शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय

राजश्वसम्बद्ध तीन निकायको संयुक्त बैठक सम्पन्न, के-के भयो निर्णय ?

आइतबार, २३ मङ्सिर २०८१, १७ : ५४
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । राजश्वसम्बद्ध तीन निकायको संयुक्त बैठक सम्पन्न भएको छ । आइतबार आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागका प्रमुखबिच राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विषयमा छलफल भएको हो । 

उक्त छलफलमा तीनवटा सूचना संकलन तथा आदानप्रदानमा जोड दिने, बजार अनुगमन तथा गस्ती परिचालनमा जोड दिने र नक्कली तथा झुटो कारोबारलाई नियन्त्रण गर्ने सम्बन्धमा केन्द्रित रहेका छन् । 

यही हुन् आइतबार भएका निर्णयहरू

१. सूचना संकलन तथा आदानप्रदानमा जोड दिने

– राजस्व चुहावटका जोखिमका क्षेत्रहरू, वस्तुहरू, नाकाहरू र समूहहरू पहिचान गर्ने, सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा सोको कार्यान्वयनका लागि एक(आपसमा सूचना आदान प्रदान गर्ने ।

– राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली, भन्सार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एक आपसमा अन्तर आबद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपास पछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गर्ने।

– राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवाला तथा सर्वसाधारणहरूसँग आह्वान गर्ने ।

२. बजार अनुगमन तथा गस्ती परिचालनमा जोड दिने

– तीनवटै विभागबाट सूचनाका आधारमा प्रदर्शनीय प्रभाव पर्नेगरी संयुक्त गस्ती परिचालन गर्ने र कर छली गर्ने करदातालाई कारबाहीको दायरामा ल्याउने । संकास्पद कारोबार र अनधिकृत गोदामहरूको विशेष निगरानी गर्ने ।

– कर छली गर्ने मनसायले व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गर्ने प्रवृत्तिलाई रोक्न अन्तर निकाय सूचना आदानप्रदान गर्ने र संकास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारबाहीको दायरामा ल्याउने ।

– राजस्व चुहावटका नयाँ प्रवृत्तिहरू पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालको माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्ने । 

३. नक्कली तथा झुटो कारोबारलाई नियन्त्रण गर्ने । 

– सामान्य तथा आर्थिक रूपमा कमजोर मानिसलाई प्रलोभनमा पारी निजको नाममा व्यवसाय दर्ता गरी कारोबार गर्ने र कर छली गरी आफू कानुनको नजरमा उम्किने प्रवृत्तिलाई विशेष अनुसन्धान र छानबिन गरी कारबाहीको दायरामा ल्याइने ।

– फर्म तथा कम्पनीको फेक दर्ता रोक्न निजको बायोमेट्रिक अवस्था, वित्तीय व्यवस्था, व्यावसायिक योजना आदिलाई विशेष निगरानी गर्ने ।

– बजारमा उत्पादन, पैठारी तथा खरिद गरेको आधिकारिक वा प्रमाणिक श्रोत विना बिल(विजक मात्र खरिद-बिक्री गर्ने प्रवृत्ति यदाकदा देखिएको हुँदा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न तीनवटै विभागले समन्वय गरी कानुन बमोजिम कडा कारबाही गर्ने ।

– खुला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न तथा कर छलीका कार्यलाई निरुत्साहित गर्न स्थानीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने । उक्त समितिका निर्णय र सोको कार्यान्वयनलाई सुसम्म रूपमा अनुगमन गर्ने ।

– मूल्य अभिवृद्धि कर तर्फ ननफाइलर तथा बक्यौता कायम रहेका करदाताहरूको आयात निर्यात रोक्का राख्न आन्तरिक राजस्व विभागले भन्सार विभागमा लेखी पठाउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप