आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

काठमाडौँ–१६ मा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरूको तीव्र दौडधुप

बिहीबार, १३ मङ्सिर २०८१, २० : ३९
बिहीबार, १३ मङ्सिर २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रिक्त १६ नम्बर वडामा आइतबार हुन गइरहेको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरूले दौडधुप तीव्र पारेका छन् । बिहीबार चुनावी प्रचारप्रसारको अन्तिम दिन भएकाले प्रमुख राजनीतिक दल लगायत स्वतन्त्र उम्मेदवारहरू मत माग्न मतदाताका घरदैलो, आन्तरिक बैठकमा व्यस्त थिए । 

रातोपाटीकर्मी बिहान निर्वाचन क्षेत्र अवलोकनको क्रममा सोह्रखुट्टे, बालाजुचोक, बाइसधारा, माछापोखरी बाइपास लगायत स्थानमा पुग्दा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधर र्‍यालीसहित मतदाताका घरदैलोमा थिए । तुलाधरलाई केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू डा.राजन भट्टराई, रघुजीपन्त, रामवीर मानन्धर लगायत नेताहरूले साथ दिएका थिए । 

२०७९ को निर्वाचनमा ७०९ को मतान्तरले पराजित भएका उनी यो पटक एमालेको विरासत फर्काउनेमा आत्मविश्वास व्यक्त गरे । अघिल्लो निर्वाचनमा प्राविधिक त्रुटिका कारण पराजित हुन पुगेको स्मरण गर्दै तुलाधरले यो पटक आफूले जित्ने दाबी गरे । 

‘अघिल्लो पटक प्राविधिक कुराले पराजित भएको हुँ । यो पटक मतदाताले पनि तपाईँ आउनुपर्छ भन्नुभएको छ । यस वडाका सम्पूर्ण समस्या समाधान एमालेले मात्र गर्न सक्छ भन्ने जनतामा परेको छ । त्यसैले जनताका सुख–दुःखको साथी एमाले नै । यो पटक पुरानो विरासत फर्काउनेमा आत्मविश्वास बढेको छ’, उनले भने । 

एकीकृत समाजवादीमा गएका अधिकांश नेता तथा कार्यकर्ता एमालेमै फर्किएको, पार्टीको काममा निष्क्रिय रहेका रामवीर मानन्धर सक्रिय राजनीतिमा फर्किएको, नयाँ भनिएका दलहरूले केही गर्न नसकेकाले पनि आफ्नो जितको आधार भएको उनले दाबी गरे । तर अघिल्लो निर्वाचनको तुलनामा यो पटक प्रतिस्पर्धा हुनेमा तुलाधरले स्वीकारे । थोरै मतले भए पनि जित एमालेकै हुनेमा उनी विश्वस्त देखिन्थे । 

यता नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक घरदैलो कार्यक्रम सम्पन्न गरेर बालाजु बाइसधारा मन्दिरमा आफ्ना शुभचिन्तकसँग योजनाबारे छलफल गरिरहेका थिए । हामीसँगको छोटो प्रतिक्रियामा उनले पूर्व अध्यक्ष दिवङ्गत मुकुन्द रिजालको अधुरा सपना पुरा गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले आफू पनि दलभित्रको स्वतन्त्र युवा उम्मेदवार भएकाले मतदाताले जिताएको खण्डमा बाँकी कार्यकाल जनताको पक्षमा राम्रो काम गर्ने योजना सुनाए । अघिल्लो निर्वाचनको तुलनामा परिस्थिति भन्न भए पनि कांग्रेसकै जित हुने पाठकले दाबी गरे । 

‘अघिल्लो निर्वाचनको तुलनामा यो पटक परिस्थिति भिन्न छ । तर मतदाता उत्साहित देखिएका छन् । प्रतिस्पर्धा कडा देखिए पनि स्वतन्त्रको पृष्ठभूमि जनताले बुझेका छन् । यो वडामा त्यसको प्रभाव पर्छ जस्तो मलाई लाग्दैन’, उनले भने, ‘मेरो जित्ने आधार भनेको स्वर्गीय मुकुन्द रिजालले गरेका कमको आधार नै हाम्रो जित्ने मुख्य आधार हो । हाम्रो पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर लागेकाले जित्न सकिन्छ भन्ने आधार बलियो भएको छ ।’

चुनावी प्रतिस्पर्धामा मुख्य चुनौतीका रूपमा उनले एमालेलाई लिएको भए पनि मैदानमा एकीकृत समाजवादीको बलियो उपस्थितिले एमालेको मत काटिने र त्यसको फाइदा आफूलाई हुने आङ्कलन गरे ।

 तर यो पटक रास्वपा र स्वतन्त्र उम्मेदवारको उपस्थितिले कांग्रेसको मत विभाजन हुँदा त्यसको प्रत्यक्ष फाइदा आफूलाई हुने एमालेका नेताहरूले दाबी गरेका छन् । वडाध्यक्ष पदको उम्मेदवारी दाबी गरेकी रिजाल पत्नी कविताले अन्तिम समयमा टिकट नपाउँदा कांग्रेसलाई जाने केही मत निष्क्रिय हुनसक्ने एमाले पक्षको बुझाइ छ । यसो त निलम्बनमा परेका पूर्वमन्त्री रामवीरलाई पार्टीले कारबाही फुकुवा गरेको र चुनावी प्रचारप्रसारमा सक्रिय सहभागी भएकाले मानन्धर समुदायको मत एमालेमै आउने एमाले नेताहरूको विश्वास छ । 

यस्तै माओवादीको समर्थनमा चुनावी मैदामा उत्रिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धर कांग्रेस र एमालेको नेगेटिभ भोट यसपटक आफूले पाउने दाबी गर्छन् । विगतमा कांग्रेस र एमालेले वडावासीका लागि केही काम नगरेकाले विकल्पका रूपमा आफूलाई मतदाताले मत दिने विश्वास व्यक्त गरे । चुनावी प्रचारप्रसार सम्पन्न गरेर शुभचिन्तक, शुभेच्छुकसँग भेटघाटमा व्यस्त रहेका उनले आफूले बाँकी समय नयाँ मोडेलका रूपमा काम गर्ने दाबी गरे । 

‘म लामो समयदेखि वडावासीको सुख–दुःखमा काम गरेर आएको मान्छे हुँ । सत्तामा बसेर कांग्रेस र एमालेले राम्रो  काम गरेको भए म चुनावी मैदानमा आउनै पर्ने थिएन । उनीहरूकै कारण जनतामा चरम निराशा छाएका छन् । मैले जितेको खण्डमा यो वडालाई नयाँ मोडेलका रूपमा विकास गर्नेछु’, उनले भने । 

 अघिल्लो निर्वाचनमा उल्लेख्य मत पाएको राप्रपाले ठुला दलको विकल्पमा यो पटक आफ्ना उम्मेदवार मत दिने विश्वास व्यक्त गरेको छ । बालाजुस्थित पार्टी कार्यालयमा भेटिएका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले राप्रपाप्रति जनमत आकर्षित भएको दाबी गरे । 

‘ठुला दल कांग्रेस र एमालेले केही गरेनन् । उनीहरूप्रति जनता सन्तुष्ट छैनन् । यो पटक विकल्पमा राप्रपालाई जिताउनु पर्छ भन्नुभएको छ’, उनले भने । 

कीर्तिपुर नगरपालिका प्रमुख पदमा उम्मेदवारी नदिएको रास्वपाले यो वडामा रोजिना श्रेष्ठलाई उठाएको छ । आन्तरिक भेटघाट र छलफलमा व्यस्त रहेकाले हाम्रो सम्पर्कमा आउन चाहेनन् । यद्यपि यो निर्वाचनमा रास्वपाको उम्मेदवार विजयी हुने केन्द्रीय सदस्य तथा काठमाडौँ–७ का सांसद गणेश पराजुलीले दाबी गरेका छन् । 

‘जनता कसको पक्षमा छन् । १६ गते हुने निर्वाचनले देखाउँछ । आन्तरिक तथा बाहिरी तयारीका साथ हामी अगाडि बढेका छौँ । चुनावी परिणाम आफ्नै पक्षमा आउनेमा हामी विश्वस्त छौं’, उनले भने । 

  • अघिल्लो चुनावी परिणाम

०७९ को निर्वाचनमा यो वडामा नेपाली कांग्रेसका उम्मेदवार मुकुन्द चार हजार १९ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लक्ष्मीरत्न तालाधरले तीन हजार ३१० मत ल्याएर दोस्रो स्थानमा चित्त बुझाएका थिए । तेस्रो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मण गमालले एक हजार ५८९ मत पाएका थिए । 

त्यतिबेला नेकपा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गरेको थियो । यसपटक सत्तासीन दुई ठुला प्रतिस्पर्धी दल कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । माओवादीले नेकपा एकीकृत समाजवादीका उम्मेदवार मानन्धरलाई समर्थन गरेको छ । स्थानीय तह निर्वाचनमा पहिलोपटक उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिनालाई मैदानमा उतारेको छ । राजनीतिक दलबाट ८ जना, स्वतन्त्रबाट १० जना गरी १८ जना चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्रमध्ये पशुपति कठायतलाई धरानका प्रमुख हर्क साम्पाङले समर्थन गरेका छन् । 

  • के भन्छन् स्थानीय ? 

करिब २१ हजार मतदाता रहेको यहाँ लगभग ३५ सय मत ल्याउने उम्मेदवार विजयी हुनसक्ने अनुमान गरिएको छ । यस वडामा नेवार समुदाय र बाहिरबाट आएर बसोबास गरेका मिश्रित समुदायका बाहुल्यता रहेको छ । उम्मेदवारको जित-हारमा निर्णायक मत मानन्धर समुदाय रहेको स्थानीहरूको बुझाइ छ ।

स्थानीयका अनुसार बाहिरबाट आएका मिश्रित समुदायको मत बाँडिने र मानन्धर समुदायले जता मत खसाले पनि एकै ठाउँमा पुग्ने उनीहरूको बुझाइ छ । बालाजु विष्णुमती वारिपारी मानन्धर समुदाय करिब तीन सयदेखि चार सयसम्म मत रहेको अनुमान गरिएको छ । मानन्धर समुदायबाट एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर आफै उम्मेदवार रहेकाले कांग्रेस एमालेलाई सोचे जति मत नजाने स्थानीयको बुझाइ छ । तर पुराना दलहरूबिच नै कडा प्रतिस्पर्धा हुन सक्ने स्थानीय केशव श्रेष्ठको अनुमान छ । 

‘यो वडामा पुराना दल कांग्रेस, एमाले, एकीकृत समाजवादीको संगठित भोट राम्रो छ । विगतमा जस्तो अहिले यहाँ चुनाव जित्न त्यति सजिलो छैन । यी दलबिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ’, उनले भने । 

बालाजु बाइसधारा पार्कका भेटिएका अर्का स्थानीय नीलकाजी शाक्य स्थानीयसँगको सम्बन्धका कारण चुनावलाई असर गर्ने बताउँछन् । यो पटक चुनावी प्रतिस्पर्धा कडा भए पनि कांग्रेसले जित्न सक्ने अनुमान गरे । 

स्थानीय बच्चुराम फुयाँलले यो पटक कांग्रेस, एमाले र एकीकृत समाजवादीबिच नै कडा टक्कर हुने अनुमान गरे । 

लामो समयदेखि एमालेका सक्रिय कार्यकर्ता रहेर अहिले निष्क्रिय रहेका स्थानीय शंकर फुयाँल यो पटक रास्वपाले जित्न सक्ने  अनुमान गरे । 

‘जनताले विकल्प खोजिरहेका छन् । म लामो समयदेखि एमालेमा सक्रिय भएको व्यक्ति हुँ । तर एमालेले केही काम गर्न सकेन । अब पनि पुराना दललाई भोट हाल्छन् भन्ने मलाई विश्वास छैन’, उनले भने । 

काठमाडौँ महानगरपालिकाका वडाहरूमध्ये सबैभन्दा ठुलो वडा रहेको यहाँ सोह्रखुट्टे, क्षेत्रपार्टी, चाक्सीबारी, बालाजु, बाइसधारा, बोहराटार, नेपालटार पुल लगायत क्षेत्रहरू पर्दछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप
रोशन पोखरेल
रोशन पोखरेल
लेखकबाट थप

छुटाउनुभयो कि ?