पुरैनीमा आइपुगे कलहाँस

कञ्चनपुर । बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन् ।
विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी आइतबार मात्रै ताल क्षेत्रमा आइपुगेका हुन् ।
चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो । तालमा यसअघिनै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन् ।
घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ । यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ । सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुुन्दर पन्छीका रुपमा रहेको छ ।
सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरो-खैरो हुन्छन् । माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ । “कलहाँस ताल क्षेत्रमा पुगेपछि रौनकता छाएको छ”, चरा संरक्षणकर्मी सुवन चौधरीले भने, “यस पन्छीले लस्करै जलविहार गरेको दृश्य मनमोहक हुने गरेको छ ।”
उनका अनुसार कलहाँसले आहारका रुपमा सीमसार क्षेत्रमा उपलब्ध हुने घाँसलाई पूरै जरासहित खाने गर्दछन् । प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोर्लने गर्दछ । शिकारका लागि ताल क्षेत्रमा विषादी राखेर मार्ने गरिएकाले यसको सङ्ख्या भने घट्दो छ । साइबेरिया, युरोपलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरु हुनअगावै पुरानै ठाउँमा फर्कने गर्दछन् ।
चिसो छल्न र जलविहारका लागि मात्रै प्रवासी पन्छी यहाँ आउने गरेका छन् । प्रजननको समय सुरु हुनअगावै फर्कने गरेका छन् । जल पन्छीका लागि आश्रयस्थलका रुपमा रहेका तालतलैया र सिमसर क्षेत्रलाई संरक्षण गर्नुपर्ने चराविज्ञ हिरुलाल डगौराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद र बिर्सिन नहुने केही सवाल
-
‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’
-
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
-
देशमा चार वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या
-
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची