकारले सो विमानस्थलका लागि भारतीय आकाश प्रयोग गर्न अनुमति दिएको छैन । भैरहवाको विमानस्थलबाट भारतीय सीमा करिब ६ किलोमिटर दुरीमा पर्छ । विमानका लागि यो दुरी भनेको ३/४ सेकेन्डको मात्र हो । तर, भारतले सो विमानस्थलका लागि आफ्नो आकाश प्रयोग गर्न अनुमति नदिएका कारण वायुसेवा कम्पनी विभिन्न झन्झटमा पर्ने त्रासका कारण उडानका लागि इच्छुक हुन नसकेको प्राविधिकहरू बताउँछन् । 

gautam buddha international airport (11)

भारतबाट रुट पर्मिट लिन ढिलाइ गरेको अवस्थामा यसको विकल्पमा भूउपग्रहमा आधारित ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) अप्रोच विधि अपनाउन उपयुक्त हुने सुझाव प्राविधिकहरूले यस अघि नै दिएका हुन् । उक्त उपकरण जडान गरेपछि कम भिजिबिलिटीमा पनि उडान गर्न सकिने छ ।

विमानस्थलका महाप्रबन्धक तिवारीले उक्त उपकरणको विषयमा माथिल्लो तहमा छलफल भइरहे पनि अझै कार्यान्वयन नभएको बताए ।

  • विमानस्थललाई लक्षित गर्दै बुटवलमा श्रम तथा रोजगार कार्यालय

गौतमबुद्ध विमानस्थल सञ्चालनसँग जोडिएको एउटा पक्ष श्रम तथा रोजगार कार्यालय बुटवल पनि हो । बुटवलको शाखा कार्यालय भैरहवामा पनि छ । श्रम कार्यालयले विदेश जानेहरूलाई श्रम स्कीकृति दिने गर्दछ ।

खासगरी ठुलो सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि दुबई, कतार, मलेसिया जाने गरेका छन् । श्रम कार्यालय बुटवलका सूचना अधिकारी केशवराज भट्टराईका अनुसार अहिले श्रम अनुमति लिन अनलाइनमार्फत फारम भर्न मिल्ने व्यवस्था छ, जसका कारण कार्यालयमा त्यति भिडभाड हुँदैन । दैनिक १५० वटा अनलाइन टोकन खुला गरिँदै आएको उनको भनाइ छ ।

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि श्रम अनुमति लिनेको सङ्ख्या बढेको तथ्याङ्कले देखाउँछ ।

gautam buddha international airport (4)

श्रम कार्यालय बुटवलबाट साउनदेखि कार्तिक मसान्तसम्म ९ हजार ३६९ श्रम अनुमति प्रवाह भएको छ । जसमा साउन महिनामा एक हजार ७३१, भदौ महिनामा एक हजार ३२४, असोज महिनामा एक हजार ७२७ श्रम अनुमति दिइएको छ । जबकि, अन्तर्राष्ट्रिय विमान उडान सुरु गरेको कार्तिक महिनामा मात्र ४ हजार ५४६ जनाले श्रम अनुमति पाएको तथ्याङ्क छ ।

गत आर्थिक वर्षमा यो कार्यालयबाट २२ हजार ४५९ जनाले श्रम अनुमति लिएको कार्यालयका सूचना अधिकारी केशवराज भट्टराईले बताए ।

खासगरी एक पटक विदेश गएर आएका व्यक्तिलाई अनलाइन श्रम अनुमति लिन निकै सहज भएको भट्टराई बताउँछन् । ‘कम्पनीले भिसा पठाएको हुन्छ । श्रम अनुमति यहीँबाट पाएपछि भैरहवा हुँदै वैदेशिक रोजगारीमा जान सहज भएको छ,’ उनले भने, ‘यो श्रम कार्यालयबाट जापानबाहेक ३६ वटा देशको श्रम स्वीकृति अनलाइन दिन सकिन्छ ।’ उनका अनुसार जापानको हकमा भने काठमाडौँबाट मात्रै दिने व्यवस्था गरिएको छ ।

  • मेनपावर कम्पनीहरूको अवस्था के छ ?

लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेर अहिलेसम्म एउटा पनि मेनपावर कम्पनी दर्ता भएको छैन । श्रम कार्यालय बुटवलका अनुसार यहाँ अहिले ५५ वटा मेनपावर कम्पनीले शाखा कार्यालय सञ्चालन गरेर काम गर्दै आएका छन् ।

gautam buddha international airport (3)

वैदेशिक रोजगारीमा जाने युवालाई मेनपावर कम्पनीले अन्तरवार्ता लिनेदेखि पासपोर्ट बुझाउन, विभिन्न शुल्क तिर्न कार्यालयमै बोलाउने गर्दछ । त्यसैले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि कतिपय मेनपावर कार्यालयको शाखा भैरहवा तथा बुटवलतिर नहुँदा काठमाडौँ नै पुग्नुपर्ने बाध्यता छ ।

काठमाडौँमा १६ सयभन्दा बढी मेनपावर कम्पनी दर्ता भएका छन् । मेनपावर कम्पनी स्थापना गर्दा सरकारले २ करोडदेखि ६ करोडसम्म धरौटी राख्ने नियम छ । शाखा कार्यालय सञ्चालन गर्दा ५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।

बुटवल, भैरहवामा विभिन्न मेनपावर कम्पनीका शाखा कार्यालय छन् । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै दुबई र कतारमा कामदार पठाउने कतिपय मेनपावर कम्पनीले यहाँ शाखा सञ्चालन गर्ने विषयमा आन्तरिक छलफल गरे पनि दर्ता गरिसकेका छैनन् । खाडी मुलुक कामदार पठाउने मेनपावर कम्पनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी शाखा कार्यालय खोलेमा अझ सहज हुने विज्ञहरू बताउँछन् ।

  • निजी क्षेत्र उत्साहित

लुम्बिनी रोडमा सञ्चालित होटल ‘पवन प्यालेस’ का सञ्चालक पवन हलुवाई पछिल्लो समय व्यवसाय विस्तार हुनेमा झिनो आशा पलाएको बताउँछन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहँदा उनले त्यसलाई लक्षित गरी होटल निर्माणका लागि लगानी गरे । तर, अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भइसक्दा पनि अपेक्षाअनुसार उडान नभएको, केही महिनापछि अन्तर्राष्ट्रिय उडान नै ठप्प हुँदा उनी होटल बिक्री गर्ने निधोमा पुगिसकेका थिए ।

अहिले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै होटल व्यवसायमा टिक्न सकिन्छ कि भन्ने आशा पलाएको हलुवाई बताउँछन् ।

विमानस्थललाई नै लक्षित गरी होटल तथा विभिन्न पूर्वाधारको क्षेत्रका करिब ४० अर्ब रुपैयाँ निजी क्षेत्रले लगानी गरेको भैरहवाका व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले बताए । भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवलजस्ता ठाउँमा विमानस्थललाई नै लक्षित गरी धेरै होटल निर्माण भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै उद्योगी व्यवसायीहरू उत्साहित  भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले बताए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन भिसा सेन्टर, विदेश जानेहरूको बायोमेट्रिक प्रणाली, कार्गो पनि सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

gautam buddha international airport (14)

श्रेष्ठले मौसम खराब भएको बेलामा नियमित विमान आउन मिल्ने गरी भारतसँग रुट परमिट या अन्य आवश्यक उपकरण राखेर भए पनि ढुक्क हुने नियमित उडान हुने वातावरण निर्माण गर्नुपर्ने बताए । श्रम स्वीकृति नवीकरण लगायतका काम बुटवलबाटै हुने भए पनि पहिलो पटक श्रम स्वीकृति लिनुपर्नेले काठमाडौँ नै पुग्नुपर्ने बाध्यता रहेको भन्दै उनले यो अवस्था हटाउन सरकारले ध्यान दिनुपर्ने प्रस्ट पारे ।

सोसाइटी अफ टुर्र एन्ड ट्राभल्स लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष सञ्जय बजिममले जजिरा, थाई एयर सिधै भैरहवा आएजस्तै अन्य विमान पनि काठमाडौँका लागि ट्रान्जिटका रूपमा नभएर सिधै ल्याउनुपर्नेमा जोड दिए । उनले सिधा भैरहवाको उडान भएका विमानहरूमा टिकट करिब करिब पूरा बिक्री हुँदा ट्राभल एन्ड टुर व्यावासायीहरूको कारोबारमा केही वृद्धि भएको बताए ।

सिद्धार्थ होटल एसोसिएसन अफ नेपाल (सान)का अध्यक्ष चन्द्रप्रकाश(सीपी) श्रेष्ठले अन्तर्राष्ट्रिय उडानसँगै बजार केही चलायमान भएको उल्लेख गर्दै सेवा थप गरेर होटल तथा पर्यटन व्यवासायीहरू पनि पर्यटकलाई आकर्षित गर्ने योजनामा रहेको बताए ।

नाटा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले विमानस्थलमा भइरहेको अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्दै थप उडान भित्र्याउन सबै पक्षले सामूहिक भावले काम गर्नुपर्नेमा जोड दिए । उनले नाटा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका बिच कार्यगत एकता भइरहेको प्रस्ट पारे ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा नेपालमा आन्तरिक उडान पनि स्वाभाविक रूपमा थपिने बताउँदै थापाले भैरहवा–पोखरा रुटमा विगतमा दैनिक एउटा फ्लाइट रहेकोमा अहिले बढेर ३ वटा पुगेको जिकिर गरे ।

अब भैरहवाबाट धनगढी पनि उडान गर्नुपर्ने  थापाको भनाइ छ । यसले गर्दा भैरहवा आएका विदेशी पर्यटकलाई पश्चिमी भेगका पर्यटकीय क्षेत्र जान सहज हुने उनले बताए ।

gautam buddha international airport (6)

होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ रुपन्देहीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने–जाने यात्रुहरूलाई विशेष छुटको घोषणा गरेको छ । संघका महासचिव अर्जुन थापाले विमानस्थल दिगोरूपमा सञ्चालन गर्न आफूहरूले पर्यटकका लागि छुटको अफर ल्याएको रातोपाटीलाई बताए ।

उनका अनुसार होटलको कोठामा २० प्रतिशत र खानामा १० प्रतिशत छुट दिइएको छ । होटलहरूले यो छुट दिए/नदिएकोबारे अनुगमन समेत गर्ने उनको भनाइ छ ।

  • ‘लुम्बिनी र अन्तर्राष्ट्रिय उडान एक आपसका पूरक’

गौतम बुद्ध जन्मस्थल लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थल एक अर्काको पूरक भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले बताए ।

विश्वभरका बुद्धमार्गीहरूको गन्तव्य बनाउने उद्देश्यले लुम्बिनी विकास कोषले काम गरिरहेको प्रस्ट पार्दै उनले भैरहवास्थित विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित भएमात्र यो सम्भव हुने जनाए ।

विश्वका डेढ अर्बभन्दा बढी बुद्धमार्गीहरूको आस्थाको केन्द्रका रूपमा लुम्बिनी रहेकाले बुद्धिस्ट राष्ट्रहरूबाट नियमित उडान गर्न सके गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुने उपाध्यक्ष लामाको जिकिर छ ।

श्रीलंका, म्यानमारजस्ता देशबाट यहाँ सिधै उडान गर्न जरुरी रहेको भन्दै उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले भारतसँग हवाई रुट परमिटका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप

छुटाउनुभयो कि ?