एकै स्वरमा कीर्तिपुरमा कर्मा र कुटुम्ब गुञ्जने
काठमाडौँ । ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा कर्मा ब्यान्ड र कुटुम्ब साङ्गीतिक समूह मङ्सिर २२ गते शनिबार एक साथ गुञ्जने भएका छन् ।
कीर्तिपुर नगरपालिकाको प्रवर्धन र आदि ग्रुप प्रा.लि.को कार्यक्रम व्यवस्थापन तथा प्रवर्धन इकाई एएसक्युको आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापकीय समूह एएसक्युका प्रबन्ध निर्देशक आशिष पराजुलीले जानकारी दिएका छन् ।
कर्मा ब्यान्ड तीन दशकअघि कीर्तिपुरकै माटोमा जन्मिएको र कीर्तिपुरको साङ्गीतिक इतिहासलाई जीवन्त बनाएको ब्यान्ड हो । कर्माले नेपाली गीतसङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै नेपाली साङ्गीतिक परम्परालाई विश्वव्यापी बनाएको छ । कन्सर्टमा कर्मा ब्यान्डका साङ्गीतिक यात्राका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले...’, ‘मौनता...’, ‘को हौ तिमी...’ लगायतका दर्जन भाकाहरू गुञ्जने छन् । कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज बज्राचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसनले कन्सर्ट अनुकरणीय बन्ने छ ।
कुटुम्ब साङ्गीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको साङ्गीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ । समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मस्तिष्क कब्जा गर्ने छन् । कर्माको लोक र रकको सशक्त फ्युजन एवम् कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुति रहनेछ । कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गदै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने प्रवर्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
कन्सर्टमा कर्मा ब्यान्डसँगै कुटुम्बको अभूतपूर्व साङ्गीतिक प्रस्तुतिले नयाँ अध्याय थप्दै ऐतिहासिक क्षण बनाउने छ । कीर्तिपुरको सांस्कृतिक, साङ्गीतिक माहौललाई पुनः जीवन्त बनाउँदै कला, संस्कृति र गीतसङ्गीतको प्रवर्धन गर्दै स्रोता दर्शकलाई अतीतको याद र वर्तमानको स्वाद दिई, भविष्यको लागि चहकिलो एवम् आशावादी धुनले झङ्कृत गर्ने छ ।
कीर्तिपुर नगरको साङ्गीतिक र सांस्कृतिक धरोहरलाई थप प्रोत्साहन गर्ने, युवापुस्ताको ऊर्जा र साङ्गीतिक परम्परालाई एकीकृत गर्ने, दृष्टिविहीन एवम् असहाय बालबालिकाको पढाइमा सघाउने उद्देश्यसहित गैरनाफामूलक कार्यक्रम गरिएको हो । ल्याबोरेटरी माविको प्राङ्गणमा तय गरिएको बृहत् कन्सर्टले १५ हजार बढी दर्शकलाई स्वागत गर्ने लक्ष्य राखेको छ । डिजिटल माध्यमबाट मुलुकबाहिरका लाखौँ नेपाली मनले मज्जा लिने अनुमान एएस्क्युले गरेको छ ।
आदि ग्रुप अन्तर्गतको एएसक्यु इकाईले कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ । गत वर्ष पोखरामा पौष २७ गते कन्दरा ब्यान्डको ऐतिहासिक ‘पहिला घरदेश अनि परदेश’ कन्सर्टको सफल व्यवस्थापन गरेको एएसक्युले ‘एकै स्वरमा, कीर्तिपुरमा’ लाई सफल बनाउन कटिबद्ध रहेको जनाएको छ । कीर्तिपुरको साङ्गीतिक माटोबाट सुरु भएको कर्मा ब्यान्डको यात्रा र कुटुम्बको लोक धुनको मोहक प्रस्तुति जीवनभर सम्झनलायक क्षण बन्ने आयोजकको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण